शनिबार, साउन ३२ २०७६
काठमाडौं १७:०८
वासिङटन डिसी 07:23

नेपालको क्रिकेट प्रशिक्षकमा भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल नियुक्त

इनेप्लिज २०७६ जेठ १७ गते ११:२३ मा प्रकाशित

काठमाडाैँ, १७ जेठ । नेपालको क्रिकेट प्रशिक्षकमा भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो ।

स्रोतका अनुसार पटवालले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन् । यो रकम आईसीसीले दिनेछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पटवाललाई १ बर्षको लागि मुख्य प्रशिक्षक जिम्मेवारी दिने भएको छ ।

यसअघि नेपाली टिम जगत टमटाले हेर्दै आएका थिए । राखेप सदस्यसचिब केशब कुमार बिष्टले नेपालमा आयोजना हुने साग गेम्सलाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिन लागेको बताए ।

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।

४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी-२० सिरिज खेल्दा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका थिए । त्यसअघि २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि आईसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा उनलाई पठाएको थियो ।

नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पटवालले पहिलो पोखरा प्रिमियर लिग (पीपीएल)मा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । यस्तै एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उनी टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा रहेका थिए ।

प्रतिक्रिया