जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ – अध्यक्ष दाहाल

इनेप्लिज २०७६ असार ९ गते ११:३६ मा प्रकाशित

चितवन, असार ९ गते ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा उहाँले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताउनुभयो । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उहाँको भनाइ थियो ।

कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उहाँले बताउनुभयो । अहिलेको परिवर्तन गुणात्मक भएको अधयक्ष दाहालको भनाइ थियो । उहाँले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अव जनताले विकासमा परिवर्तन चाहेको बताउनुभयो ।

पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो,“पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन ।”

माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उहाँले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको बताउनुभयो । दाहालले भन्नुभयो,“निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महसुु नभइ जनावरको आवश्यकतालाई महसुश गरेर ल्याइएको थियो, अव त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भइरहेको छ ।” उहाँले थप्नुभयो “ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भइरहेको छ ।”

अध्यक्ष दाहालले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको जानकारी दिनुभयो । सोही सहमतिअनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा रु १० करोडको उद्यान निर्माणको तयारी थालेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “द्वन्द्वकालमा भएको ठूलो दुर्घटनाका पीडितलाई सबै तह मिलेर सहयोग गर्नु आवश्यक छ ।” आफ्नो योजना माडीलाई मणि बनाउने रहेको भन्दै उहाँले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । सबैको सहयोग भएमा केही वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकिने उहाँको भनाइ थियो ।

नगर प्रमुख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीलगायतले बोल्नुभएको थियो । माडी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि रु ९२ करोड ७० लाख ४८ हजारको बजेट पेश गरेको छ । जसमा चालुतर्फ रु १९ करोड ५० लाख र पूँजीगततर्फ रु ७३ करोड २० लाख ४८ हजार बजेट विनियोजन गरिएको नगर उपप्रमुख ताराकुमारी काजीमहतोले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया