सोमबार, भदौ ३० २०७६
काठमाडौं ०४:३३
वासिङटन डिसी 18:48

चिन्तन मनन: अमेरिकामा नेपाली जोडिदै कि झन् झन् टाढिदै

इनेप्लिज २०७६ जेठ २८ गते २३:४१ मा प्रकाशित

तथ्यांक हेर्दा नेपालीहरूको अमेरिका आउने क्रम सन साठीको अन्त्यदेखि सत्तरीको शुरूतिर र धेरै आउने क्रम चाहीं सन अस्सीको अन्त्यतिर देखिन्छ। त्योबेला नेपालीहरू आउने भनेको नै पढ्नको लागि थियो, केहीमात्र अन्तराष्ट्रिय संस्थामा जागिर पाएर आएको देखिन्छ। साठी र सत्तरीको दशकमा आउनेहरू त धेरै जसो पढाई सक्याएर वा जागिरपछि नेपाल फर्केको देखिन्छ। तर सन् अस्सीको दशक पछि आउनेहरू प्राय: सबै जसो अमेरिकामा नै बसेको भेटिन्छ,केही औंलामा गन्न मिल्ने नेपाल वा अरू देश क्यानडा आदी गएको देखिन्छ।यसरी यतै बसेकै भएपनि, शुरूका केही बर्षहरूमा नेपालीहरू धेरै नै कम थिए। एउटै कार्यक्रममा सबै अटाउन सक्ने। सबैलाई नेपाल दुतावासले राजदुतको निवासमा दशैं, नेपाली नयाँ बर्षको रात्रीभोजको आयोजनामा आउन निम्ता हुन्थ्यो। ओहो, नेपालबाट ल्याएको, लाउन नपाएको सारी चोलो, दौरा सुरूवाल, टोपी लगाएर जाँदा मनै आनन्द हुन्थ्यो। अर्को त्यहाँ जान खुशी लाग्नु चाहीं बिरानो देशमा नेपाली भेट्न पाइन्छ भन्नु नै थियो।

तर यसैबिच बिस्तारै नेपाल आन्तरिक युद्धमा होमियो। अमेरिका साथसाथै अन्य देश गएका नेपालीहरू कानुनी तरिकाले जसरी हुन्छ तेतै आफु सुरक्षित बस्ने र परिवारलाई तेतै बोलाउने तरिकातिर लागे। अनि त नेपालीहरू धेरै बढ्दै गए ठुला तथा साना अमेरिकी शहरहरूमा पनि। तेसको साथसाथै नेपालीहरू प्रतेक बर्ष अमेरिकी सरकारले प्रदान गर्ने “ग्रिन कार्ड चिठ्ठा”को माध्यमले पनि आउन थाले।अनि त पहिले सबैलाई निम्ता हुने दुतावासको कार्यक्रमहरूमा, अहिले त नेपाली धेरै कसलाई बोलाउने,कसलाई नबोलाउने, वा खै सजिलोको लागि हो कि कुन्नी, दशैं, नया बर्ष, गणतन्त्र दिवस होस वा नेपालबाट मन्त्री,राष्ट्रपती जो आएपनि अलिक चल्तापुर्जा भएका नेपालीहरूलाई मात्र कहिलेपनि नछुटाई बोलाएको बाहेक अरू देखिदैन।

यस्तै, जति थरीथरीका नेपाली आउने क्रम बढ्यो उति नै थरीथरीका बिचारहरू आउन थाल्यो। एकत संख्यामा नै धेरै भएर र अर्को बिचारको फरकले एकै ठाउँमा पहिलेपहिले अटाउने नेपाली बिस्तारै छुट्टिन थाल्यौं। कसैले आफ्नो समुदायको नाममा, कसैले आफु आएको नेपालका बिभिन्न जिल्लाको नाममा, कसैले आफ्नो पेशाको आधारमा, कसैले अहिले आफु बस्दै गरेको शहरहरू, टोलको नाममा साथसाथै कसैले नेपालमा आफुले आस्था राखेको बिभिन्न राजनिति पार्टीको नाममा पनि संस्था खोले अमेरिकामा जताततै। अनि रमाइलो कुरा सबैलाई सो संस्थामा एक न एक पद चाहियो। कुरा मिले सबै ठिक, नमिले चुनाव। बेलाबेला पढ्न र सुन्न पाइन्छ बिभिन्न संस्थाहरूको भाँडभैलो।

अर्को समस्या,बेलाबेलामा नेपालका प्रशिद्ध व्यक्तिहरू अमेरिकामा आएकोबेला पारेर भेटघाटको कार्यक्रम राखेको हुन्छ बिभिन्न संस्थाले। आफु त्यो संस्थामा आवद्ध नभएपनि,कोही कोहीलाई त भेट्न मन लागेर गयो। ओहो, मन्चमा मन्चासिन ( मन्चमा आसन) गर्ने,खादा लगाइदिने र केही शब्द बोल्ने भन्ने कार्यक्रम यति लामो शुरू हु्न्छ,कहिले प्रमुख अतिथिले बोल्लान र सुनेर भाग्नु हुन्छ।उदाहरण,महाविर पुन र सि एन एन हिरो अनुराधा कोइरालाको कार्यक्रमको अनुभव छ। तेस्तै दशैं, नेपाली नयाँ बर्ष, तिज, छठ पर्व, इन्द्रजात्रा, लोत्सार साथसाथै बिभिन्न समुदायले आयोजना गरेको अरू पिकनिक, भेटघाट, चिनजान,कार्यक्रममा भ्याईनभ्याई, कहिले त कामबाट छुट्टिनै लिएर गयो। ओहो कुनै कार्यक्रममा नेपालबाट त्यै कार्यक्रम कै लागि अतिथीलाई बोलाइएको हुने रहेछ। अमेरिका आएपछि सबै नेपाली एक, सबै आएको उस्तै तरिकाले, सबैले भोग्ने दुख एक हैनर। ओहो, त्यो त कहाँ हो रहेछर। अतिथी बक्ताले त यस्तो बोल्छ वा भाषण नै दिन्छ कि खै कसको रिस कसलाई पोखेको हो। नाना थरीलाई गाली गरेको छ, इतिहासका कुरा कोट्याएर कस्को दमनले को कहाँ पछि परे रे नेपालमा आदीइत्यादी। कता नेपाल हुँदा आफु जन्मे, हु्र्केको शहरमा मनाइएको चाडपर्व सम्झेर रमाइलो गर्न गएको, कहाँ तातो न छारोको गाली सुन्नु पर्ने। एकचोटी गएर दोहोर्याईएर गइएन कुनै कार्यक्रममा फेरी।

यो भेदभाव, छुवाछुत, नेपाली भाषा हाम्रो हैन, दशैं तिहार हाम्रो चाड हैन आदीइत्यादी बहसका कुराहरू छन नी सबै हाम्रो पुस्तासम्मले मात्र हो भन्ने।हामीभन्दा पछिका पुस्ता, जो अमेरिकामा जन्मे, हुर्कदैछन्, तिनीहरूलाई आफ्नो धर्म, भाषा, संस्कार, रितिरिवाज पक्कै सिकाउँ तर अरू समुदायलाई गाली गरेर हैन। याद गर्नु पर्ने अर्को कुरा केटाकेटी स-साना हुँदा त आफ्नै मजवुरीले, अमेरिकी कानुन अनुसार १२-१३ बर्ष वा एक्लै घरमा बस्न सक्ने नहुन्जेलसम्म त घिसार्दै लग्यौं बिभिन्न कार्यक्रममा तेसपछि त न केटाकेटी जान मन गर्ने न हामी नै लान।अहिले हुने बिभिन्न कार्यक्रममा क्याम्पस पढ्ने र अलिक ठुलो क्लासमा स्कुल पढने केटाकेटीहरूको उपस्थीति शुन्य नै देखिन्छ। सबैले मनन् गर्नु पर्ने कुरा कतै हामी नेपालमा आफुले भोगेका, देखेका पिडा व्यथा बिभिन्न संस्था खोलेर पोखिरहँदा,वा नाचगान, भाषण आदी गरेर रमाइलो गरिरहँदा हाम्रा सन्तान पुस्ता झनझन टाढा त भइरहेका त छैनन् नेपाली समुदायबाट।

यसरी बिभिन्न उतारचढाव देख्दै र भोग्दै नेपाली समाज एकआपसमा टाढीँदै गर्दा, अायो “विसं २०७२ बैसाख १२ गते शनिबार” नेपालमा गोरखा केन्द्र बिन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्प। ओहो संसार भरिका नेपाली एकजुट भई हाल्यौं नी देश दुख्दा। कोही सहयोग गर्न नेपाल उड्यौं, कसैले आपतमा चाहिने सामानहरू किनेर नेपाल पठायौं, कसैले ट्रेन स्टेशन अगाडी गितै गाएर नी पैसा उठाए,केटाकेटाहरूले “लेमोनेट: कागतीको सरवत”बनाएर आफ्नो टोलको बाटो बाटोमा बेचेर पैसा उठाए, अाफ्नो अफिस, व्यापार, गोफन्ड आदी जताबाट पैसा उठाएर भएपनि नेपालीले नेपालीलाई सहयोग गर्यौं आपत पर्दा। यसरी बिस्तारै भुकम्पको घाउ पुरिदैं थियो। फेरि अर्को आपत आई लाग्यो नेपाललाई, भारतले नाकाबन्दी लगाईदियो नेपालको सिमानामा।

यो आपतमा त खै केभयो अमेरिकामा रहेका नेपालीलाई, अहिलेसम्म मैले तेती धेरै नेपाली देखेको थिइन् एकैठाँउमा, खै कस्ले आयोजना गरेको थियो त्यो “भारतको नाकाबन्दी बिरोध” कार्यक्रम, के केटाकेटी, के बुढाबुढी, के युवा, बिभिन्न पेशा गर्ने, बिभिन्न जातजाती, भाषा बोल्ने, धर्म मान्ने, के पहाड, के मधेश जताततैबाट अमेरिका आएका साथसाथै टाढा टाढा कोही न्युयोर्क, कोही नर्थ क्यारोलिना, फ्लोरिडा, टेक्ससमा बसोबास गर्दै गरेका नेपालीहरू,कोही बस, ट्रेन, प्लेन र कोही आफैले गाडी चलाएर पनि सहभागी हुन आएका थिए।ओहो आयोजक नै चकित खाए होलान् यसरी नेपाली एकजुट भएर आएको देखेर। हुन त कसरी चुप लागेर बस्नु आपत पर्दा नेपाललाई, आफ्ना सबै त तेतै छन्, आमाबुबालाई फोन गर्दा के छ सोध्यो, सामान नपाएर हैरान,ग्याँस, मट्टितेल केही छैन, दाउरामा खाना पकाउन शुरू रे। एकदिन ड्याडी खुशी फोनमा कुरा गर्दा “अब त ढुक्क भो नानी रे” किन भनेको त आधा सिलिन्डर ग्याँस पाइयो रे। यसरी सबै भेला भयौं बिरोध जनाउन “ह्वाइट हाउस” अगाडी र नारा लगाउँदै भारतिय दुतावासमा गएर ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो।नोभेम्बर महिनाको जाडोमा पनि हातहातमा कोही नेपालको झन्डा बोकेका, कोही आफैले बनाएर ल्याएका बिभिन्न नाराका प्लेकार्ड बोकेर जुलुस लाइन लागेर हिंडदा, यति धेरै नेपाली भयौं कि पुलिसले दुवै तर्फबाट सुरक्षा दिनु परेको थियो।

अन्त्यमा, के नेपालीहरू दु:खमा मात्रै एकजुट हुने सुखमा नहुने नै हौं त!

शशी केसी

प्रतिक्रिया