शनिबार, असोज ३० २०७८
काठमाडौं १४:४१
वासिङटन डिसी 04:56

बाबुछोरीको ह्रदयविदारक मृत्य र विदेशीएका नेपालीको व्यथा

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असार १२ गते २:०४ मा प्रकाशित

बिदेशीनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
हगंकगं पोखरा
निर्मोही आफ्नो को छ र!!!

कन्दरा समुहको लोकप्रिय यो गीत मेरो मनमस्तिकमा त्यतिबेला गुन्जियो जब मैले सामाजिक संजाल र अनलाइन खबर पत्रिकाहरुमा बाबुको टिसर्ट भित्रबाट अंगालो मारेकी सानी बच्चीको पानीमा तैरिएको फोटो छापिएको देखें। मेक्सिकोबाट अमेरिका छिर्नेक्रममा दुखदायी मृत्यु भएका ती बाबुछोरीको फोटोले संसार स्तब्ध छ। म त्यो फोटो हेरर जसरी दुखित भए सायद हाम्रै समाजमा रहेका मानव तस्करहरु, देशमा अशान्तिको राजनीति गरेर कालो धन थुपार्ने राजनीतिज्ञहरु, युद्धको आतंक मच्चाएर शक्ति हातमा लिन खोज्ने दानवहरु, गरिबीको खिल्ली उठाउने समाजका किराहरु, पिता पति र छोराछोरीलाई विलासिताको जीवनतर्फ आर्कषित गर्ने जिम्मेवार परिवारका सदस्यहरु अनि राम्रो नीति निर्माण गर्न नसक्ने जनप्रतिनिधीहरु लगायतको मन पक्कै दुख्यो होला।

देशको अर्थतन्त्र रेमिट्यान्सले चलेपनि सामाजिकरुपमा विदेश गएका वा बसेकाहरु एकातिर सधै ट्रोलका शिकार हुन्छन भने अर्कोतिर मंहगा उपहार उत्पादन गर्ने माध्यमको रुपमा लिइन्छ। वैदेशिक रोजगारीले धेरै परिवारको जीवनस्तर निकै माथी उकास्नुको साथै स्वदेशमै पनि विकास कार्यलाई निजीस्तरबाट तीब्रता दिन ठुलो सघाऊ पुर्याउदा पुर्यौदै पनि पछिल्लो समयमा आएर एक किसिमको तिरस्कारको तरंग समाजमा पैदा भयो। हरेक मानिसको चाहना हुन्छ आफ्नो जीवन स्तर उकास्ने, आरामदायी जीवन जिउने यही क्रममा शुरु हुन्छ अवसरको खोजी। अवसर खोज्ने क्रममै देखा पर्छ राम्रो आम्दानी, यही आम्दानीको स्रोतको विकल्पमा पर्छ विदेश पलायन। विकसित मुलुकहरुमा आम्दानी धेरै हुन्छ, कामको कदर हुन्छ र काम गरे अनुसार तलब पाइन्छ राम्रो आम्दानी भएपछि महंगा ब्राण्डका भौतिक स्रोतसाधनको उपभोग गर्न सकिन्छ र साथै वैधानिकरुपमा विदेशमा काम गर्नेहरुलाई मुलुकअनुसारको सुविधाप्राप्त हुन्छ। त्यसै विदेश बस्नेले समुन्द्रको किनारमा बसेर बियर खाएको फोटो फेसबुकमा राखे भनेर नेपालमा बसेर चित्त दुखाउनु पर्ने खासै कारण छैन।

विकासोउन्मुख देशका चेतनशील नागरिकहरुले बुझ्नुपर्ने कुरा के हो भने कुनैपनि मानिसले कुनै कार्य गर्छ भने त्यो सेवा हो र हरेक सेवाको शुल्क लाग्छ। उदाहरणको लागी कुनै महिलाले गृहणी जीवन बिताइरहेकी छिन भने परिवार यो कुरा बुझ्नु पर्छ कि परिवारको लागी खाना पकाउनु, लुगा धुनु, केटाकेटीको हेरचाह गर्नु यो सब उक्त परिवारलाई निशुल्क घरको जहानबाट प्राप्त भएको सुविधा हो। तर हाम्रो समाजमा अफिसमा टेबुल कुर्सीमा बसेर गर्ने कामलाई मात्र रोजगारी भन्ने मान्यता रहेको छ। त्यसैले अन्तरार्ष्ट्रीयस्तरको मान्यता प्राप्त शैक्षिक योग्यता र अनुभव भएकाले मात्र विदेशमा राम्रा काम पाउछन भन्ने सत्यलाई सबले आत्मसात गर्नुपर्छ।

विश्वासको भर आजको पापी संसार चल्दैन, जसले जे भन्यो त्यही पत्याउनाले पनि विदेशमा र वैदेशिक रोजगारीमा जानेहरुले ठुलो दुख भोग्नुपर्छ।विशेष गरी राजनीतिज्ञहरु आफ्नो चुनाव खर्च उठाउन जुनसुकै तल्लो स्तरमा पनि गिर्ने गर्छन, यदि मानव तस्करहरुको विरुद्ध दृढ भएर लडिदिने हो र कसैले आफ्नो देशको सिमना कटेर बिदेश छिर्दा दुखदायी मृत्युवरण गर्नुपर्दैन्थ्यो तर जति मानवताको कुरा गरेपनि माकुराको जालोसरी फैलिएको मानव तस्करी र त्यस्का शिकार रोक्न कसले पहल गर्ने?

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया