कोमल गजल:-

इनेप्लिज २०७६ जेठ २ गते १०:१७ मा प्रकाशित

लुटेराहरूकै भयो देश साजा
उनैको छ खाना उनैको छ खाजा

दुखे देशवासी खपी भोक प्यास
भयो पेट रित्तो बजेको छ बाजा

बिकाइन्छ छल्दै सडेको गलेको
तिर्‍यो मोल चर्को कतै छैन ताजा

भए भ्रष्ट नेता कतै छैन मान
न गाँसिन्छ माला न वर्सिन्छ लाजा

निया ध्वस्तभो चाकडी चाप्लुसीले
नकारिन्छ निर्धाहरूका तकाजा

बढे आततायी दुखीन् मातृभूमि
हुँदा घात चर्को परेको छ धाँजा

भयो फायदा के ? हटी राजतन्त्र
थिए एक राजा भए लाख राजा

भुजङ्गप्रयात छन्द
(६ अक्षरमा विश्राम)

कोमल भट्ट
च.न.पा -१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया