हुम्ला शोकमय : १३ दिनसम्म कार्यपालिकाको बैठक नबस्ने निर्णय

इनेप्लिज २०७६ असार ५ गते ११:१२ मा प्रकाशित

सिमकोट असार ५ गते । कर्णाली नदीमा जीप खसेर बेपत्ता हुन भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको शोकमा गाउँ कार्यपालिकाले १३ दिनसम्म कुनै पनि बैठक तथा कार्यक्रम संचालन नगर्ने भएको छ । उपाध्यक्ष हमालको झोला भेटिए पछि बुधबार दिउसो आकस्मिक रुपमा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले १३ औं दिन असार १५ गतेसम्म गाउँ कार्यपालिकाको बैठक तथा अन्य कुनै पनि गतिविधि संचालन नगर्ने निर्णय गरेको अध्यक्ष कर्ण बहादुर रावलले बताउनु भयो । त्यो संगै उपाध्यक्ष हमालको क्रियाका लागि लाग्ने सबै खर्च र अन्य बेपत्ताहरुका लागि जनही दश हजार क्रिया खर्च सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यो संगै असार १५ गते पालिकाका सबै विद्यालय र सरकारी कार्यालय बन्द गर्ने सोही दिन पालिकामा शोक सभा आयोजना गरिने भएको छ । यता अहिले याङ्चु बगरबाट गोताखोरले पुन खोजी कार्य सुरु गरेको छ । गोताखोर टोलीले घटना स्थलको दुई किलो मिटर दुरीसम्म खोजी कार्य गर्ने जनाएको छ । भने बेपत्ता भएकाहरुका आफन्तहरुले अहिले खोजी कार्य गरी रहेको र दिउसोसम्म केही नभेटिए कुसको पुत्ला बनाएर दाहसंस्कार गरिने भएको छ । असार ३ गते खार्पुबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जीप खस्दा उपाध्यक्ष सहित ११ जना बेपत्ता हुनु भएको थियो ।

प्रतिक्रिया