गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप हो : प्रधानमन्त्री ओली

इनेप्लिज २०७६ वैशाख २३ गते १२:२३ मा प्रकाशित

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवस बनाउनु पर्ने बताए ।

‘यस दिवसलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘यो जनताको दिवस हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघिदेखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए । ‘कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन’, उनले भने, ‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो ।’

गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई विस्थापित गरेको ओलीले बताए । कुनै बेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको बताए ।

‘कुनै बेला लिगलिग कोटको राजा हुनपनि दौडमा जित्नु पर्थ्यो । यो कुराले त्यसबेला जन्मसिद्ध श्रेष्ठता थिएन भन्ने पुष्टि गर्छ’, ओलीले भनेन, ‘पछिका शासकमा जन्मसिद्ध श्रेष्ठता स्थापित गरेर जनताको अवमूल्यन गरे । गणतन्त्रले त्यस मान्यतालाई बिस्थापित गर्यो ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटोतर्फ लैजाने गरी बहस हुनु पर्ने बताए ।

प्रतिक्रिया