सरकारले काठमाडौंका लागि ३ सय विद्युतीय बस किन्दै

इनेप्लिज २०७५ चैत २६ गते १२:४४ मा प्रकाशित

काठमाडौं, २६ चैत । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताएका छन् । विद्युतीय यातायात काठमाण्डु र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको जानकारी दिए ।

विश्व हरित वृद्धि संस्था’ (जिजिजिआइ) सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

मन्त्री बस्नतेले सोमबारै नेपालमा जिजिजिआईको कार्यालयको उद्घाटनसमेत गरेका थिए । मन्त्री बस्नेतले जिजिजिआई सहित वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थासँग सहकार्य बढाउन चाहेको उल्लेख गरे । जिजिजिआइसँगको सहकार्य नेपालको वातावरण क्षेत्रमा केही नयाँ कदमको महत्वपूर्ण थालनी भएको उल्लेख गर्दे मन्त्री बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रिक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा वन सचिव डा विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित सहरका क्षेत्रमा जिजिजिआइसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि वातावरण ‘वातावरण स्वच्छ महाअभियान’ अघि बढाएको बताए । जिजिजिआइका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्वन उत्र्सजन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा जिजिजिआइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, साझा यातायात र महालक्ष्मी नगरपालिका प्रतिनिधिबीच विद्युतीय यातायात र हरित सहर प्रवद्र्धन गर्नेसम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । जिजिजिआइ संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मूनको प्रयत्नमा स्थापित अन्तरसरकारी संस्था हो । हालसम्म ३२ देशले यसको सदस्यता लिइसकेका छन् ।

नेपालले विगत दुई वर्षदेखि जिजिजिआइसँग काम गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त संस्थाले हाल काभे्रपलाञ्चोक, भक्तपुर र काठमाण्डुका केही गाउँपालिकामा जलवायु परिवर्तनका लागि उत्थानशीलता हुने गरी योजना प्रक्रियामा सहयोग गर्दे आएको छ ।

यसअघि वन मन्त्रालय र साझा यातायातसँग मिलेर विद्युतीय यातायात सञ्चालन गर्न कार्ययोजना तयार गर्न सहयोग गरेको जिजिजिआइले विद्युतीय यातायातमार्फत हरित अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य राखेको सो संस्थाले जनाएको छ । यसमा जिजिजिआइले प्राविधिक र आर्थिक सहयोग जुटाएको छ ।

हस्ताक्षरपछि साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले जिजिजिआइको प्राविधिक सहयोगले विद्युतीय सवारीको दिगो सञ्चालन गर्न मद्दत पुग्ने बताउँदै यसमा सरोकारावाला सबैको सहयोग आवश्यक रहेको बताए । विद्युतीय सवारी साधन सञ्चालनमा सरकारी प्रतिबद्धता सकारात्मक रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक तुलाधरले यसको दिगो सञ्चालनका लागि सुरुको सञ्चालन खर्च सरकारले गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया