पत्रकार एवं महिला सगरमाथा आरोही कल्पना महर्जन सगरमाथा पुन आरोहणका लागि चीनको ल्हासातर्फ प्रस्थान

इनेप्लिज २०७५ चैत ३० गते ०:१७ मा प्रकाशित

शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार एवं महिला सगरमाथा आरोही कल्पना महर्जन विश्वको सर्वोच्च शिखर सगरमाथा पुन आरोहणका लागि चीनको ल्हासातर्फ प्रस्थान गरेकी छन् ।

ललितपुर उद्योग बाणिज्य संघद्वारा आयोजित विशेष समारोहमा नेपालका उपराष्टपति नन्दबहादुर पुनले खादा ओढाएर महर्जनलाई सफल आरोहणको शुभकामना दिनुभयो । एकअर्को समारोहको आयोजना गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छासहित खादा ओढाएर सफल आरोहणका लागि शुभकमना दिनुभयो ।

सो अवसरमा पर्वतारोहण व्यवस्थापन कम्पनी एक्सपेरियन्स् आउटडोर नेपाल प्रालिका प्रबन्धनिर्देशक रविन्द्र महर्जनले शिखर आरोहणका लागि कल्पना महर्जनले यसपटक गरिरहनु भएको तयारी, व्यवस्थापन र योजना बारे विस्तृत जानकारी दिनुभएको थियो ।

ललितपुर महानगरपालिका स्थापनाको १०० औं वर्षगाँठ र वाङमय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउने योजना रहेको छ ।

कल्पनाले गर्ने सफल शिखर आरोहणका लागि ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघ, यूनाईटेड सिमेन्ट, मैजान तेल, श्री दक्षिण बाराही इटा उद्योग, बुद्ध एयर, एभरेष्ट फेशन, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, आईआईएमएस कलेज, इमाडोल स्वीमिङ पुल, डिस होम, एभरेष्ट हार्डवयरलगायतका संघ, संस्थाहरुको आर्थिक सहयोग रहेको छ ।

आरोही महर्जनले सन् २०१८ को मे २३ तारिखका दिन नेपाल तर्फको दक्षिण मोहोडाबाट सगरमाथा शिखरको सफल आरोहण गरेकी थिइन । महर्जनको यो आरोहण सफल हुँदा उनी सगरमाथाको दुवै मोहोडाबाट शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको किर्तीमान स्थापित हुनेछ ।

रविन्द महर्जन
प्रबन्ध निर्देशक

प्रतिक्रिया