देशविदेशका २० जनालाई नइ पुरस्कार: अमेरिकाका गोविन्द गिरी प्रेरणालाई एक लाखको पुरस्कार

इनेप्लिज २०७६ वैशाख २८ गते १५:५३ मा प्रकाशित

ईनेप्लिज काठमाडौं प्रतिनिधि

वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज राजधानी काठमाडौमा देशदेशान्तरका २० जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर बधाई ज्ञापन गरियो । स्रष्टाद्वय प्रा.राजेन्द्र सुवेदी र प्रा.डा.महादेव अवस्थीले माला लगाएर वाङ्मय शताब्दी पुरूषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गर्नु भएको थियो । साथै जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा नइबाट उहाँलाई शुभकामना अर्पण गरिएको थियो ।

समारोहमा वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले दुई लाख रुपिया राशि र ताम्रपत्र सहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ सुप्रसिद्ध साहित्यकारद्वय भारतका १०१ वर्षीय हाइमनदास राई किरात र ८६ वर्षीय डा.लक्खीदेवी सुन्दासलाई समर्पण गर्नुभयो ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याएबापत किरात र सुन्दासलाई सो पुरस्कार समर्पण गरिएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।
त्यसै गरी सनातन हिन्दूधर्म, संस्कृतिको संवद्र्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिएको छ ।

नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका निम्ति चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण भएको छ ।

त्यसै गरी नेपाली भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति प्रा.डा.चूडामणि बन्धुलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ ।

नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिएको छ ।

नेपालबाहिर रहेर नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरियो । यो पुरस्कार विदेशमा बसेर नेपाली साहित्यको सेवा गर्ने नेपाली–गोर्खाली मूलका स्रष्टालाई मात्र प्रदान गरिन्छ ।

साढे सात दशकअघिदेखि चित्रकलामा अविछिन्न समर्पित रहँदै नेपालमा पहिलोपल्ट एकल चित्रकला समेत प्रदशर्नी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिएको छ ।

काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने स्याङ्जाका श्री देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गरिएको छ । यो पुरस्कार राजधानी बाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने स्रष्टालाई मात्र प्रदान गरिन्छ ।
यी सातैैवटा पुरस्कार ताम्रपत्र सहित जनही एकएक लाख रूपियाँ राशिका रहेका छन् ।

समारोहमा ताम्रपत्र सहित ३ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो ।
नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्यविज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदानका निम्ति प्रा.डा.महेश खकुरेललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरियो ।

त्यसै गरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई देशदेशान्तरमा नेपाली भाषा र साहित्यको गरिमा बढाएबापत श्री मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गरिएको थियो ।

उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहँदै पुर्याएको विशिष्ट योगदानका निम्ति नेपालगञ्जकी श्रीमती किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । यो पुरस्कार राजधानी बाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने नारी स्रष्टालाई मात्र प्रदान गरिन्छ ।

नइ प्रकाशनले आआफ्नो अध्ययनमा संलग्न भई विविध वाङ्मयिक गतिविधिमा समर्पित १५ बर्ष सम्मका ५ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशि सहित ‘नइ बाल पुरस्कार’ समर्पण गरेको छ ।
यसरी पुरस्कृत हुनुहुनेहरू बहुआयामिकतर्फ जेनी मानन्धर, साहित्यतर्फ प्रारम्भ अधिकारी, चित्रकलातर्फ विमल शाही, नृत्यतर्फ पालिस्था नापित र खेलकुदतर्फ निशान पन्थी रहेका छन् ।

१० वर्ष उमेर समूहका गायनमा हिमानी प्रधान र नृत्यमा अपेक्षा शेरचनलाई ताम्रपत्रका साथ जनही ७ हजार रूपियाँ राशि सहित ‘नइ कोपिला पुरस्कार’ समर्पण गरियो ।

त्यसै गरेर ३ वर्र्षीय स्वकिृति दाहाललाई ताम्रपत्रका साथ ५ हजार रूपियाँ राशि सहित ‘नइ चिचिला पुरस्कार’ समर्पण गरिएको छ ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, प्रा.डा.चूडामणि बन्धु र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

समारोहमा पुरस्कृतहरूलाई नइ प्रकाशनका कार्यक्रम संयोजक श्रीमती भगवती बस्नेतले नइ प्रकाशनको प्रतीक चिन्ह समर्पण गर्नुभयो ।
समारोहमा इन्दिरा प्रसाईबाट कविता वाचन गरिएको यियो भने पुरस्कृत बालबालिकाद्वारा नृत्य र गायन प्रस्तुत गरिएको थियो ।
उक्त कुरा नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेषित प्रेस विज्ञप्तिमा जनाईएको छ ।

 

प्रतिक्रिया