कोमल गजल:-

इनेप्लिज २०७६ जेठ १४ गते ११:०९ मा प्रकाशित

झन स्वार्थ बढ्यो गणतन्त्र पछि
सुखशान्ति ढल्यो गणतन्त्र पछि

मतिभ्रष्ट भयो पद लुब्ध हुँदा
मद माथ चड्यो गणतन्त्र पछि

लुटमार हुँदैछ सदैव यहाँ
धनसार बग्यो गणतन्त्र पछि

असमञ्जस भो जनमानसमा
भर,आस मर्‍यो गणतन्त्र पछि

हर रोज भिडन्त छ संसदमा
रणभूमि बन्यो गणतन्त्र पछि

न त मान बच्यो न त शान बच्यो
परिहास बच्यो गणतन्त्र पछि

अति कल्मष सोच छ नायकमा
शुभदृष्टि हट्यो गणतन्त्र पछि

मन लीन भयो धनदौलतमा
छलछाम पस्यो गणतन्त्र पछि

चुलिँदै छ बजार दिनानुदिन
व्यवधान सज्यो गणतन्त्र पछि

असरल्ल भए सबका सपना
जनबोल दब्यो गणतन्त्र पछि

तोटक छन्द
(६ अक्षरमा विश्राम)

-कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया