बारामा भीषण आँधी–हुरीको कारण ३० जनाको मृत्यु, ४ सय भन्दा बढी घाइते

इनेप्लिज २०७५ चैत १७ गते २२:४४ मा प्रकाशित

आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ४ सय भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

आइतबार साँझ करीब आठ बजे वीरगञ्जमा हावाहुरी आएको थियो । हावाहुरीका कारण विजुलीका खम्बा ढल्नुका साथै गुडिरहेका ३ दर्जन गाडी पल्टिनुका साथै क्षति पुगेको थियो ।

घाइतेहरुको नेसनल मेडिकल कलेज, नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर र गण्डक अस्पतालमा उपचार भइरहेको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको समाचार रातोपाटीमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको हावा हुरीका कारण ज्यान गुमाएकाहरु प्रति दुःख व्यक्त गरेका छन् । आइतबार साँझ सामाजिक संजाल मार्फत  प्रधानमन्त्री ओलीले ट्विट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तस्बिर :रातोपाटी

प्रतिक्रिया