दाङका महरा दम्पत्तिको घर बनाउन शुरु, जुट्यो सहयोग

इनेप्लिज २०७५ चैत २१ गते ३:३३ मा प्रकाशित

घोराही, २१ चैत । दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ सिस्नेरी निवासी वृद्ध दम्पति तीर्थराम महरा र रमाकुमारी महराका लागि घर निर्माण हुने भएको छ ।

जीर्ण टहरामा दिन काट्दै आएका ५६ वर्षीय तीर्थराम र ६४ वर्षीया रमाकुमारीका लागि नयाँ घरको निर्माण काम थालनी भएको हो ।

बैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा बस्दै आएका नेपालीहरूको सहयोगमा दुई कोठे पक्की भवन निर्माण हुन लागेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १२ सिस्नेरीमा निर्माण हुने घरको एक औपचारिक कार्यक्रमका वीच जगको पूजा गरिएको छ ।

वृद्धा रमाकुमारी महरा, घोराही उपमहानगरपालिका वडा नं. १२ का कार्यवाहक अध्यक्ष सुख चौधरी, एओन टेलिभिजनका प्रवन्धक अमृतमान ओली, पत्रकार तथा गीतकार लोकराज अधिकारीले संयुक्त रुपमा जग पूजा गरेका छन् ।

एओन टेलिभिजनको युट्वबाट करीव डेढ महिना पहिला वृद्ध दम्पतिको कष्टर जीवन सम्बन्धी भिडियो सार्वजनिक भएपछि देश–विदेशमा रहेका नेपालीले घरनिर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए ।

सोहीअनुसार करीव डेढ लाख रुपियाँ संकलन भएपछि घर निर्माणको काम शुरु गरिएको एओन टेलिभिजनका प्रवन्धक अमृतमान ओलीले जानकारी दिएका छन् ।

वृद्धवृद्धाको छोराछोरी नभएको र साँझ बिहान दुई छाक खान लाउनलाई समेत समस्या देखेपछि आफूले घर निर्माणको लागि अभियान चलाएको ओलीले बताए ।

पाल्पा जिल्ला निवासी हाल रोजगारीको सिलसिलामा कतारमा रहेका ईश्वर काफ्लेलगायतका विदेशमा रहेका नेपालीसँगै स्वदेशमा रहेका नेपालीको सहयोगमा घरनिर्माण हुन थालेको प्रवन्धक ओलीले जानकारी दिए ।

काफ्ले गीतकार तथा पत्रकार लोकराज अधिकारीमार्फत घर निर्माणसँगै वृद्धवृद्धाको हेरचाह गर्ने जिम्मा लिएका छन् ।

ईश्वर काफ्लेले एक लाख र अन्य विदेशमा बस्ने नेपालीवाट करीव ५० हजार रुपियाँबाट घरनिर्माणको काम शुरु भएको भन्दै प्रवन्धक ओलीले अन्यलाई समेत सहयोग गर्न आग्रह गरे ।

दुई कोठे घर वैशाख महिनासम्म निर्माण गरी सक्ने निर्माण व्यवसायी कमानसिंह ओलीले बताए । घर करीव तीन लाखको लागतमा निर्माण हुनेछ । घरसँगै वृद्धवृद्धाहरूलाई खान, बस्न, कपडालगायतको व्यवस्था गरिनेछ ।

ओलीका अनुसार घर निर्माणका लागि ईश्वर काफ्लेसँगै अहिलेसम्म अम्बिका खनाल पाँच हजार छ सय, मुकेश रिजालबाट तीन हजार दुई सय, कल्या नानुबाट एक हजार पाँच सय, अञ्जु विश्वकर्माबाट १४ हजार ७५ रुपियाँ, सोहन विकबाट एक हजार रुपियाँ, छविलाल मगरबाट ७२ हजार दुई सय ९५ रुपियाँ संकलन भएको छ ।

प्रतिक्रिया