मंगलबार, असार १० २०७६
काठमाडौं ००:०६
वासिङटन डिसी 14:21

आमाबुबाले एक्लै ह्विलचेयरमा नेपालबाट बिदेश आउने जाने गर्दा भोग्नु पर्ने पिडाहरू

शशी केसी २०७६ जेठ २३ गते २१:४६ मा प्रकाशित

अहिलेको नेपालमा,के गाँउ,के शहर,नेपालको कुनै घर छैन होला बाँकी त्यहाँका कोही न कोही बिदेश जस्तै अमेरिका, अष्ट्रेलिया,बेलायत, क्यानडा आदी इत्यादी देशहरूमा गएका चाहे पढ्नको लागि होस वा काम गर्न वा सपरिवार नै बसाई सरेका ग्रिनकाडको माध्यमबाट अथवा नागरिक भएर।

हो तेता गएको दुइचार बर्ष त आफ्नै व्यवस्था मिलाउन लाग्छ। तेसपछि सबै जसोले आमा बुबा जो जो जिवित हुनुहुन्छ घुम्न बोलाउने गर्छन नै।अनि शुरू हुन्छ झन्झट र पिडाहरू, सबैभन्दा पहिले पासपोर्ट बनाउनु पर्यो भिषा लिनकोलागि, पासपोर्ट बनाउन नागरिकता, प्राय: सबैजसो बुबाहरूको त नागरिकता हुन्छ, आमाहरू जो “जेष्ठ नागरिक भत्ता” थाप्नु हुन्छ उहाँहरूको होला नै तर केही आमाहरूको त परिचय खुलाउन नागरिकता, बिबाह दर्ता गर्नु पर्छ। बल्लबल्ल अनेकतिर कुदाकुद गरेर पासपोर्ट बनेपछि भिषाको आवेदन भर्नु पर्यो, पैसा बुझाउनु पर्यो तोकेको बैंकमा गएर,त्यो पनि काठमाण्डौ आएर र त्यो जाने भनेको देशको दुतावासमा गएर, क्यानडा लगायत कति देशको त नेपालमा दुतावास नै छैन अनि पठाउनु पर्यो कागजात सबै भारतको दिल्लीमा।तेती सबै गरेपछि इन्टरभियुमा बोलाउँछ, अब भिषा कस्ले पाँउछ, कस्ले पाँउदैन तेसको कुनै ठेगान छैन। भिषा पाउने भाग्यमानी!

तेसपछि शुरु हुन्छ भिषा पाएकाहरूको जाने तयारी, टिकट किन्नु अगाडी सोधखोज हुन्छ कोही जाने मान्छे छनकि बोलाउने सन्तान बसेको ठाँउतिर भनेर, कहिलेकाहीँ त टिकट किन्न लागेको ट्राभल एजेन्सीले पनि सहयोग गरिदिन्छ। जाने मान्छे भेटिएत सजिलै भयो तर नभेटिए ठिकै छनि त प्लेनको टिकटमा ह्विलचेयर लेखाइदियो सजिलै आइपुगिहाल्छन भनेर सोचिन्छ त्यो सोच्नुनै सबैभन्दा ठुलो गल्ति हुन्छ। सोचौं त आफु पहिलोचोटी आउँदाको अनुभव, अंग्रेजी पढ्न, लेख्न सक्ने हुँदा त कति आत्तिएका थियौं। आमाबुबा एक त अग्रेजी बोल्न, पढ्न नजान्ने, अनि पहिलोचोटी नेपाल छोडेर बिदेश जान लागेका, त्यो पनि ठुलो प्लेन चढेर। हो जुन एयरलाइन्सको प्लेनको टिकट छ तेसको जिम्मा त हो आफ्नो यात्रुको व्यवस्था गर्ने, तेसो भन्दैमा कहाँ सधैंसगैं बस्छन त सहयोग गर्न आएका मान्छे यात्रुसंग। उनीहरूले हो आफ्नो एयरलाइन्सको टिकट काउन्टरबाट उडनु पर्ने प्लेनको ढोकासम्म चढ्नेबेलामा र ओर्लदा प्लेनको ढोकादेखि एयरपोटको भित्र अर्को उडानको प्लेन चढ्ने ढोका रहेको ठाँउसम्म लेराईदिन्छन् ह्विलचेयरमा गुडाएर, अनि बेलाबेलामा हेर्न आउने गर्छन केही मद्दत चाहिएको छ की भनेर। एकदिनमा हजारौं यात्रु एक देशबाट प्लेन चडेर अर्को देश ओहोरदोहोर गरिरहेका हुन्छन एयरपोटमा, उनीहरूलाई अरू यात्रुहरूलाई पनि लिन/ पुर्याउन जानुपर्ने हुन्छ बिभिन्न एयरलाइन्सको ढोकामा।

अनि जब अर्को उडानको प्लेन उड्नेबेला हुन्छ लिन आँउछन र पुर्याइदिन्छन उड्नु पर्ने प्लेनको ढोकासम्म, अव समस्या के छ भने, नेपालबाट सिधै क्यानडा, अमेरिका जस्ता कतिपय देशसम्म एकै उडानमा पुग्न सकिने कुनै प्लेन त उडदैन काठमाण्डौबाट।दोहा,अबुदावी,इस्तानाबुल, दिल्ली आदी ठाँउको होला पहिलो उडान प्लेनको टिकट अनुसार। फेरी तेहा ओर्लेपछि अर्को उडानको प्लेन चढ्न कुर्नुपर्ने हु्न्छ २-४ घण्टा देखि लिएर १२-१४ घण्टासम्म। तेसबिचमा त भोक लाग्ला, बाथरूम जानु पर्ला,अग्रेजी आउँदैन, लेखेको कसरी पढ्नु, के बोल्नु,परेन त आपत। बेलाबेलामा खवर पढ्न र सुन्नमा आँउछ, ह्विलचेयरमा रहेका नेपाली आमा बुबा गन्तव्यमा नपुगेर बिभिन्न एयरपोटमा अलपत्र! के बित्यो होला उँहाहरूको जिवनमा त्यो समय। धन्न अहिले नेपालीहरू धेरै काम गर्छन दोहा, अबुदाबीको एयरपोटतिर,कहिलेकाहीँ बुढाबुढी देखे मद्दत गरिदिन्छन् बाथरूम लग्न, केही खानेकुरा किन्न।तेसो भन्दैमा तिनीहरूको भर पर्ने त कुरा भएन।

तेसैले यस्तो आपत नपरोस वा अलपत्र पर्दा मद्दत बेलैमा पाउन सकुन भन्नको लागि अल्छि नगरी एउटा कागजमा प्रष्टसँग अंग्रेजीमा लेखेर कहाँ जान लागेको,नाम, ठेगाना,सम्पर्क फोन नंबर, कुनकुन प्लेन चढ्नु पर्ने एयरलाइन्सको नंबर, आदी आवश्यक पर्ने सबैकुरा खुलाएर आमाहबुबालाई दिनु अत्यन्त जरूरी छ। साथसाथै उहाँहरूलाई भन्ने आपत परेको खण्डमा यो कागज देखाएर मद्दत माग्नु,यसो गर्दा उँहाहरूको यात्रा सजिलो हुन्छ।

तेस्तै कहिलेकाहीँ मौकालेसाथ जाने मान्छे भेटिन्छन,तेस्तोबेला अन्तिम समयमा एयरपोटमा भेटेर लगिदिनुस है भन्ने हैन कि, जसकोमा जान लागेको हो तेसको नाम, ठेगाना, सम्पर्क फोन नंबर, के काम गरेर बसेको छ राम्रोसंग खुलाएर टिपाइ दिनु जरूरी छ साथ लगिदिने मान्छेलाई पनि, यसो गर्दा लगिदिनेलाई सजिलो होस। जाने देशमा छिर्नु अगाडी अध्यागमन अफिसरले को हो तेरो, किन आएको, कति दिन बस्ने सब सोध्छ अंग्रेजीमा, तेस्तोबेला आमाबुबा त केही भन्न सक्नु हुन्न केही नबुझेर, लगिदिनेले सबै प्रष्टसंग भनिदिनु पर्ने हुन्छ।

यसै सन्दर्भमा, आजभन्दा ५-६ बर्ष अगाडी एकजना चिनजानको साथीलाई परेको घटना हो,काठमाण्डौबाट अमेरिका आउन लाग्दा उँहालाई एयरपोटमा भेटेर एकजना आमालाई तेतै र एउटै प्लेनमा जाने हुनुहुदौं रहेछ, यसो उँहाको पनि बिचार गरिदिनुस न है पहिलो चोटी जाँदै हुनुहुन्छ भनेर जिम्मा लगाइदिएछन्, पठाउने त ढुक्क भएर घर फर्के होलान, लेराउनेलाई के के बित्यो। आमा जस्तो मान्छे जिम्मा लगाईदिएपछि तेसै छोड्न पनि भएन। साथै,बिचरा त्यो आमा पहिलोपटक बिदेश जान लागेको कतै छुट्छु कि भनेर साथीलाई त एकछिन छोड्नु भएनछ, प्लेनमा सिट त फरक भएपनि साथीले मिलाएर उहाँको सिटसम्म पुर्याईदिएर सिट बेल्ट बाधिदिने, बेलाबेलामा हेर्न जाने, बाथरूमसम्म लगेर ढोकाको नलगाएको चुकुल समारेर बाहिर कुरेर बस्ने सबै चाहिएजति मद्दत गरेछ। अमेरीका आएपछि, अध्यागमनमा आफैसँग लाइनमा राखेर लेराएछ, अफिसरले को हो, कता जान लागेको, ठेगाना के हो सोधेछ अब के थाहा उहाँ जान लागेको मान्छेको बस्ने ठेगाना, फेरी आमाले त अंग्रेजीमा सोधेको केही बुझ्नुपनि भएन, हुन त काठमाण्डौको उडानपछि, ४ घण्टा अर्को उडानको लागि दोहा एयरपोटमा कुरेरसँगै बस्दा सोधेको भएनी हुन्थ्यो। तेही त हो नेपालबाट आँउदाको दौडादौड , थकित अरू अरू कुरा भएछ, यसबारे त ख्याल नै आएन छ। साथीको पालो मेरो आन्टी हो भनेर आफ्नै ठेगाना टिपाइदिएछ,फेरी अफिसरले नेपालमा को को छ, काम के हो सोधेछ, साथीले नेपालीमा आन्टीलाई सोधेको त अफिसरले गाली गरेछ, आन्टी भन्ने अनि आन्टीको बारेमा केही थाहा छैन त! हेर आपत!! धन्न तेती भनेपनि अमेरीका चार महिनासम्म बस्न पाउने भिषा दिएछ नँया आन्टीलाई!

यो त एउटा उदाहरणमात्र हो, नेपाल आउने, जाने क्रममा अनेक घटना परेको, सुनेको देखिन्छ। अनेक गरेर अमेरिका लेराई दियो, आफ्ना मान्छे लिन आएर जानेबेला हुन्छ, उँहाहरूको छैन। नानी एकछिन बसिदिनुस न हामी त अलपत्र पर्छौं भनेर माया लाग्दो तरीकाले भन्छन्, उँहाहरूको मान्छे आउनेबेलासम्म आफ्नो लिन आएको मान्छेलाई गाडी ( धेरैबेर त लिने ठाँउमा कुरेर राख्न दिँदेन)घुमाइरहनु एयरपोटको लिन आउने ठाँउमा भन्नु पर्ने हुन्छ। अनि कोही उँहाहरूका आफ्ना आउछन् लिन हतारहतार, अमेरिकासम्म राम्रो लेराइदिनेलाई एक शब्द”धन्यवाद” पनि नभनी लग्छन। यत्रो गरेर लेराइदिने हेरेको हेरै। तेसैले केही गरी आमाबुबाहरू ह्विलचेयरमा आँउदै हुनुहुन्छ भने एयरपोट समयमा पुग्नु लिनलाई ,साथसाथै लेराइदिनेलाई “धन्यवाद “भन्ने बानी बसालौं। भरे घर पुगेर आमाबुबाले यात्राको बयान गर्दा कता खोज्न जानुहुन्छ सहयोग गर्नेलाई “धन्यवाद” भन्न।

तेस्तै कहिलेकाहीं ट्रान्जिटमा लामो समय अर्को प्लेन कुरीरहँदा, केही खानेकुरा किन्न जानु अगाडी तपाईंहरूले प्लेनमा खानु भयो भनेर सोध्दा त हामी अरूले छोएको खाँदैनौं भनेर भोकभोकै बसेका आमाबा भेटिन्छन्, अनि केही फलफुल, जुस किनेर दियो, नानी हामीसंग त नेपाली रूपैंयामात्र छ भन्ने पनि भेटिन्छन।मानवता त अझै हामीमा बाँकी नै छ नि, पैसै त किन दिनुपर्यो र।

तेसैले यसरी एक्लाएक्लै ह्विलचेयरमा वा अनजान मान्छेको भरमा आमाबुबालाई बिदेश ल्याउने, पठाउने गर्दा केही अत्यन्त ध्यान दिनुपर्ने कुराहरू:

१. ह्विलचेयरमा आउने आमा बुबाकोसाथमा वा लगाइदिएर सुनको चुरा,औंठी,सिक्री,लकेटहरू जस्ता कुनैपनि बहुमुल्य गहनाहरू नपठाउनु । सेक्युरीटी चेक गर्दा कुनै देशमा गहना फुकालेर ट्रेबाट सेक्युरीटी बेल्ट कटाउनु पर्ने हुन्छ, एक त पहिलो पटक, त्यो पनि एक्लै आउनेहरू आतिएर आधा होस हुँदैन,केही गरी सामान लिन बिर्सियो भने के होला हालत।

२. उँहाहरूको साथमा गु्न्द्रुक, मस्यौरा, तिलको छोपको अचार, तामा, टिम्मुर, मसला,क्वाटी, तरकारीको बिउहरू आदी खाधान्न कुनै हालमा नपठाउनु वा नमगाउनु। हो सबैले लेराइरहेका छन केही हुन्न भनेर हुँदैन, केही गरी सुटकेस चेकजाँचमा पर्यो भने परेन त आपत। फेरी नेपालीहरू अव त जताततै छ्यापछ्याप्ती धेरै भइसकेयुँ, भारतिय साथसाथै नेपालीले खोलेको खाधान्न पाउने पसलहरू छन् ठाँउठाँउमा, पुजा सामग्रीदेखि लिएर काठमाण्डौमा पाइने झुरुम झुरूम हुनेखाले रातो चिउरासम्म पाइन्छ त्यो पनि त्यहाँको सरकारले मुल्याकंन गरेर “क्वालीटी पास” गरेको। तेस्तै अमेरिकाका कोरियन पसल यचमार्ट, लोट्टे, ग्र्यानमार्टहरूमा पनि पाइन्छ सबै मरमसला,साथसाथै ताजा तरकारी रायोको साग, फर्सीको मुन्टा, कतै चम्सुरको साग पनि पाउन थाल्यो। सबै यतै पाउने भएपछि किन नेपालदेखि दुख दिएर मगाउनु ।

३. तेस्रो सबैभन्दा महत्वपुर्ण कुरा उँहाहरूले दिनदिनै खानेगरेको/ खानै पर्ने ब्लडप्रेसर, सुगर,धुडाँको , नसाको आदीइत्यादी औषधी कम्तीमा पनि चार-छ महिनालाई पुग्ने लेराउनु भन्नु। बिदेशमा डाक्टरको”प्रेसक्रिपसन” नभइ किन्न पनि पाईंदैन औषधीहरू, साथसाथै धेरै महंगो पनि पर्छ। हो बिदेश आएका आमाबा कोही आत्तिएर एक महिना मै फर्किने पनि हुन्छन कोही रमाएर महिनौं बस्छन तर जे होस आवश्यक औषधी अलिक बेसी लेराउँदा ढुक्क हुन्छ नी।

अन्त्यमा उहाँहरुले बोक्ने हाते झोला वा सुटकेसमा फेर्नको लागि एकजोर लुगा, प्लेन भित्र एसी चलाएको हुन्छ, चिसोबाट बच्न सानो पातलो स्वेटर वा सल, केही अपज भएर पेट दुख्दा खाने डाइजिनको ट्यावलेट, टाउको दुख्दा खाने सिटामोल, रिंगटा लागेर बान्ता होला जस्तो हुँदा खाने एभोमिन, उँहाहरूले नछुटाई खानैपर्ने औषधीहरू, केही गरी प्लेनको खाना खान मन नलागेर नखाएको बेला कुटुकुटु खान मिल्ने, बदाम, नुनिलो वा गुलियो बिस्कुट, चिप्स, भुजिया आदी राखिदिनु।खाली सानो पानी राख्ने बोतल पनि राखिदिनु, बिदेशको एयरपोटतिर जताततै खानेपानीको धारा हुन्छ, थापेर खान सजिलो हुन्छ र साथै केही स-साना प्लास्टिकको झोला पनि राखिदिनु, केही गरि अपर्झट “प्लेनको बिरामी” भएर बान्ता आएमा काम लाग्छ।

एउटा रमाइलो घटना पनि जोडी हालौं, धेरै बर्ष अगाडी एकजना बुबा ह्विलचेयरबाट म आएको प्लेनबाटै अमेरीका आएको देखेको थिएँ। यस्तै नेपाली समुदायले व्यवस्था गरेको एक कार्यक्रममा नाचगानको बेला त आम्मै त्यो बुबा छक्कै पार्ने गरेर कहिले बस्दै, कहिले उठ्दै गरेर नाचिरहनु भएको रहेछ। उँहा असक्त भएर थोडै ह्विलचेयरमा आउनु भएको थियो र ननाच्नु, अंग्रेजी नबुझ्ने भएर पो सजिलोको लागि थियो त ह्विलचेयर !!

शशी के.सी

प्रतिक्रिया