२० बैशाख, कुश्मा: कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी नामाकरण गरिनेछ भने अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिनेछ ।
वृक्षारोपणको अत्यन्तै आकर्षक र धार्मिक एबं सांस्कृतिक महत्वको पाटो कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा तयार गरिने “ॐ पार्क” हुनेछ । सो पार्क १०८ पिपलको विरुवा ॐ आकारमा लगाइनेछ । प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गरिनेछ र प्रत्येक चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुवो र शालिग्रामलाई ब्यबस्थित गरिनेछ । सो पार्कभित्रै तयार गरिने पोखरीको वीचमा वुद्धको मूर्ति राखिनेछ । पार्कभित्र पिकनिकस्थलको पनि ब्यबस्था गरिनेछ ।
पिपलको बोटमुनि वुद्धले ध्यान गरेर ज्ञान प्राप्त गर्नु भएकोले पिपललाई पूजा गर्ने गरिन्छ भने आधुनिक बिज्ञानले पिपलले सबैभन्दा धेरै अक्सिजन छाड्ने विरुवाको रुपमा लिने गरिएकोले यस्को धार्मिक र बैज्ञानिक दुबै दृष्टिकोणले ठूलो महत्व छ । १०८ लाई हिन्दू, बुद्धिस्ट र योगा परंपरामा ठूलो महत्व दिइने भएकोले यसरी १०८ पिपलको बोटयुक्त ॐ पार्क निर्माण गरिने अबधारणालाई अगाडि बढाइएको हो र यो अबधारणालाई मूर्त रुप दिन नेतृत्वदायी भूमिका निर्बाह गर्नुहुनेछ कुश्मा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष सुभाश चन्द्र पौडेलले ।
ॐ पार्क कुश्मा पुग्नु अगावै मुस्ताङ जाने राजामार्गसंग नै जोडिने भएकोले पार्कलाई राजामार्गबाट नै देख्न सकिनेछ । स्थलगत निरीक्षणपस्चात ॐ पार्कको अबधारणालाई मूर्त रुप दिसकेपछि यस्लाई ध्यानकेन्द्र बनाइने उपयुक्त बातावरण भएकोले त्यसतर्फ पनि योजना बनाइनुपर्ने बिषयमा लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ र वडा अध्यक्ष सुभाश चन्द्र पौडेलको बीच छलफल भएको छ ।
वडा नम्बर ८ को बिष्णु बाटिका आस्वस्थ मुक्ति मार्गमा बातावरण दिवसका दिन वृक्षारोपण गरिनेछ र यस्का लागि वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार क्षेत्रीले नेतृत्वदायी भूमिका निर्बाह गर्नुहुनेछ ।
यो वृक्षारोपण कार्यक्रम यो वुद्ध जयन्ती अबधिभरीमा अन्य वडाहरुमा पनि बिस्तार हुन सक्नेछ ।
बैठकमा लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी, वडा ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १४ का अध्यक्षहरु क्रमश: तेज प्रशाद पाध्या, मीना कुमारी कर्माचार्य, चित्रकला भारती शर्मा, रुद्र गिरी, सुवास चन्द्र पौडेल, राजकुमार क्षेत्री, कृष्ण प्रशाद लामिछाने, शिव प्रशाद पौडेल, राजेन्द्र पौडेल र भीम प्रशाद गुरुङ आदिको उपस्थिति थियो ।
नोट: आगामी बर्ष कतिऔं वुद्ध जयन्ती?: वुद्ध जयन्तीको समयमा कतिऔं वुद्ध जयन्ती भन्ने सन्दर्भमा हामी एकै बर्षमा तीन फरक फरक संख्या देख्ने गर्छौं र आगामी बर्ष २५६३, २६०८ र २६४३ औं संख्याहरु देख्न सक्छौं । पहिलो बुद्धको महापरिनिर्माण, दोश्रो वुद्धत्व प्राप्ती र तेश्रो जन्मसंग सम्बन्धित छन । त्यसैले यी सबै संख्या सही छन, केबल आधार के भन्ने मात्रै फरक हो । वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले हालमा वुद्धको जन्म नेपाल भएका कारण वुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ, जबकि पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गर्थे । अत: आगामी बर्ष २६४३ औं वुद्ध जयन्ती मनाउनु सान्दर्भिक हुन्छ । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही हो । पोस्टरबाट यो स्पस्ट हुन्छ र यही भ्रम नहोस भन्नाका खातिर हामीले बिगत केही बर्षदेखि यो किसिमको पोस्टर पोस्टिङ् गर्न शुरु गरेका हौं । र पोस्टर जानकारीको लागि संलग्न छ ।
प्रतिक्रिया