गैह्रआवासिय नेपाली संघको भाषा साहित्यमा एक ऐतिहाँसिक कार्य

सुरेन उप्रेती २०७६ जेठ ४ गते २:०८ मा प्रकाशित

गैह्रआवासिय नेपाली संघले आफ्नो स्थापना काल देखि नै प्रवासमा छरिएर रहेका नेपालीहरुलाई एकाकार गर्दै आएको छ । त्यस्तै गरी मातृभूमिलाई संकट र आपद, विपद परेका वेला देखि शिक्षा स्वास्थ्य र सम्बृद्धिका अनेक कामहरु गर्दै आएको छ । एक पटकको नेपाली सँधैको नेपाली भन्ने नाराका साथ अगाडि बढेको यस संस्थाले सन्सारका असी भन्दा बढी देशहरुमा आफ्ना शाखाहरु बिस्तार गर्न सफल भएको छ । थुप्रै समिति र उपसमिति बनाएर मातृ भूमिको विकाश र प्रगतिमा आफ्ना अंगहरुलाई परिचालन गरेको छ । मातृभूमिलाई भूकम्प, बाढी ,पहिरो , आँधीबेरी जस्ता विपतिले घाइत्ते बनाएका बेलामा कहिले ओत बनेर लाप्राक पुग्दछ । कहिले त्रिपाल, रासन र ओड्ने कम्बल बनेर सिराहा सप्तरी पुग्दछ । कतै उच्च शिक्षाको ज्योतिबोकेर झुल्किन्छ । अँध्यारा बस्तिहरुमा बिजुलीको प्रकाश बनेर जग्मगाउँछ ।

यी बिभिन्न समिति र उपसमिति मध्यको एक हो गैह्रआवासिय नेपाली संघ भाषा साहित्य उपसमिति । गोबिन्द प्रसाद गौतमको संयोजकत्वमा गठित यस उपसमितिमा सबै महादेशहरुबाट प्रतिनिधित्व हुने गरी सहसंयोजक, सल्लाहकार र सदस्यहरु चयन गर्यो । यस उपसमितिले आफ्नो कार्यकालको प्रथम बैठक देखिनै महत्व पुर्ण निर्णयहरु गर्दै र ती निर्णयहरुलाई कार्यन्वयन गर्दै आएको छ । ती मध्य भानु जयन्तिलाई विश्व नेपाली भाषा साहित्य दिवशको घोषणा गर्नु र मनाउन शुरु गर्नु एक हो । त्यस्तै गरी नेपाली भाषा र साहित्यको पहिचानलाई विश्व समक्ष स्थापित गराउँन प्रयास गर्नु अर्को महत्वपूर्ण काम हो । प्रत्येक महादेशमा त्यँहा वोलिने स्थानिय भाषामा नेपाली साहित्यका पुस्तकहरु अनुबाद गर्ने र प्रकाशन गर्ने अर्को महत्वपूर्ण काम भइ रहेको छ । यस अन्तर्गत रसियन भाषामा जापानिज भाषामा अंग्रेजी भाषामा नेपाली साहित्यकारका कृतिहरु अनुवाद गरी प्रकाशन गर्ने कार्य भईरहेको छ । नर्थअमेरिकामा रहनु भएका कथाकारहरुका प्रतिनिधि कथाहरु अंग्रेजी भाषामा अनुवाद हुँदै छन र चाँडैकथा संग्रह प्रकाशन हुँदैछ । नेपालका बरिष्ठ साहित्यकारहरुका कृतिहरु रसियन भाषामा अनुबाद गरी प्रकाशनको अन्तिम चरणमा पुगेको छ । त्यस्तै गरी ताइवान र जापानका कविहरुका प्रतिनिधि कविताहरु जापानिज भाषामा अनुवाद भइ प्रकाशन हुँदैछ । त्यस्तै गरी संसार भरी छरीएर रहेका नेपाली नारीहरुबाट लिखित मुक्तक संग्रहकव प्रकाशन गर्ने । यो नारी हस्ताक्षर मुक्तक संग्रह पनि प्रकाशनको तयारीमा रहेको छ ।

त्यस्तै अर्को महत्वपूर्ण कार्य हो ,नेपाल प्रज्ञा–प्रतिष्ठान र गैह्रआवासीय नेपाली सङ्घ भाषा साहित्य उपसमितिद्वारा संयुक्त रूपमा नेपालभन्दा बाहिर रहेर नेपाली कथा विधामा कलम चलाइरहनुभएका कथाकारहरूका नेपाली भाषामा लेखिएका कथाहरूको सम्पादन गरी सङ्ग्रह प्रकाशन गर्ने । सो कथा संग्रह प्रकाशनका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेती, गैह्रआवासीय नेपाली सङ्घका अध्यक्ष श्री भवन भट्ट र पूर्व अध्यक्ष श्री जीवा लामिछाने सल्लाहकार समितिमा रहनुभएको छ । यसैगरी सम्पादक मण्डलमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट प्राज्ञ परिषद् सदस्य डा. हेमनाथ पौडेल, श्रीमती माया ठकुरी र प्राज्ञ सभा सदस्य श्री शशी लमुम्बू रहनुभएको छ भने गैह्रआवासीय नेपाली सङ्घ भाषा साहित्य उपसमितिका तर्फबाट संयोजक श्री गोविन्दप्रसाद गौतम, सहसंयोजक डा. लेखनाथ काफ्ले र गैह्रआवासीय नेपाली सङ्घ भाषा तथा साहित्य उपसमिति क्यानाडाका सदस्य श्री सुरेन उप्रेती रहनुभएको छ ।

नेपाल बाहिर रहेर नेपाली भाषामा कथाहरू सिर्जना गरी नेपाली भाषा साहित्यलाई समृद्ध गर्न क्रियाशील विभिन्न मुलुकका कथाकारहरूका प्रतिनिधिमूलक कथाहरुलाई यस कथासङ्ग्रहमा समेट्ने योजना रहेकोछ । डायस्पोरामा रहेर नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि पुर्याउनु भएको योगदानको सम्मानस्वरूप यस ऐतिहासिक ग्रन्थमा सन्सार भरी छरिएर रहेका कथाकारहरुका कथालाई समावेश गर्न लागिएको हो । उक्त पुस्तकको प्रकाशनले नेपाली साहित्यलाई कथाको माध्यमले सदैब सेवा गर्नेहरु साहित्यकारहरुको पहिचान गराउँनेछ भने कथाहरु अधिक पाठकहरु समक्ष पुग्नेछन । यस कथा सङ्ग्रहका लागि नेपालभन्दा बाहिर रहेका सबै कथाकारहरूलाई यो सन्देश प्रवाह गरी कथा सङ्कलनमा सहयोग पु¥याइदिनुहुनका लागि सबै मिडियाहरु सँग अनुरोध गरिएको छ। उक्त कथा संग्रहलाई देश विदेशमा वितरण गरिने ब्यहोरा संयोजक गोविन्द प्रसाद गौतमले प्रष्टयाउनु भयो । उक्त कथा संग्रहका लागि निम्न आधारमा रही आफ्नो कथा रचना पठाई सहयोग गर्न सकिने छ । १ कथा अधिकतम 2000 शब्द भित्र हुनु पर्नेछ। २. कथा नेपाली भाषामा लेखिएको हुनुपर्ने छ । ३. कथा पठाउँदा युनिकोड वा प्रीति फन्टमा टङ्कन गरी इमेल ठेगाना [email protected] मा पठाउनुपर्ने छ । ४. कथा २०७६ जेठ ३१ गते (ई.सं. २०१९ जुन १४) भित्र पठाइसक्नुपर्ने छ । ५. कथा मौलिक तथा अप्रकाशित हुनुपर्ने छ । ६. कथामा नेपाली राष्ट्रियता तथा कुनै विवादित प्रसङ्ग, आक्षेप र कसैको सम्मानमा आँच आउने विषय समावेश भएको भए प्रकाशन गरिने छैन । ७. कथाकारहरूलाई छोटो परिचय सहित एक प्रति पासपोर्ट साइजको फोटो पनि उपलब्ध गराइदिन अनुरोध गरिन्छ। ८. कथा छनोटको अन्तिम निर्णय सम्पादक मण्डलको हुनेछ । यहाँहरूको भरपुर सहयोग र सद्भावको अपेक्षासहित भन्ने व्यहोरा सहित गैह्रआवासीय नेपाली सङ्घ भाषा साहित्य उपसमिति तथा सम्पादक मण्डलका तर्फबाट संयोजक गोविन्दप्रसाद गौतमले परिपत्र गर्नु भएको छ ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया