कोमल गजल:-

इनेप्लिज २०७६ जेठ ७ गते ११:२६ मा प्रकाशित

हाँस्यौँ सँगै आँसु सँगै बहायौँ
सद्प्रेमले दर्दहरू घटायौँ

माया गर्‍यौँ सागर झैँ पवित्र
सहाय भै आपसमा सघायौँ

आत्मीयता डेग चलेन कैले
विश्वासका दीप सधैँ जगायौँ

झेल्यौँ हजारौँ दिन दुर्दशाका
सङ्घर्ष गर्दै सपना सजायौँ

काट्यौँ कयौँ रात खपेर भोक
संकष्टका वेग कमी गरायौँ

टाढा भए रोष र वैरभाव
दाम्पत्य आदर्शमयी बनायौँ

सन्तुष्ट छौँ लालच छैन केही
जे जे छ आफ्नो त्यसमै रमायौँ

यस्तै बितून् वर्ष अनन्त हाम्रा
वर्षौँ खुसीले जसरी बितायौँ

छन्द:-इन्द्रवज्रा
५ं मा विश्राम

कोमल भट्ट
च.न.पा -१३
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रतिक्रिया