बुधबार, साउन १ २०७६
काठमाडौं ०२:१०
वासिङटन डिसी 16:25

सरोज खनालको अभिनय रहेको “हावाको झोँका “ बजारमा

सर्वज्ञ वाग्ले २०७५ चैत २९ गते २३:४७ मा प्रकाशित

कवि , लेखक , तथा गीतकार विकास थापाको शब्द रचना रहेको आधुनिक गीत “ हावाको झोँका“ नव बर्ष २०७६ को शु-आरम्भ सँगै बजारमा आएको छ । बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको उत्कृष्ट संगीत संयोजन रहेको यस गीतमा बरिष्ठ तथा लोकप्रिय गायक रामकृष्ण ढकालको कर्ण प्रिय स्वर रहेको छ । कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायाँकन पनि हेमप्रभास कै निर्देशनमा तयार भएको हो । भने यस गीतको छायाकार मुकेश हुमागाई हुनुहुन्छ ।

चार मिनेटको छोट्टो समय भित्रमा गीतको भावअनुसार एउटा परिवारिक घटना क्रमलाई सुरुदेखि अन्तसम्म निक्कै यथार्थ परक र कारुणिक ढंगले अहिले हामी बाँचेको समाजको यथार्थलाई जिवन्त तर भिन्न भावमा उतारिएको छ । यस गीतभित्र बाबुको भुमिकामा बरिष्ठ नायक सरोज खनाल , आमाको भुमिकामा कवयित्री रिमा के सी , छोराको भुमिकामा सुजन थापा र छोरिको भुमिकामा सविना आचार्यको उत्कृष्ट अभिनय रहेको छ ।यो गीत छुट्टै पृष्ठभुमिबाट उठेर देश र समाजको लागी शन्देस मुलक पनि बनेको छ ।

एउटा परिवारमा आमाको भुमिका कति महत्वपुर्ण हुन्छ । मातृशोकबाट बालबच्चाको मतिष्कमा कस्तोसम्म नकरात्मक प्रभाव पर्न जान्छ । मातृशोकको पीडालाई भुल्न बालबच्चालाई कति गाह्रो हुन्छ र किशोर भएपछि पनि बच्चाहरू कसरी कुलतमा फस्न पुग्छन् र अन्तमा एउटा बाबुको स्थिति कतिसम्म दयनिय हुन पुग्छ त्यसलाई सजिव ढंगले उतारिएको छ । तसर्थ गीतभित्र मर्मस्पर्शि पारिवारिक कथा र भाव छ । हामीले भोग्दै आएको अहिलेको समाज , नियतिले मानिसलाई दिन सक्ने पीडा , आधुनिकतावादले निचारी रहेको हाम्रो समाजिक पीडा । एउटा सुखी र समृद्ध परिवारले एकाएक सहनु परेको बज्रपात ।

श्रीमतिको मृत्यु शोकमा डुबेको एउटा श्रीमान । आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका आफ्नै छोरा छोरी ।एउटा बाबुले जीवनमा स्वीकार्नु पर्ने बाध्यताहरू । संघर्षशील बाबुका तुषारपात भएका लाखौ सपनाहरू । यो चार मिनेटको गीत भित्र एउटा पुर्ण सिनेमाको कथा बस्तुलाई समेटिएको छ । तसर्थ यो गीत अहिले बजारमा आएका यावत प्रकारका गीत बाट माथि उठी एक शन्देस मुलक पनि बनेको छ ।
एउटा गीत भित्र शब्द , संगीत र स्वरको उच्चतम संयोजन हुनको साथै अहिलेको यूगमा चलदृष्यको पनि उतिकै संयोजन हुन जरुरी छ तव मात्र एउटा गीत पुर्ण बन्छ । यस गीतभित्र शब्द , संगीत र स्वरको त्रिकोणीय सन्तुलन अदभुत रहेको छ भने परिकल्पना , स्क्रिप्ट र छायाँकन पनि निक्कै उत्कृष्ट छ । यो गीत मात्र नभई एक ईश्वरीय भाव पनि अभिब्यक्त छ । यो गीत सुन्दा र हेर्दा मानिसको मतिष्कलाई गीतको गहिराईसम्म सहजै पुर्याउँछ । मेलवा देवी गुरुड्गको “सवारी मेरो रेलैमा “ देखी रामकृष्ण ढकालको यो युगसम्म आईपुग्दा नेपाली गीत सँगीतले धेरै आरोह अवरोहरू पार गरिसकेको छ । बर्तमान समयमा केही सुस्ताऊन पुगेको सुगम गीत सँगीतलाई यस गीतले पक्कै पनि नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने छ । नेपाली सुगम गीत सँगीतको क्षेत्र यस गीतको प्रसिद्धि सँगै फेरी पनि एकपल्ट जुरमुराउने छ ।

प्रतिक्रिया