‘सोध्न तिमी आफैँसँग…’ (भिडियोसहित)

इनेप्लिज २०७६ वैशाख ४ गते १०:५६ मा प्रकाशित

डा. डीआर उपाध्यायको नया गीत ‘सोध्न तिमी आफैँसँग…’ सार्वजनिक भएको छ । बुलु मुकारुङको सङ्गीत उदय सोताङको स्वर, नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको पनि प्रमाणपत्र प्रदान गरिएको छ  ।

डी. आरको उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही महिना अघि राष्ट्रिय नाचघर, जमलमा गरिएको थियो  ।एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातिप्राप्त सबै गायक–गायिकाहरुको स्वर रहेको छ ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो । ती कृतिहरुको लोकार्पण नेपाल बाहिर सिक्किममा समेत गरिएको थियो ।

प्रतिक्रिया