राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट र चिकित्सकको माग

इनेप्लिज २०७६ वैशाख २५ गते ११:१३ मा प्रकाशित

काठमाडौ, वैशाख २५ गते ।  राष्ट्रियसभाका सांसदले आवश्यक बजेट र चिकित्सकको व्यवस्था गरी राप्ती अस्पताल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद अनिता देवकोटाले रुकुम, रोल्पा, सल्यान, दाङलगायत जिल्लाका जनताको उपचार हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आवश्यक बजेट माग गर्नुभयो ।

सांसद कोमल ओलीले चिकित्सक र बजेटको अभावमा राप्ती अस्पताल सञ्चालनमा समस्या देखिएको बताउँदै त्यहाँका जनताको उपचार गर्ने वातावरण तत्काल बनाइनुपर्नेमा जोड दिनुभयो ।

सांसद कविता बोगटीले हुम्ला जिल्लाका साथै कर्णाली प्रदेशमा कर्मचारी अभावले जनताको दैनिक काममा अवरोध भइरहेको उल्लेख गर्दै आवश्यक कर्मचारी तत्काल व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद खिमकुमार विश्वकर्माले समाजमा पिछडिएर रहेको दलितको बारेमा गृहमन्त्रीले दिनुभएको आश्वासन पूरा नभएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयमा दलितको मुद्दा हेर्ने कक्षको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले फूलचोकी मिडियाले अश्लिल सामग्री प्रकाशन गरेर बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पारेकाले त्यसलाई खारेज गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले शिक्षामा देखिएको बेथिति र चर्को शुल्क कम गराउनुपर्ने बताउनुभयो । सांसद तारादेवी भट्टले महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु के के विषयको हो, त्यो सार्वजनिक गरी फछ्र्योट गराउन माग गर्नुभयो ।

तीन विधेयक पेश

राष्ट्रिय सभाको आजको बैठकमा “सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५” पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सो विधेयक पेश गर्नुभएको हो ।

त्यसैगरी मन्त्री पोखरेलले “शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” पेश गर्नुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५” सभा समक्ष पेश गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २७ गते १ बजे बस्नेछ ।

प्रतिक्रिया