प्रहरी सक्रियताले अपराधका घटनामा कमी

इनेप्लिज २०७६ वैशाख ३१ गते ११:४९ मा प्रकाशित

काठमाडौंँ, वैशाख ३१ गते । कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडाँै प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् ।
समाज परिवर्तनसँगै प्रविधि, शिक्षा र चेतना बढ्नुले कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा प्रहरीको अनुसन्धान र सक्रियता पनि कारक रहेको बताइन्छ ।
महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र ती परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् । ती मध्ये ४१ भन्दा बढी अपराध तथा अपराधजन्य घटना करिब शुन्यको अवस्थामा पुगेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका मुद्दा शाखा प्रमुख मोहन थापा गर्भपतन, भ्रुणहत्या र हाडनाताकरणी जस्तो जघन्य अपराध हुनै छोडेको बताउनुहुन्छ ।
विशेष गरी काठमाडौँ उपत्यकामा चिठीपत्र खुलेको हराएको चोरी भएको, बालविवाह, टेलिफोनको कल वाइपास गरिने भीओआईपी, छुवाछूत, सार्वजनिक सम्पत्ति हिनामिना, नदी तथा पोखरीमा हामफालेर, घाँटी काटी, विषालु सिरिन्ज घोपी र गोली हानी हुने आत्महत्याका घटनामा निकै कमी आएपछि प्रहरी अधिकरीहरू यसको कारण खोज्दै छन् ।
आधुनिक सूचना प्रविधिको प्रयोगले पनि परम्परागत अपराध घट्दै गएको भनाइ प्रहरीको छ ।
प्रहरीले अनुसन्धान गर्ने ज्यान, चोरी, सङ्गठित तथा आर्थिक अपराध, आत्महत्या, सामाजिक विभेद, महिला तथा बालबालिका, सवारी र विविध गरी आठ शीर्षकमा ती १७३ किसिमका मुद्दाको महानगरीय प्रहरीले अनुसन्धान तथा कानुनी कारवाही सञ्चालन गर्दै आएको छ ।
परिसर मुद्दा शाखा प्रमुख थापा भन्नुहुन्छ, ‘डुबेर मर्न र मार्नलाई उपत्यकामा पानी नै छैन, गर्भपतन, भ्रुणहत्या, हाडनाताकरणी र बालविवाहसम्बन्धी मुद्दाको उजुरी नै आउँदैन । कतिपय अपराधका घटना प्रहरीकै सक्रियताका कारण ठप्प पारिएका छन् ।’
महानगरीय प्रहरीको आर्थिक वर्ष २०७४÷७५ मा तथ्याङ्कले छुवाछूत, धर्मपरिवर्तन, बोक्सी, घरेलु हिंसा, सवारीबाट चौपायाको मृत्यु, अमानवीय तथा त्रूmर यातना, ज्यानमार्ने उद्योग गरी जवरजस्ती चोरी, रहजनी चोरी, पुरातात्विक वस्तुको चोरी र हुलाकसँग सम्वन्धित मुद्दा शुन्य देखाएका छन् ।
साइकलको ठक्करबाट मृत्यु, बम विस्फोट गराई कर्तव्यज्यान, गोली हानी हत्या, झूट्टा विवरण पेस गरी नागरिता लिएको, कर्तव्य गरी झुण्याई हत्या, अबैध कल बाइपास, बच्चा जन्माई ज्यूँदै फालेको, नोटरी र राज्यविरुद्धको अपराधमा पनि मुद्दा दर्ता छैनन् ।
कतिपय अपराध मान्छेको चेतनाको स्तर बृद्धिसँंगै कानुनी सुधार, अपराधका घटनामा आएको परिवर्तन र प्रविधिका कारण घटेको महानगरीय प्रहरी प्रमुख शैलेश थापाक्षेत्री बताउनुहुन्छ । इन्टरनेटको सुविधासँंगै दूरसञ्चार, चिठ्ठीपत्र र कलबाइपास अपराध स्वतः हराउँदै गएको हो उहाँले थप्नुभयो ।
त्यस्तै, सामाजिक विभेद अन्तर्गत छुवाछूत, गर्भपतन तथा भु्रण हत्या अपराध पनि सामाजिक जनचेतना र कानुनी सुधारसँंगै हराउँदै गएको बताइएको छ । हाडनाता करणी, बोक्सी, घरेलु हिंसा, अमानवीय तथा क्रूर यातना जस्ता अपराध शुन्यमा झरेको प्रहरीले जनाएको छ ।
दूर सञ्चार ऐनअन्तर्गत अर्कैको टेलिफोन तार चोरी गरी प्रयोग गरेमा दण्ड जरिवाना हुने व्यवस्था रहेकोमा आधुनिक प्रविधिको विकाससँंगै मोवाइल प्रयोगमा आउन थालेपछि सो अपराधमा मुद्दा पर्न छोडेको जानकारी महानगरीय प्रहरी कार्यालयले दिएको छ ।
यस्तै, सवारीको ठक्करबाट चौपाया मृत्यु, चौपाया चोरी, पशुकरणी र शिशु चोरी मुद्दा पनि हराउँदै गएको पाइएको छ । महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी समायानुकूल सर्वसाधारणमा चेतनाको स्तर बढेसँगै प्रविधिको प्रयोग र कानुनी सुधारका कारण केही अपराध स्वतः हराएको हुनसक्ने धारणा राख्नुहुन्छ ।

प्रतिक्रिया