‘संस्कृति संरक्षण सबैको कर्तव्य’

इनेप्लिज २०७६ वैशाख ३१ गते ११:४५ मा प्रकाशित

जनकपुरधाम, वैशाख ३१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधाम राजर्षी जनक, अष्टाबक्र, गार्गी जस्ता विद्वान् एवं ऋषि मुनिको कर्मभूमि तथा ज्ञानभूमि, वेद, उपनिषद्को उद्गम भूमि भएको हुँदा यस पवित्र भूमिमा समाजिक विभेद, सामाजिक विकृति एवं विसङ्गति देखिनु चिन्ताको विषय भएको बताउनुभएको छ ।  जानकी नवमी महामहोत्सव मूल समारोह समितिले सोमबार जानकी नवमीको अवसरमा जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले सामाजिक विकृति एवं विसङ्गतिविरुद्ध प्रदेश २ सरकारले चलाएको सामाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना ‘बेटी पढाउँ बेटी बचाउँ’ अभियान सकारात्मक भएको र थप जागरण तथा चेतनाको अभियान सञ्चालन गरेर आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
राष्ट्रपति भण्डारीले हाम्रा संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो ।  उहाँले जानकी नवमी एवं जानकी मन्दिर मिथिला तथा मौलिक संस्कृतिको अनुपम नमूना एवं धरोहर भएकाले यसको संरक्षण र सम्वद्र्धनमा तीनै तहका सरकारको ध्यान जानु पर्ने बताउनुभयो ।
उहाँले महामहोत्सको आयोजनाले नेपालको सामाजिक सांस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस प्रकारको विकृति एवं विसङ्गति अन्त्यका लागि सबै क्रियाशील हुनु समसामयिक सान्दर्भिक पनि छ ।”
राष्ट्रपति भण्डारीले कृषि कर्मका लागि राजा जनकले नै अग्रसरता लिएको यो भूमिमा कृषिको उत्पादनमा ह्रास आउनु चिन्ताको विषय भएको बताउँदै चुरेको दिगो संरक्षण गर्दै कृषिको आधुनिकीकरण गरेर यस ठाउँको उर्वर भूमिको सदुपयोगका गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकी मन्दिर नेपालीको मात्र नभई संसारका हिन्दुहरूको आस्थाको केन्द्रविन्दुका रुपमा रहेको बताउँदै यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सङ्घीय सरकारले काम गरिरहेकोे बताउनुभयो । उहाँले सरकारले मठ मन्दिर, गुम्बा तथा मस्जिदका नाउँमा रहेको श्रीसम्पत्तिका साथै अन्य सार्वजनिक सम्पत्तिका विषयमा छानविन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले जानकी मन्दिरको विकासलाई केन्द्रविन्दुमा राखेर काम सुरु गरेको बताउँदै यसबाट पर्यटन प्रबद्र्धन भई प्रदेशकै आर्थिक विकासमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नु भयो ।
उहाँले प्रदेश सरकारले जानकी मन्दिरको हरेक सांस्कृतिक कार्यक्रमलाई अपनत्व ग्रहण गरेको बताउँदै जानकी नवमीमा सहभागी हुन प्रदेश २ मा सार्वजनिक विदा दिएको बताउनुभयो । उहाँले आगामी वर्षमा यसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सङ्घीय सरकारसँग आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा जगत्गुरु एवम् सिद्धबाबा डा. कृष्णदास महाराजले मिथिला तथा कौशीकी संस्कृतिले मानवको प्रादुर्भाव गरेको ऐतिहासिक संस्कृति भएको बताउँदै यो संस्कृति गौरव गर्ने विषय भएकाले यस दिनलाई राष्ट्रिय पर्व घोषणा गरेर मनाउनका लागि सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले नगरपालिकाको कार्यपालिकाको बैठकले जानकी नवमीलाई राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरी सङ्घीय तथा प्रदेश सरकारसँग लिखित रुपमा आग्रह गरेको बताउनुभयो ।
जानकी नवमी महामहोत्सव मूल समारोह समितिका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मधेशी आयोगका अध्यक्ष डा.विजय दत्त, प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल तथा भारतबाट आउनुभएका विशिष्ट साधुसन्त तथा महन्थलाई राष्ट्रपति भण्डारीले मन्दिरका तर्फबाट सम्मान गर्नुभएको थियो । कार्यक्रममा माता जानकीको जन्ममा आधारित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
त्यसअघि राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजा अर्चना गर्नु भएको थियो ।
मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्णले राष्ट्रपति भण्डारीलाई प्रसाद तथा टीका प्रदान गर्नुभएको थियो ।

 

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम प्रभावकारी

प्रदेश २ सरकारले सामाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम २०७५ साल माघ १ गते वाट सञ्चालन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुनको अन्तिम साता प्रदेश २ को आर्थिक नगरी वीरगञ्जबाट सो कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
प्रदेश २ का आठवटै जिल्लामा बेटी पढाउ बेटी बचाउ कार्यक्रम लागू गरिएको छ ।
यो कार्यक्रम अन्तर्गत प्रदेश सरकारले माघ १ गतेपछि जन्मेका प्रदेशभरका बालिकालाई शिक्षा प्राप्तिमा कुनै समस्या नहोस् भन्नेर एक लाखको छोरी शिक्षा बीमा कार्यक्रम लागू गरेको छ ।
त्यसैगरी आठ वटै जिल्लामा ८ कक्षाभन्दा माथि पढ्ने छात्रालाई साइकल, विद्यालयमा छात्राका लागि शौचालय, सेनेटरी प्याड वितरण लगायतका कार्यक्रम सञ्चालित छन् ।
यस आर्थिक वर्षमा १२५ वटा विद्यालयमा छात्राका लागि शौचालय निर्माण गरिने कार्यक्रम रहेको छ । प्रदेशका आठवटै जिल्लामा पहिलो चरणमा एक हजार छात्रालाई साइकल वितरण गरिसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिष मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया