बुधबार, माघ १२ २०७८
काठमाडौं २३:१२
वासिङटन डिसी 12:27

गण्डकी मेडिकल विवाद : त्रिविका भीसी र डिनको कार्यालयमा विद्यार्थीद्वारा तालाबन्दी

इनेप्लिज २०७५ चैत ५ गते १०:५८ मा प्रकाशित

काठमाडौँ, ५ चैत । गण्डकी मेडिकल कलेजको विवादलाई लिएर त्रिभुवन विश्वविद्यालय र चिकित्सा शिक्षा अध्ययन संस्थानमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालयका उपकुलपति र अध्ययन संस्थानका डिनको कार्यालयमा मंगलबार ताला लगाएका हुन् ।

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुलाई अहिले पनि मुद्दा फिर्ता लिन मनोवैज्ञानिक त्रास, डर र धम्की दिइरहेको सूचना प्राप्त भएको भन्दै संचालकहरुको यस्ता हर्कतप्रति खेद व्यक्त गर्दै विवाद समाधानका लागि दवाव दिन ताला लगाएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

विद्यार्थीहरुको परीक्षा फर्म भर्ने लगायतका अन्य सम्पूर्ण काम अगाडि बढाउन, वैकल्पिक व्यवस्था अविलम्ब मिलाउन शिक्षा मन्त्रालय, विश्वविद्धालय पदाधिकारी र डिन कार्यलयको ध्यानाकर्षण गराएको सचिव लामिछानेले बताए ।

आन्दोलनरत विद्यार्थीहरु कुनै पनि प्रकारका डर, धम्कीबाट बिचलित नभइ आन्दोलन सफलताको चरणमा झन् उचो मनोबल बनाई अगाडि बढ्न विद्यार्थी संगठनहरुले आह्वान गरेका छन् ।

अवैध रुपमा विद्यार्थीबाट बढी शुल्क लिएको आरोप लगाउँदै विद्यार्थीले पाेखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित छन् ।  विद्यार्थीले फागुन २१ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी दर्ता गराएका थिए ।

सरकारले काठमाडौंबाहिरका मेडिकल कलेजका लागि ४२ लाख ४५ हजार र काठमाडौं भित्रका लागि ३८ लाख ५० हजार शुल्क निर्धारण गरेपनि गण्डकी मेडिकल कलेजले बिना रसिद १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क लिएको आरोप छ ।

प्रतिक्रिया