बारा र पर्सामा हावाहुरीले बिस्तापित पछि यस्तो छ अवस्था (भिडियो रिपोट)

गोपाल काफ्ले पथरी २०७५ चैत २२ गते ११:०८ मा प्रकाशित

चैत्र १७ गते आएको बिनासकारी हावाहुरीले बारा र पर्साको जन जिवन प्रभाबित बनेको छ । अकल्पनीय हावाहुरीका कारण २९ जनाको मृत्यू भएको छ भने हावाहुरीका कारण धेरै जना घाइते भएका छन् ।

प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा स्थलगत अनुगमन गर्दै पथरी उद्योग बाणिज्य संघले राहत सामाग्री वितरण गरेको छ । पथरीका केहि सस्था पथरी र लेटाङ्गका संचारकर्मीहरु लगायतका संघ संस्थाको सक्रियतामा ३ लाख रुपैयाँ बढिको राहत संकलन गरि वितरण गरिएको छ ।

बारा जिल्ला प्रसासन कार्यलय र कलैया उध्योग बाणिज्य संघको सहयोग लिदै पथरी उध्योग बाणिज्य संघले पिडित स्थानियलाई खाद्यान्न , लत्ताकपडा सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको हो परवानिपुर गाउँपालिका वडा नम्बर ४ मा ५ सय ५० घरधुरी रहेकोमा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन ।

१७ गते साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या घरबार बिहिन भए सँगै दैनिकी कष्टकर बनिरहेको छ । एक द्धार राहत वितरण प्रणाली नएका कारण राहतको कमि महसुस गरेका परवानिपुर ४ का बासिन्दा पथरी उद्योग बाणिज्य संघको राहत सामाग्री देख्नासाथ उत्साहित देखिन्थे ।

सो वडाका दलित पीडितहरुले भने राहत वितरणमा आफुहरुलाई जनप्रतिनिधीले उपेक्षा गरेको गुनासो गरेका छन । आफुहरु दलित भएकै कारण जनप्रतिनिधिहरुद्वारा राहत वितरणमा भेदभाव हुने गरेको एक स्थानियले भने ।

हावाहुरी पिडितको अपेक्षा अनुरुप राहत वितरण हुन नसकेको तर प्राप्त भए अनुसारको राहत वितरणमा भने निश्पक्ष भएको गाँउपालिका अध्यक्ष हरि नारायण शाहले बताए ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार भारतीय मजदूरको मृत्यु भएको छ । हावाहुरीले फेटा गाउँपालिकाको भरवलिया टोलमा विजुलीको पोल ढलेर चार जनाको मृत्यु भएको छ । जिल्लाको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताएका छन ।

हावाहुरिबाट घाईते भएर उपचार गराईरहेका कलैया अस्पतालका ४० घाइतेको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले स्थलगत निरीक्षण गरी घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । साथै उहाँहरुले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

हावाहुरीबाट पर्सामा समेत असर पुर्याएको छ भने हेटौँडाबाट वीरगञ्जतर्फ आइरहेको ना६ख ९३६० नंको बसमा बिजुलीको खम्बा खस्दा वीरगञ्ज महानगरपालिका–१२ का १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो ।

हावा हुरीका कारण बारा पर्साका केहि स्थानमा टेलिफोन लाइन र विजुलीका खम्बा ढल्नुका साथै हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बस्न बाध्य छन ।

प्रतिक्रिया