भिजन २०२० लाई लक्षित गर्दै ‘सम्पदा मार्ग’को गुरुयोजना सार्वजनिक

इनेप्लिज २०७६ वैशाख ५ गते १२:०४ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेका दुई सम्पदा हनुमानढोका दरबार क्षेत्र र स्वयम्भु स्तुपा जोड्ने ‘सम्पदा मार्ग’को गुरुयोजना तयार पारेको छ ।

विश्व सम्पदा दिवसको अवसर पारेर बिहीबार हनुमानढोका दरबार क्षेत्रमा गुरु योजना सम्वन्धी पुस्तिका सार्वजनिक गर्दै महानगरपालिकाले ‘सम्पदा मार्ग’को गुरुयोजना तयार भएको जानकारी दिएको हो । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा मनाउने यो दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले तयार पारेको गुरुयोजना सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले पर्यटन वर्ष २०२० लाई लक्षित गरी ‘सम्पदा मार्ग’को गुरुयोजना तयार पारेको जानकारी दिए । ‘काठमाडौँ महानगरपालिका सम्पदा नै सम्पदाको शहर हो,’ उनले भने, ‘अहिले पनि कतिपय मूर्त सम्पदाहरु ओझेलमा परेका छन् । यी सम्पदाको संरक्षण गर्दै आन्तरिक र बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने उदेश्यसहित हामी अघि बढेका छौँ । यो गुरुयोजना त्यसैको सुरुवात हो ।’

मेयर शाक्यले काठमाडौँ महानगरपालिकालाई साँस्कृतिक शहरको परिचय दिइ राख्न यस्ता सम्पदाको संरक्षण र जर्गेना पनि आवश्यक भएको बताए । ‘दुई सम्पदा जोड्ने यो सबै भन्दा छोटो दुरीको पदमार्गको गुरुयोजना तयार भएको छ,’ उनले भने, ‘अब हामी स्थानीयहरुसँग पनि छलफल गरेर यो पदमार्ग भित्र रहेका थुप्रै कलात्मक एवं ऐतिहासिुक महत्व बोकेका मन्दिर, चैत्य, ढुंगेधारा, सत्तल, पाटीको पनि संरक्षण गर्दै आकर्षित पदमार्गका रुपमा विकास गर्नेछौँ ।’

गुरुयोजना तयार पार्दा नै स्थानीय, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार, केन्द्र सरकार र त्यो क्षेत्रका विभिन्न संघ–संस्था गुठीसँग पनि छलफल गरेको भन्दै मेयर शाक्यले योजना अघि बढाउन सबैको सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको पनि प्रष्ट पारे ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सातौँ शताब्दीदेखिको इतिहास पदमार्गमा रहेको भन्दै यसले काठमाडौँ शहरको परिचय दिनेमा आफू विस्वस्त रहेको बताए । उनले पनि सम्पदा बचाउने अभियानमा मेयर शाक्य लागेको भन्दै त्यसमा आफ्नो पनि साथ रहेको बताए ।

उनले अहिले पदमार्गमा आधुनिक शैलीका घरहरु बनेको भन्दै ती घरहरुलाई परम्परागत शैलीमा निर्माण गर्ने र पदमार्गलाई आकर्षक पदमार्गका रुपमा विकास गर्ने जानकारी दिए । पदमार्गमा काठमाडौँ महानगरपालिकाका १५, १८, १९, २०, २३ र २४ वडा रहेका छन् । दुई दशमलब दुई किलोमिटर दुरीको यो पदमार्गको मुख्यमुख्य स्थानमा पाटी, हिटी, अमूर्त साँस्कृतिक सम्पदाहरु, पार्क तथा खुला क्षेत्र र चौताराहरु रहेका छन् ।

ती सबैलाई परम्परागत शैलीमा विकास गर्ने गुरुयोजनामा समेटिएको छ । महानगरपालिकाले यो सँगै पशुपति विकास क्षेत्र र बौद्धलाई पनि यस्तै पदमार्गका रुपमा विकास गर्ने योजना बनाएको छ ।

काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदाहरू अवलोकन गर्न सकिने छ । महानगरपालिकाले ती सम्पदाहरू पहिचान गर्न विभिन्न संकेत चिन्हहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँ ठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ ।

यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराहरूको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिने छ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।

प्रतिक्रिया