वोस्टनमा सामुदायिक भवन लिने निर्णय

इनेप्लिज २०७५ चैत २१ गते ३:४३ मा प्रकाशित

वोस्टन, चैत २१ गते । पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंगल्याण्ड (प्याब्फोन) को विशेष साधारण सभाले वोस्टनको वेलेरिका भन्ने स्थानमा बुद्ध स्तूपासहितको मन्दिर निर्माणका लागि भवन लिने प्रक्रिया अगाडि बढाएको छ ।
आइतवार बसेको प्याब्फोनको विशेष साधारण सभाले सो निर्णय गरेको हो । एक हप्ता अघि प्याब्फोनको कार्य समितिको बैठकले सो भवन लिने प्रक्रियालाई अनुमोदन गरेको थियो । सो भवनको बोल कबोलमा प्याब्फोनले २१ लाख डलर आह्वान गरेको थियो । अन्ततः सोही रकम नै अन्तिम भएको थियो । अब सो भवन उपयुक्त हुने वा नहुने भन्ने बारेमा टाउनले खटाएका घरजाँचकीले चेक जाँच गरेपछि अन्तिम रुप लिनेछ ।
वेलेरिकामा अवस्थित दुइ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको भवन भित्र पशुपति र बुद्ध स्तूपासहितको मन्दिर निर्माण गरिनेछ । भवन परिसरमा झण्डै सयवटा सम्म गाडी पार्किङ गर्न सकिने व्यवस्था छ । यो स्थान वोस्टन शहरबाट करिब ३० मिनेट (गाडीमा) दूरीमा छ ।
करिब आठ वर्षअघि स्थापना भएको प्याब्फोनले प्रत्येक वर्ष वोस्टन वरपर दीपावलीको अवसरमा देउसी र भैलो खेलेर रकम संकलन गर्दै आएको थियो । करिब दुइवर्ष अघि सोही प्रयोजनका लागि प्याब्फोनले वाचन प्रवीण पं दिनबन्धु पोखरेललाई वोस्टनमा आमन्त्रण गरी श्रीमद्भागवत महायज्ञको आयोजना गरेको थियो । त्यस अवसरमा दाताहरुबाट करिब १५ लाख डलर दिने वचनवद्धता व्यक्त भएको थियो ।
प्याब्फोनसँग अहिले करिब आठ लाख डलर नगद छ । प्याब्फोनका अध्यक्ष विष्णुमणि आचार्यले बोल कबोल गरेको रकम उठाउन गे्रटर वोस्टन क्षेत्रका विभिन्न स्थानमा कमिटी बनाएर त्यसलाई परिचालन गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले हाल १० लाख डलर डाउनपेमेन्ट गरिने र बाँकी ११ लाख डलर मासिक किस्तावन्दीमा तिर्दै जाने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया