लमजुङमा १२औँ राष्ट्रिय बौद्ध सम्मेलन, आइतबार सकिने

इनेप्लिज २०७५ चैत २४ गते ८:१३ मा प्रकाशित

लमजुङ, २४ चैत । लमजुङ जिल्लाको बेसीशहरमा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन शुरु भएको छ ।

आइतबारसम्म सञ्चालन हुने सम्मेलनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र संस्कृतिले युक्त इन्द्रेणीमय देश भएको बताए ।

मुख्यमन्त्री गुरुङले भने, ‘यी सबैको पहिचानबाट नै नेपालको राष्ट्रियताको जग बलियो हुन्छ । जुन मुलुकमा धार्मिक सहिष्णुता छ त्योे मुलुक धनी छ भन्ने बुझ्नुपर्छ । विगतमा धर्मनिरपेक्ष राष्ट्र रहँदा पनि नेपालमा धार्मिक सहिष्णुताले पूर्ण थियो, यतिबेला धर्म निरपेक्षराष्ट्र भएपछि झनै बल मिलेको छ । शान्ति, सुरक्षा र राष्ट्रियताको पक्षपोषण विकासको पहिलो सर्त हो, त्यसैले भगवान् बुद्धको शान्तिको सन्देश मुलुकको कुनाकुनामा र विश्वभर फैलिन जरुरी छ ।’

विकासको प्रमुख आधार नै शान्ति र सुरक्षित वातावरण भएकाले वौद्ध धर्मका माध्यमबाट त्यस्तो अवस्थाको सिर्जना गर्ने तर्फ लाग्न र संघीय तथा प्रदेश सरकारले लिएको आर्थिक सम्वृद्धि हासिल गर्न सघाउन समेत उनले अनुरोध गरेका छन् ।

सो अवसरमा पुर्वराज्यमन्त्री रामबहादुर गुरुङले जिल्लामा वौद्ध सम्मेलन गरेकोमा खुशी व्यक्त गर्दै यसले जिल्लाको पहिचान र प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले पनि सम्मेलनका सहभागीलाई जिल्लामा स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । धर्मगुरु खाङ्सेर रिम्पोछेले वौद्ध धर्मको अनुशरण गर्दै शान्ति र विकासको बाटोमा हिँड्न सबैमा आग्रह गरे ।

बौद्ध सम्मेलनले जिल्लाको पर्यटन विकासमा थप सहयोग पुग्ने धर्मोदय सभाका केन्द्रीय अध्यक्ष यज्ञमानपति बज्राचार्यले बताए । उनले भने, ‘पहाडी जिल्लामा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय बौद्ध सम्मेलनले धार्मिक पर्यटन अभिवृद्धिका लागी सहयोग पुग्नेछ ।’

धर्मादय सभाको नियमित कार्यक्रम अन्तर्गत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा राष्ट्रिय बौद्ध सम्मेलन गरिंदै आएता पनी लमजुङमा भने यो सम्मेलन पहिलो पटक गरिएकोे आयोजकले जनाएको छ ।

बौद्ध सम्मेलनमा भाग लिन ७७ जिल्लाका बौद्धधर्मवालम्बीहरु लमजुङ आएका छन् । सम्मेलनमा शान्तिपद यात्रा, वुद्धहरुको सरोकार र भूमिकावारे कार्यशाला गोष्ठी, वुद्धको अस्तु धातुको दर्शन, प्रवचन, शान्ति दिप पदयात्रा लगायत विविध साँस्कृतिक कार्यक्रम गरिएको धर्मोदय सभा जिल्ला शाखा लमजुङका सदस्य गम प्रसाद गुरुङले बताए ।

प्रतिक्रिया