सोमबार, भदौ ९ २०७६
काठमाडौं ०१:०७
वासिङटन डिसी 15:22

मेरो मौलाकोट : राजनैतिक अतिक्रमणको शिकार

प्रेम कैदी २०७६ जेठ १३ गते २१:५५ मा प्रकाशित

प्रेम कैदी,

(२०७६जेठ ८ गते बुधवार चतुर्थीका दिन देवादिदेव महादेव मौलाकोटमा धामी पुष्पकुमार शाहीमा अवतरण भए । हजारौं जन भेला बीच भएको पैठमा देववाणी भयो, कलि सकियो,सुदर्शन युग शुरु भयो । सब ठीक हुन्छ, ६ महिनामा राजनैतिक स्थिरता कायम हुन्छ ….) ।

पुरै उपेक्षित एउटा विरान डाँडो जसमा पहिले प्राचीन दरवार थियो । कालिकोटको रास्कोट नगरपालिकाको वडा नं. ५ विजयपुर गाँउमाथि अति सुन्दर डाँडामा म वर्षमा २÷४ चोटी जान्थे, एक त फूलपातीको दिन मेरो जेठा बाबा क्षेत्रबहादुरका साथ त्यहाँ धुप बाल्नै पथ्र्यो । त्यसपछि एकादशीबाट एउटा टाम्केले आएर प्रत्येक दिन गाउँको दक्षिणमा रहेको चौपिढीमा टाम्को बजाएर खुट् हाल्थ्यो र दशै आएको सबैलाई जानकारी हुन्थ्यो । लगातार ९ दिन खुट हाल्ने टाम्केलाई अष्टमीको रात अर्थात कालरात्रीमा गवीरमा सजाइएकी कालीमातालाई चढाएको बोकाको रगत सहितको मासु दिइन्थ्यो र खाना पनि दिनु पथ्र्यो । भोलिपल्ट नवमीमा मौलाकोट दरवारमा एक काठको विशेष प्रकारको मौलाको पशुको टाउको जस्तो टुप्पोमा पूजा गरिन्थ्यो । मौलाकोटमा पूजा गर्नका लागि सिपखाना गाउँका वराल र चुत्तीकोट गाउँका न्यौपाने बीच लामो मुद्दा चल्यो । त्यसमा कौडिन्य गोत्रीय न्यौपाने (आचार्य) हरूको विजय भएको मैले सुनेको थिए र मौलाकोटमा पूजा पनि न्यौपाने ब्राह्मणले नै गर्दथे । उनीहरू फूलपाती र एकादशीमा हाम्रा सबै बारीहरूमा पसेर धाडो हाले जस्तै जे चाह्यो लिन्थे र फर्किने वेला बाटोमा गोठालो गएर फर्केका हामी केटाकेटीहरूलाई काक्रा र अन्य फलफूल दिन्थे । पूजारी बाले सबैलाई केही न केही दिएर जान्थे र तिनैले मौलाकोटमा पूजा गर्र्थेे । मेरा जेठा बाबाले भन्थे, यो मौलाको अत्यन्त महत्व छ । यो देवताहरूका देवता तथा ब्रह्माण्डका महाराज श्री महादेवको दरवार हो । महादेवको निरन्तर २० वर्ष तपस्या गरेपछि अलकापुरीका राजा सक (खस) बहादुरले त्यो राज्य वरदानमा पाए । महादेवले सक बहादुरको नाम पनि बदलेर देवराज इन्द्र राखे । कालान्तरमा मौलाकोट स्वर्गका राजा इन्द्रको राजधानी बन्यो । पछि इन्द्रले पृथ्वीको राजा आफ्नो छोरा मष्टोलाई बनाए । कुशाभट्टको फागमा जलंधर (रास्कोट, पहिले जुम्ला) बाट मष्टो आएको उल्लेखमात्र नभई स्वर्गको राजा इन्द्र र पृथ्वीको राजा मष्टो भन्ने कुरा समेत लेखिएको पाइन्छ । महादेवले ब्रह्माण्डमाथि राज गरेको यसै स्थानबाट मनुको उत्पत्ति अघि मष्टो देवले पृथ्वीमाथि राज्यगरेको र महानग्रन्थ वेदको रक्षा गरेको कुरा योगी नरहरिनाथ लगायतका विद्वानहरूको भनाई छ । यिनै आदि देवताकालागि मौलाकोेटमा काठको लिङ्गको पूजा गरेपछि त्यहाँ थरिथरिका हतियार बोकेका शिवका वाहन तथा सैनिकहरूले जुलुस निकालेर युद्ध अभ्यास गर्दै अगाडि दमाह बजाउदै, हुड्के नाच्दै पछाडि ठूलो समूह मौलाकोटबाट ओरालो विजयपुर गाउँको बीचबाट चौपिढीको चौरमा निकैवेर हतियार सहितको नृत्य गर्दै तल रागो हान्ने ढिप्कानेर पुग्थ्यो । त्यहाँ महिषाशुरको प्रतीक एक राँगो छोडिन्थ्यो जसलाई भुजेली तरवार खुकुरी बोकेका युवाहरू मध्ये कसै एक जनाले प्रहार गरेर टाउको छिनाएपछि, बाजा बजाउनेहरू, हुड्के लगायत वरपरबाट आएका दर्शकहरू मध्ये बाहुन क्षेत्री मतवाली वाहेकका सबै थरका सहभागीहरूले एक छिन मै हातैले राँगाको मासु लुछेर प्रसादको रुपमा ग्रहण गर्ने चलन थियो ।

झ्याउँ झिल्लै, ट्राउँ टिल्लै ….को धुनमा फेरि त्यो भीड लाइन लागेर महिषाशूर वधको खुशीयाली बनाउदै राँगो हान्ने ढिप्काबाट चौपिढीको चौरमा आउँथ्यो । त्यहाँ केही वेर नाचेपछि त्यो लस्कर विजयपुर गाउँको बीचमा रहेको हाम्रो घरमा पुग्थ्यो र घरको आगनमा रहेको ढुंगाका पाट बिछ्याइएको खलामा पनि हतियार सहितको विजय नृत्य प्रस्तुत गथ्र्यो । अगाडि हुड्के र टाम्के लागेको पछाडि ठूल्ठूला दमाहा बोकेको नगारा बजाउने त्यो सामुहिक विजय नृत्यले विजयपुर गाउँमात्र होइन पुरै सान्नीरास्कोटको धेरै भूभागमा त्यसको गड्गडाहटले थर्कमान हुन्थ्यो । पृथ्वीको त्यो सामूहिक नृत्यलाई स्वर्ग मत्र्य र पातालका देवी देवता, अन्य शक्तिहरू र जीवजन्तु सबैले हेरिरहेको, आनन्द लिइरहेको भान हुन्थ्यो । त्यसैको भोलिपल्ट त्यसै विजयको उपलक्ष्यमा घरमा अनेकौ पकवानहरू पाक्थे । सेल, पुरी, खिर, अनर्सा…. केरा लगायत अनेकथरि फलफूल, अचार, तरकारी……. एक प्रकारको भब्य उत्सव नै हुन्थ्यो ।

घरको छानामा फेरुवा कम्वल र दरीहरू बिछाएर बीचमा अक्षता, फूल र दक्षिणा दिने फुटकर नोटहरू तथा खुद्रा रुपैया पैशा राखिन्थ्यो र आसनमा जेठा वावा बस्थे । उनले पहिले कुनै कुमारी चेली वा उपाध्याय ब्राह्मणका हातबाट आफूले टीका ग्रहण गर्थे । त्यसपछि क्रमैसँग आफ्ना भाइहरूलाई टीका लगाइदिन्थे । उनले टीका छुटाएर अलिपर राखेको टीका उनका वौरानी (भाइ बुहारी) हरूले स्वयम् लाउथे । अरु त सबैले उनका हातबाट धारण गर्थे । मौलाकोटबाट स्वयम् भगवान शिव आए जस्ता देखिने मेरा जेठा बाबाको ढाका टोपी वरिपरि पकडी अनि आँगो जगेलो कोटमा उनी ठाटिएका हुन्थे र जोसुकै आएपनि टीका लगाउथे । चेली र ब्राह्मणहरूलाई नगद केही न केही दान पनि दिदै जान्थे । तत्काल सान्नीरास्कोटमा रहेको लालूलैफूको विर्ताका डिठ्ठा भएकोले मेरा जेठा बाबालाई उक्त क्षेत्रका सबै मुखिया, जिमुवाल, राइटर लगायतका पदाधिकारीहरू घीउ, मह, बाबर (सेल) तथा केराका ठूल्ठूला घडी नै लिएर टीका थाप्न आउथे । विजयपुरको हाम्रो घरमा टीकाको दिन अति भव्य उत्सव नै हुन्थ्यो तर अचानक २०१७ सालको दशैमा त्यो भव्य कार्यक्रम स्थगित भयो । हामीहरू छक्कै प¥यौँ । ठूला बाबाले घरभित्र बैठक कोठामा परिवारमा सीमित टीकाटालो गरे ।

किन यस्तो भयो ? देवी देवताको किन यसरी सम्मानको परम्परा ध्वँश पारियो ? हाम्रो धर्म संस्कृतिलाई छिन्न भिन्न पार्ने अपराधी को हो ? ठूलावडाहरू कु्रद्ध थिए । धेरै वर्ष पछि मेरो जेठा वावाले त्यसबारे मलाई भने, हाम्रो पालामा कसैलाई गाली दिनु परे, तेरो घरमा कांग्रेस पसोस् भन्थे, नभन्दै त्यही भयो । परिवर्तनको सपना देख्ने गल्तीले हामी सबै कांग्रेस भयौँ र हाम्रै सरकारले यस्तो नीति ल्यायो कि देशमा राजारजौटा मास्ने नाममा पृथ्वीनारायण शाहहरूले दिएका स्थानिय राज्यहरूका अधिकार पुरै केन्द्रीकरण गरेर त्यसै सँग जोडिएका धर्र्म संस्कृति आदि क्रियाकलाप सबै समाप्त गरियो । परिवर्तनका नाममा परम्परा र इतिहास सिद्ध्याउने खेल त्यसपछि त झनै बढेको छ ।

पछिल्लो कालमा माओवादी जनयुद्धका नाममा रणनैतिक महत्वको रुपमा रहेको अग्लो चारैतिर देखिने मौलाकोटको दरवार रहेको टाकुरो कसले कब्जा गर्ने भन्ने तछाड मछाड भयो । जनयुद्ध विरोधीहरूले त्यसैमा प्रहरी पोष्ट राख्ने प्रस्ताव ल्याए, मैले उनीहरूलाई भने मौलाकोट दरवार छाडेर त्यस्तो काम गर्ने भए म पनि हस्ताक्षर गरिदिउला । उनीहरूले माने तर पनि त्यस भन्दा अगावै त्यहाँ मोर्चा वन्दीका लागि विभिन्न संरचना बनाइसकेका रहेछन् । माओवादीहरूले त झन मौलाकोट दरवार आसपासका अति प्राचीन शिव भगवान कै समयका ठूला ठूला खम्बाहरू उखेलेर शहीदका नाममा चौतारा चिन्दै सबै धरोहर ध्वंश गर्ने काम गरिसकेका रहेछन् ।

उनीहरूले कति मन्दिर भत्काए, कति घण्टाहरू र अन्य मन्दिरका मूर्तिहरू बेचेर खाए र जनयुद्धका नाममा एकजना राष्ट्रघाती जनघाती भ्रष्ट प्रतिक्रियावादी मारिएन तर जवर्जस्ती गाईको मासु खुवाएका वाहुनहरू कतिले आत्महत्या गरेर जासुसीको आरोपमा गाँउका सानातिना कर्मचारी मारिए । नेपालको अख्तियार दुरुपयोग रोक्ने आयोग जस्तै माओवादी भनिनेहरूको जनयुद्धले साना तिना कर्मचारी र सुरक्षाकर्मी मार्ने काम मात्रै ग¥यो । क्रान्ति र परिवर्तनका नाममा हाम्रो देशमा साउदी अथवा भेटिकनका भरौटे नेताहरूले धर्म संस्कृति मास्ने र भाषा संस्कृतिमास्ने काम मात्रै गरेका छन् । वरु सामन्त नाइके भनी हामीले सधैँ सरापेका राजा महेन्द्रले मुलुकी ऐन ल्याएर छुवाछुत मासे, भूमिसुधार लागु गरेर मोहियानीद्वारा साना किसानहरूलाई पनि जमीन दिएर मालिक बनाउने काम गरे । विदेशी सूक्ष्म व्यवस्थाका लागि भएका २००७ सालदेखि आजसम्मका क्रान्ति र निर्वाचनले ५० औँ लाख विदेशीहरूलाई नागरिकता दिने र राजाले बचाएका सबै नदीनाला आफ्ना छरछिमेकका मालिकहरूका पेवा बनाए । तैपनि नेपालका दास बुद्धिजीवीहरू त्यसैका पछाडि जागिरे मनोवृत्ति देखाउँदै कुदिरहेको देख्दा ज्यादै आत्मग्लानी हुन्छ । बरु भोकै नांगै बस्छ तर बाघले घाँस खान्न भने झैँ घाँस चर्ने हरुवा चरुवाहरूबाट पृथक बस्न सकेकोमा मौलाकोटका भगवानप्रति आभारी हुन्छु मनमनै !!

प्रतिक्रिया