के हो त आधुनिकरण?

इनेप्लिज २०७६ वैशाख ७ गते १७:३० मा प्रकाशित

We can change the world and make it a better place. It is in your hands to make a difference.

– Nelson Mandela.

आधुनिकरण भन्ने बित्तिकै धेरैको दिमागले एउटा चित्र कोर्छ, पाश्चात्य फेसन, रंगीचंगी श्रींगार, जिन्स पाइन्ट, जुत्ता आदिइत्यादि तर आधुनिकरणको जुन परिभाषा आममानिसको दिमागमा कोरिएको छ जुन एकदममा गलत छ। यही गलत परिभाषाका कारण समाजमा आधुनिकरणप्रति तिक्तता पैदा भएको छ। बुबाआमाको पुस्ताले छोराछोरीको पुस्तामा सिर्फ दोष देख्नुको मुख्य आधार पनि आधुनिकतरणको गलत व्याख्या नै हो।

समाजशास्त्रको हिसाबले आधुनिकरणलाई परिभाषित गर्ने हो भने, आधुनिकरण भनेको परम्परागत, ग्रामीण समाजलाई शहरीकरण र औधोगिक समाजमा रुपान्तर गर्नु भन्ने बुझिन्छ। औधोगिक समाज नै आधुनिक समाज हो, त्यसैले समाजलाई आधुनिकीकरण गर्न सबभन्दा पहिले समाजलाई औधोगिकीरण गर्नु जरुरी देखिन्छ। आधुनिकीकरण एउटा निरन्तर र खुल्ला प्रक्रिया हो। यसबाट व्यक्ति र राष्ट्रको आर्थिकवृद्धी हुन्छ।

आधुनिकरणको मापन मुख्यत आर्थिक वृद्घीदर, शहरीकरणको वृद्धीदर, टेक्नोलोजीको विकास र धर्मनिरपेक्षताको आधारमा गरिन्छ।

आधुनिकरणमा समाजको समस्या:

आधुनिकरणमा हाम्रो जस्तो समाजको गुनासो हुनुको मुख्य जड परिवर्तनलाई आत्मसात गर्न नसक्नु र समय सापेक्षिक नहुनु हो। आधुनिकरणको गलत व्याख्या वा आधुनिकरणलाई पाश्चात्यकरणरुपमा परिभाषित गरिनु हो।

विश्वव्यापीकरणलाई आधुनिकीकरणसंग जोड्न भने सकिन्छ किनकी इन्टरनेटको पहुँच र प्रभावले सारा ब्रह्माण्डलाई नै एउटा सानो गाउंकोरुपमा विकसित गरिदिएको छ । विश्वव्यापीकरणले आर्थिक, राजनैतिक र सामाजिक संस्कृतिको एक किसिमले एकीकरण गरिदिएको छ र यसको प्रभाव पनि विश्वव्यापीरुपमा पर्ने गरेकोछ।

आजभोली हरेक आमाबाबु, शिक्षकशिक्षिका साराले गर्ने गुनासो हो नया पुस्ता बिग्रिए, सारा समय मोबाइल फोन चलाएर बिताउछन, घरबाट बाहिर निस्कदैनन्, प्लेस्टेशन वा मोबाइल गेम खेलेर समय खेर फाल्छन् आदिइत्यादि, हाम्रो पालोमा यस्तो थियो हाम्रो पालामा उस्तो थियो। त्यो भन्दा पनि रोचक आक्षेप हो “अहिलेका केटाकेटी आक्रामक र रिसाहा हुदै गएकाले अपराधिक गतिविधि बढ्दै गएको हो”। जतिबेला मानिसका हातमा न त स्मार्ट फोन थियो न त भिडीयो गेमको असर, त्यो बेलामा पहिलो र दोश्रो विश्व युद्धले संसार तहसनहस हुने स्थितिमा पुगेको नै थियो। इन्टरनेटले मान्छेलाई आक्रामक बनाउछ भनेर तर्क गर्नेहरुले यो पनि जवाफ दिन सक्नुपर्यो नि हाम्रा बाजेबराजुहरु किन त्यति धेरै आक्रामक थिए? विश्वयुद्ध गर्ने गराउने र लड्ने त त्यही पुस्ता थियो।

संसारमा परिवर्तन द्रृत गतिमा भइरहेकोछ र परिवर्तन हाम्रै जीवनशैलीलाई सहज र आरामदायक बनाउनकै लागी भइरहेकोछ। हरेक सिक्काको दुईपाटो हुन्छ त्यसै गरी जहां फाइदा हुन्छ, त्यहा बेफाइदाको जोखिम उठाउने हिम्मत पनि हुनुपर्छ।

गुनासो गरेर वा नकारात्मक उर्जा पैदा गरेर समाज भाडिन्छ मात्रै। समयले ल्याएको परिवर्तन त भएरै छोड्छ।

नेल्सन मण्डेलाले भनेजस्तै, हामी संसारलाई परिवर्तन गर्न सक्छौ र बस्नको लागी सुन्दर ठाऊ बनाउन सक्छौ। नौलो परिवर्तन गर्ने जिम्मा हाम्रै हातमा छ।

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया