गीतकार खनाललाई सर्वोत्कृष्ट अवार्ड

इनेप्लिज २०७६ असार ११ गते १३:०१ मा प्रकाशित

काठमाडौँ, असार ९ गते । गीतकार पुष्पा खनाल राष्ट्रिय भावको गीततर्फ सर्वोत्कृष्ट अवार्ड पाउन सफल हुनुभएको छ । आइतबार राजधानीमा आयोजित योङ माइण्ड इन्टरटेन्मेण्ट अवार्ड कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो । उहाँलगायत अन्य ४९ जना व्यक्तिहरूलाई पनि आधुनिक, पप, लोक, दोहोरीलगायतका विभिन्न विधामा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । गीत सङ्गीतको क्षेत्रमा राष्ट्रिय भावको गीतको छुट्टै महत्व रहेको हुन्छ र यस अवार्डले विशेष महत्व राख्दछ ।

योङ माइण्ड इन्टरटेन्मेण्ट प्रा. लि. ले दुई महिनाअघि अवार्डका लागि गीत सङ्गीत उपलव्ध गराउन सार्वजनिक रूपमा आह्वान गरेको थियो । प्राप्त गीत सङ्गीतलाई विभिन्न क्षेत्रबाट मूल्याङ्कन गरी गत महिना उत्कृष्ट पाँचलाई मनोनयन गरेको थियो । ७० प्रतिशत एसएमएस भोटिङ र ३० प्रतिशत निर्णायकहरूको नम्बरका आधारमा सर्वोत्कृष्ट विधा चयन गरिएको आयोजक योङ माइण्ड इन्टरटेन्मेण्ट प्रा. लि. ले जनाएको छ ।

‘स्रष्टाले खोजेर होइन, स्रष्टालाई खोजेर गरिने सम्मान’ भन्ने नाराका साथ योङ माइण्ड इन्टरटेन्मेण्ट प्रा. लि. ले यो अवार्ड कार्यक्रमको आयोजना र वितरण गरेको हो । गीतकार खनालले आधुनिक, लोक, पप तथा राष्ट्रिय गरी दुई सयभन्दा बढी गीतहरू लेखिसक्नुभएको छ । दुई दशकदेखि साहित्य सिर्जनामा लागेकी पुष्पाका दुई वटा एल्वम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल)मार्फत् दर्जन बढी गीतहरू बजारमा आएका छन् । त्यस्तै गीत, कविताहरू सङ्ग्रहित पुस्तक ‘पोखिँए यसरी’ र गीति सङ्ग्रह ‘गह पोखिएर’ सार्वजनिक भइसकेको छ । गीतकार खनालको कलम गीतका अलवा कविता, कथा, मुक्तक र हाइकुमा समेत राम्ररी चलेको पाइन्छ ।

प्रतिक्रिया