वास्तविकता लघुकथा

अर्जुन थापा २०७६ जेठ ११ गते २:२५ मा प्रकाशित

“अहिलेको युवा भएर पनि यस्तो भक्ति । मन्दिरमा देख्छु साँझ बिहान नै । अझ सोमबार त कैलाशमा घण्टौं ध्यान गरेर बसेको हुन्छ ।” तारिफ गर्दै भन्छिन एक महिला ।

“हाम्रा बच्चाहरु यो जमानामा भगवान भन्ने हुँदैनन भन्छन् । चन्द्रमा बस्ती बसाली सके मान्छेहरुले तपाईहरु कुन जमानामा हुनुहुन्छ भनेर उल्टै हामीलाई नै गलत बनाउँछन् । तर यस्ता युवाहरुलाई देख्दा मनमा आनन्द लागेर आउँछ ।” अर्कीले सही थप्दै भन्छिन ।

“हेर्दा त राम्रै घरको देखिन्छ । आईफोन बोकेको छ । कति भाग्यमानी होलान त्यस्तो छोराको परिवार । यस्तै केटालाई छोरी दिन पाए आनन्द हुन्थ्यो मन पनि ।” पहिलो महिलाले फेरी थप्छिन ।

ति दुई महिलाहरुले मात्र नभएर पशुपतिमा आउने प्रायले उक्त युवकको तारिफ गरेकै हुन्थे । सबैसंग नहासी नबोल्ने, साना देखि बृद्ध सबैलाई आदर भावका साथ बोल्ने गथ्र्यो । हरेक साँझ भजनमा सहभागीता जनाउँथ्यो । दिनप्रतिदिन सबैका मनमा बस्न सफल भईसकेको थियो छोटो समयमै उक्त केटो ।
एकाबिहान ति दुई महिलाहरु कुरा गर्दै मन्दिर जाँदै गर्दा ।

“कसरी हुन्छ त्यो केटालाई मेरी छोरी दिन पाए हुन्थ्यो त्यो केटाको घरमा कसरी कुरा गर्ने होला ? त्यो केटालाई कुनै हालतमा गुमाउन हुँदैन । केही छ तिमीसंग जुक्ति ?” प्रश्न गर्छे पहिलो महिला ।

“तपाईको छोरीलाई गज्जबको जोडा मिल्छ त्यो केटो । आफै कुरा मिलाएर सोधौंला म ।” दोस्री आईमाइले भन्छिन ।

त्यत्तिकैमा बाटोछेउमा केही मान्छेहरु जम्मा भएर कराउँदै गरेको सुन्छन दुवै महिलाहरुले । दुवै महिलाहरु भिड भएतिर जान्छन् । भिडको बीचमा रगताम्मे भएर बसीरहेको हुन्छ त्यही युवक । जसलाई पहिलो महिलाले ज्वाईँ बनाउन आतुर थिइन ।

“लौ न के भयो ? यस्तो सोझो मान्छेलाई यस्तो गर्ने को होला ?” भन्दै आँखाबाट आँशु झार्न थाल्छिन पहिलो महिला ।
“त्यही त चाँडो गाडीमा हालेर अस्पतालतीर लानु प¥यो ।” दोस्री महिला गाडी रोक्नतीर लाग्छिन ।

“गाडी त हामी पनि कुरिराखेका हौं । तर अस्पताल लानको लागि नभएर पुलिस चौकितिर । आज बिहानै मन्दिरको चन्दा बाकस फुटाउँदै गर्दा समातेका हौं हामीले ।” भिडबाट कसैले भन्छ ।

दुवै महिलाहरुको मुखबाट कुनै शब्द निक्लिराखेको हुँदैन ।

[email protected]

प्रतिक्रिया