‘गणतन्त्र’ जनताको दिवस : प्रम

इनेप्लिज २०७६ वैशाख २४ गते ११:३२ मा प्रकाशित

काठमाडौंँ, वैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँ लामोे सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई सरकारीस्तरमा मात्र नभई जनताको तहमा व्यापक जनसहभागितामा मनाउनु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रको वास्तविक स्वरुप गणतन्त्र भएकाले घरघरमा गणतन्त्र दिवस मनाउने गरी तयारी गर्न मातहत निकायलाई निर्देशन दिनुभयो । उहाँले गृह मन्त्रालयमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै सो विचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो जनताको दिवस हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ ।”
उहाँले एउटा आन्दोलन वा एक पटकको सङ्घर्षबाट नभई पटक पटकको सङ्घर्ष र बलिदानीबाट गणतन्त्र प्राप्त भएको चर्चा गर्दै जनताको अपनत्व हुनेगरी दिवसलाई मनाइनु पर्नेमा जोड दिनुभयो ।
बैठकले जेठ १४, १५ र १६ गरी तीन दिन विविध कार्यक्रमसहित गणतन्त्र दिवस–२०७६ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित गणतन्त्र दिवस मूल समारोह समितिमा प्रधान न्यायाधीश, प्रतिनिधिसभा र राष्ट्रियसभामा सभामुखलगायत नगरपालिकाका प्रमुखहरू समेत सदस्य रहनुभएको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचार प्रसार उप–समिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उप–समिति र काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयोजकत्वमा ग्राउण्ड, कवाज, ब्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ । जेठ १५ गते सैनिक मञ्चमा हुने गणतन्त्र दिवसको मूल कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थिति हुनुहुने जानकारी दिइएको छ ।

प्रतिक्रिया