नीति तथा कार्यक्रम बहुमतले पारित

इनेप्लिज २०७६ वैशाख २४ गते ११:२५ मा प्रकाशित

काठमाडौँ,  वैशाख २४ गते । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

तुइन विस्थापन हुँदै

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताउनुभयो । आव २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासामा आफूले दिएको जवाफबारे सांसदले राखेका थप जिज्ञाशाको सम्बोधन गर्दै उहाँले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “दार्चुलाका धौलाकोटलगायत स्थानमा तुइन विस्थापन भई झोलुङ्गे पुल बनेका छन्, सुर्केगाडमा पक्की पुल निर्माण भइरहेको छ, थप चार झोलुङ्गे पुल बोलपत्र आह्वान गरी निर्माण भइरहेका छन् ।” सशस्त्र द्वन्द्वका घाउ अन्त्य गर्नेतर्फ सरकार सचेत रहेको प्रष्ट पार्दै प्रधानमन्त्रीले द्वन्द्वमा परी घाइते भएका व्यक्तिको उपचार गर्ने र उनीहरुको सहज जिवनयापनका लागि सरकारको ध्यान गएको बताउनुभयो ।

गरीब घरपरिवारको व्यवस्थापन गर्न सरकार क्रियाशील ढङ्गबाट अघि बढेको बताउँदै उहाँले अहिलेसम्म गरीबका लागि आठ हजार आवास निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले राष्ट्रिय मानवअधिकार आयोग आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको प्रष्ट पार्नुभयो ।

त्यसअघि सांसदले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासाको प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पुनः प्रतिप्रश्न गरेका थिए । प्रधानमन्त्रीले सांसदले उठाएको प्रतिप्रश्नको जवाफ दिने क्रममा प्रतिपक्षी काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटक पटक सांसदलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

सभामुखको आग्रह अटेर गर्दै विपक्षी सांसदले उभिएर विरोध गरेपछि प्रधानमन्त्रीले प्रश्न गर्ने सांसद्को अधिकारको विषय भएको उल्लेख गर्दै मर्यादित ढङ्गबाट प्रश्न गर्न पाइने बताउनुभयो । उहाँले भन्नुभयो, “अमर्यादित शब्द बोल्न पाइँदैन, प्रश्नको सीमा र मर्यादा हुनुपर्छ ।” काङ्ग्रेसका सांसदको विरोध बढ्दै गएपछि प्रधानमन्त्रीले पुनः भन्नुभयो, “प्रश्नको जवाफ चाहिएको छ कि छैन ? म यहाँ जवाफ दिन उभिएको हो ?” प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २७ गते बिहान ११ः ०० बजे बस्नेछ ।

राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो
सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् ।

राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका सांसद कालीबहादुर मल्लले नीति तथा कार्यक्रमको समर्थन गर्दै समेटिएका विषयवस्तुले जनतामा आशा जगाएको उल्लेख गर्नुभयो । उहाँले सरकारको पहिलो वर्ष आधार वर्षमा कानून निर्माणको प्रक्रियाले गर्दा कतिपय कार्यक्रमको प्रभावारी कार्यान्वयनमा केही सुस्तता देखिएपनि अबका दिनमा गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद दीनानाथ शर्माले नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति प्रतिबद्ध, राष्ट्रिय हितको संरक्षण, सङ्घीयताको कार्यान्वय, मौलिक हक र मानवअधिकारको सुनिश्चिता तथा सन्तुलित विकासजस्ता विषयलाई समेटेको बताउँदै यसले सरकारले अघिसारेका ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सार्थक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपाकै सांसद दीलकुमारी थापा (पार्वती) ले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी लोककल्याणकारी राज्यको सिद्धान्तमा आधारित छ भन्दै विकास र समृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपक्षीले यसको कार्यान्वयनका लागि जिम्मेवार भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु सुमनराज प्याकुरेल, जीवन बुढा, बलरामप्रसाद बाँस्कोटा, खगेन्द्रप्रसाद पुरी, कमलाकुमारी ओली, शेरबहादुर कुँवरलगायतले जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै, सांसद चन्द्रबहादुर खड्का, विमला राई पौडेल र सिंहबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले सुशासन, पूँजीगत खर्च बढाउने र योजनाको कार्यान्वयन गराउने प्रतिबद्धता जनाएकाले यसले सन्तुलित विकासलाई अङ्गीकार गरेको उल्लेख गर्नुभयो ।

बैठकमा नेपाली काङ्ग्रेसका सांसद सरिता प्रसाईंले नीति तथा कार्यक्रमले जनताको अपेक्षित विषयलाई प्रभावकारी रुपमा समेट्न नसकेको धारणा राख्नुभयो । उहाँले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु राम्रा भए पनि त्यस्ता योजना तथा कार्यक्रम विस्तृतरुपमा आउन नसकेको बताउनुभयो ।

काङ्ग्रेसकै सांसद धनकुमारी खतिवडाले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु नारालाई कार्यान्वयन गर्नसके मुलुकले कोल्टे फर्ने भन्दै छुटेका विषयलाई परिस्कृत गरेर समेटिनुपर्नेमा जोडदिनुभयो । सांसद विन्दादेवी आलेले नीति तथा कार्यक्रमले नयाँ कार्यक्रम समेट्न नसकेको तथा विकास र समृद्धिका कतिपय विषयलाई हचुवाको भरमा प्रस्तुत गरिएको आरोप लगाउनुभयो ।

सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रमले सत्ता र प्रतिपक्ष नभई मुलुकको हितमा काम गर्ने भएकाले वाद प्रतिवाद नगरीकन छुटेका विषयलाई समेटेर अघि बढन्नुपर्नेमा जोड दिनुभयो ।

सांसद जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई जुहारीको थलो बनाउन नहुने भन्दै नीति तथा कार्यक्रमका अपुग भएका विषयलाई समेटेर कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया