चलचित्र पत्रकार संघ नेपालको वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनमा शोक विज्ञप्ति

इनेप्लिज २०७६ वैशाख ४ गते २१:३४ मा प्रकाशित

रंग पत्रकारका अभिभावक तथा कामना न्यूज पब्लिकेसन्स प्रा. लि. का प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा आज विहान ११ः५९ बजे उपचारको क्रममा निधन भएको दुःखद खवरले चलचित्र पत्रकार संघ नेपाल स्तब्ध र दुःखी भएको छ । श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

विक्रम सम्वत २०१६ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठ कामना ग्रुप अफ पब्लिकेसन्स, नेपाल मिडिया सोसाइटी, इन्टरनेसलन प्रेस इन्ष्टिच्यूट अन्तर्गत नेपाल नेसनल कमिटीलगायतका संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । नेपालमा रंग पत्रकारितको सुरुवात उहाँले कामना मासिक मार्फत गर्नुभएको थियो । संचार क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुको जिम्मेवारी सम्हाल्नु भएका उहाँ लामो समयदेखि नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक हुनुहुन्थ्यो ।

श्रेष्ठको निधनले नेपाली रंग पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहनेछ । चलचित्र पत्रकार संघ नेपाल स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

समीर बलामी
सचिव

प्रतिक्रिया