एनआरएनका अध्यक्षलाई चीनबाट केही सुझाबहरु : नबिन बिक

इनेप्लिज २०७६ जेठ २५ गते २:१६ मा प्रकाशित

एनआरएनए नेपाली संघ संस्था मध्ये सबै भन्दा ठुलो र लोकप्रिय संस्था हो, नेपाल सरकारले पनि सबै भन्दा बढी महत्व दिने र प्राथमिकता पर्ने संस्था हो, यसैको लोकप्रियताले गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको माझ दिन दुईगुना र रात चौगुना लोकप्रिय हुदै गईरहेको छ । हरेक देशमा हुने चुनाब र चयन हुने कार्यसमितिमा हुने घमासान पनि यसैको कारण हो, अक्टोबरमा कठमाडौमा ग्लोबल सम्मेलन हुदैछ, एनआरएन ( अन्तराष्ट्रीय समन्वय परिषदमा ) मा नया नेतृत्व चयनको लागी तर त्यो भन्दा पहिला प्रत्येक देशको एनसिसी ( राष्ट्रीय समन्वय परिषद) ले नया नेतृत्व चयन गरेर अन्तराष्ट्रीय समन्वय परिषदमा नया कार्यसमितिको नामहरु पठाई सक्नु पर्ने हुन्छ, आजको दिनमा साम दाम दन्ड भेद सबै हत्थकन्डा अपनाएर भए पनि , चाहे संस्थालाई दुईधारमा चिरेरै भए पनि आफु पदमा, नेतृत्वमा नआई नछोडने कुप्रबृतिले जरा गाडदै गैरहेको, एनसिसीको चुनाबमा कति सम्म हुन्छ र कति तल्लो स्तर सम्म ओर्लिएर गाली गलौज, आरोप प्रत्यारोप गर्छन भन्ने कुरा मैले यहा नामै वा देशै तोकेर भनिरहनु पर्दैन , जो जहा जुन देशमा बसेर यो खबर पढिरहनु भएको छ, यी सब कुरा त्यही पनि देख्न र भोग्न पाईसक्नु भएको छ।

कहिले काहि त एनआरएनको चुनाब हो की कुनै भातृसंगठनको चुनाब हो छुट्याउनै गार्हो पर्छ, गैरराजनितिक , गैरधार्मिक र गैरजातिय क्रियाकलाप नै यो संस्थाको मुल मर्म हो तर यो मर्म अहिले केवल कथनीमै मात्र सीमित रहेको छ, आफ्नो पार्टीको मान्छे उम्मेदवार भएसी चाहे जस्तो सुकै खराब, नालायक़ र असक्षम उम्मेदवार भए पनि ज्यान फालेर सपोर्ट गर्छन , अनि त्यस्ता पार्टीका झोले कार्यकर्ता नेतृत्वमा आए भने संस्थाले के गति लेला? यस्को कल्पना तपाई हामी सबैले गर्न सक्छौ । अझ आईसिसि (अन्तराष्ट्रीय समन्वय परिषद) को चुनाबमा पो हुन्छ त रमिता, पार्टीगत लबिङ त छदै छ, कहिले काहि एउटै पार्टीको भए पनि नेतागत गुटमा सम्म आई पुग्छन, माकुने, झलनाथ, केपी, प्रचन्ड , सेरबहादुर , शशांक रामचन्द्र यस्ता नेताहरुको फेरी आफ्नै उम्मेदवार र सपोर्ट हुन्छन, भन्ने बेलामा गैरराजनितिक , गैरधार्मिक र गैरजातिय भन्ने तर घुम्दै फिर्दै रुम्जाटार भने जस्तो जसरी पनि राजनीति जोडीन आईपुग्छ ।

एनआरएनमा शुद्धिकरणको ठुलो जरुरी छ, अन्तराष्ट्रीय समन्वय परिषद होस वा राष्ट्रीय समन्वय परिषद , कार्य समिति र चयन प्रकृयामा केही परिबर्तन हुनु अति जरुरी छ। महासचिव , कोषाध्यक्ष र अध्यक्ष हुनको लागी अनिबार्य रुपमा एक कार्यकाल क्रमश: सहसचिव, सह कोषाध्यक्ष र उपाध्यक्ष हुनै पर्ने, तेसरी नै क्षेत्रीय संयोजक हुनको लागी एक कार्यकाल सह-संयोजक भएको हुनै पर्ने बाध्यात्मक बिधान ल्याउनु जरुरी छ, यस्ले गर्दा संस्थाले अनुभबी र दक्ष नेतृत्व पाउछ, राष्ट्रीय समन्वय परिषदको अध्यक्ष नै स्वत: अन्तराष्ट्रीय समन्वय परिषदको सदस्य हुने ब्यबस्था लागु भएमा संस्थाले झन राम्रे संग कार्यगर्न पाउछ। अहिले रहिआएको आईसिसीको खासै अर्थपुर्ण भुमिका नरहेको यो पंतिकारले महशुस गरेको छ।

सबैभन्दा अप्राकृतिक र अचम्मको लाग्ने कुरा चै ग्लोबल सम्मेलन काठमाडौमा अन्तराष्ट्रीय समन्वय समितीको चुनाबमा देख्न पाईन्छ, जापान, कोरिया ,अमेरिका , मलेशिया र खाडी मुलुकका राष्ट्रहरुमा अवस्य पनि अन्य मुलुक भन्दा बढी एनआरएन छन, अहिले सम्मको ईतिहास हेर्ने हो भने जापानको एनआरएनमा एक क्षत्र राज गर्दै आएको छ, सबै भन्दा बढी भोटर उस्कै हुन्छ र सबै भन्दा बढी पद पनि उसैले लैजान्छ , अहिले पनि अध्यक्ष, प्रबक्ता , युवासंयोजक, आरसी डीआरसी सबै पद उसैले कुम्ल्याएको छ, अरु देश त हेरेको हेर्यै , एनआरएन चीन संख्यात्मक हिसाबले सानो (३००) भए पनि, कार्य सम्पादनको हिसाबले अब्बल छ, संस्थालाई सहयोग राहत कार्यमा चीन हजारौ संख्यामा रहेका एनसीससी भन्दा अगाडी छ, सधै पहिलो वा दोस्रो हुन्छ तर १२ बर्षको ईतिहासमा आईसीसी मा एक चोटी पनि सहभागी हुने मौका पाएको छैन, हरकुरामा सक्षम भएर पनि आईसीसीको स्वाद चाख्न नपाएका धेरै एनसीसीसहरु छन, त्यसैले भबिस्यमा कसैलाई पनि अन्याय र बिभेद नहोस भनेर आईसीसीको चुनाबमा हरेक एनसीसीबाट मात्र ३० जनाले भोट हाल्न पाउने तर ग्लोबल सम्मेलनमा जतिले पनि भाग लिन पाउने नियम भएमा एनाएरएनएको आधा समस्या स्वत: सामाधान हुन्छ।पैसा र आफ्नो देशबाट धेरै सदस्य भोटर ल्याएको छु भनेर गरिने अस्वस्थ प्रतिस्पर्धा र पदको लागी मोलमोलाई प्रथाको पनि स्वत:अन्त्य हुनेछ र एउटा पबित्र एनआरएनको पुन उदय हुनेछ ।

नबिन बिक
संरक्षक,एनाआरएनए चीन

प्रतिक्रिया