मेरी सहकर्मीकाे जन्माेत्सब

तारा भट्टराई २०७५ चैत ५ गते १०:४६ मा प्रकाशित

 

तारा भट्टराई,दुई बर्ष अगाडीकाे कुराे हाे, एउटी सहकर्मीले आफ्नाे जन्मदिनकाे पार्टिमा आउनका लागि निम्ता गरिन। अर्काे दिन छुट्टि भएकाले मैले हुन्छ भनिदिए । हुन्छ भन्ना साथ उनले म्यानह्याटनकाे एउटा कल्बकाे ठेगाना मेराे हातमा थमाई दिईन । र समय राती साढ़े नाै बजे पछिकाे ताेकि दिईन। मैले हुन्छ त भने तर नयाँ आप्रवासी भएकाले पार्टिमा लगाउने लुगाकाे जाेहाे पनि थिएन र क्लबमा जाँदा कस्ताे गेटअपमा जानुपर्छ भन्ने ज्ञानसमेत म सँग थिएन । हतपत बाथरूममा गएर गुगल सर्च गरे अनि अरु निमन्त्रणाकाे लिस्टमा परेका सहकर्मिहरुलाई पार्टीमा के लुगा लगाउने भन्ने बारेमा जिज्ञासा राखे । सबैले सुन्दर देखिने ड्रेस ख़रीद गरिसकेका रहेछन् । सकेसम्म सबैकाे नजर आफूमाथि नै परोस भन्ने चाहाना सबैकाे देखिन्थ्याे।

केही जाेर जिन्स पाईन्ट र टिसर्टहरु त मेरा पनि थिए तर क्लबमा जाँदा के लगाउने भन्ने आईडिया थिएन। मैले माेटामाेटि आईडिया लिई सकेपछि काम सकिना साथ लुगा किन्न मेसिकाे स्टाेरमा हान्निए । सन १८५८ मा स्थापना भई अमेरिकाभर ७ सय ४० वटा चेन स्टाेर रहेकाे मेसि भन्ने स्टाेरमा घण्टाै सम्म घुमेर Calvin Klein, michael kors,Estee Lauder र Levis लगायतका सबै ब्राण्ड हेरेर फिटिंग रुममा ट्राई गरिसक्दा म निस्सासिनथाले । तर आफुलाई मन परेकाे लुगा धेरै नै महँगाे पर्ने र आफ्नाे बजेटले भ्याउने लुगा कुनै रंग मन नपर्ने त कुनै साईजै नमिल्ने भयाे। फेसन मेरा लागि कहिल्यै रहरकाे बिषय बनेन याे टेन्सन हो । जे भएपनि छानेका केही जाेर लुगा मध्येबाट एउटा किने। यतिले भएन त्याे ड्रेसलाई सुहाउदाे जुत्ता, ब्याग लिपिस्टिक र अत्तर (पर्फ़्यूम) किन्दा करिव ३०० डलर जति खर्च भयाे।

हतार हतार घर गएर ऐनामा अनुहार हेर्दा हप्ता भरिकाे कामले थकित र गलित अनुहार अनि थ्रेडिंग नगरेकाे आँखि भाै र तिलचामल भएकाे कपाल अनि फुस्रा र रुखा हातखुट्टा देखेपछि आफैलाइ डरलाग्दाे अवस्थामा पाएँ र ब्यूटीपार्लर जाने निधाे गरें। Hairy, Scary भन्ने उखान अमेरिकामा नै आएर सुनेकाे शब्दले पनि मलाई झस्कायाे।

अमेरिकामा आईटी ,ब्यूटी र हेल्थ ईन्डस्ट्रिजमा अप्रवासीहरुकाे राम्राे पकड छ। बिशेष गरेर ब्यूटी ईन्डस्ट्रिज ६३ प्रतिशत आप्रवासीहरुले नै चलाएका छन्। अमेरिकन महिला उपभाेक्ताहरु याे क्षेत्रमा नयाँ ब्राण्ड र उत्पादनकाे चक्करमा चालै नपाई चुर्लुम्म डुबिसक्दा पनि थाहा पाउन मुस्क्लि छ। ८० प्रतिशत चाईनिज कस्मेटिक्स बेचिन्छन् । बल्ल तल्ल सस्ताे ठाउँ अनलाईनमा फेला पारेर समय लिए पछि थ्रेडिंग ,वाक्सिंग ,फेसियल, कपालमा कलर ,मेनिक्यूर र पेडिक्याेर गरेकाे १८० डलर तिरेर घर आउँदा रातिकाे साढ़े आठ बजिसकेकाे थियाे।

नयाँ किनेकाे पार्टी पार्टि ड्रेस र जुत्ता लगाएर अनि बडी क्रसब्याग भिरेर म हस्याङ्ग फ़स्याङ्ग गर्दै बाहिर निस्कँदा सवा नाै बजे भईसकेकाे थियाे। राती ट्रेन स्टेशनमा डरमर्दाे हुने र मेराे सेन्स अफ डिरेक्सन एकदम कमजाेर भएकाले गन्तव्यमा समयमा पुग्न नसकुँला भनेर लिफ़्ट मगाएर जाने निधाे गरे । लिफ़्टले २७ डलर तिरेपछि गन्तव्यमा पुर्याई दियाे। पार्टिमा पुग्दा रातकाे १० दश बजिसकेकाे थियाे। पाहुनाहरु कोही आइसकेका थिए र काेहि आउँदै थिए। म भाेक तिर्खा र थकानले लखतरान भै सकेकि थिए

पार्टिमा पुग्नासाथ खाना अर्डर गर्न वेटरले मेनु हातमा थमाईदियाे। म पनि दंग पर्दै आफुलाई मन पर्ने खाना अर्डर गरे । करिब २० मिनेटमा खाना आईपुग्याे।बिहान १० बजे एउटा बर्गर टाेक्न सम्म भ्याएकि म पार्टिमा आफ्नै ईच्छा बमाेजिमकाे खाना खान पाएकाेमा दंग पर्दै खान थाले। सबैले आफुलाई मन लागेकाे खाना अर्डर गरे। रंगिचंगि लाईट, म्यूज़िक ,फेशनदार लुगा र गरगहनामा सजिएका सहकर्मीहरु अनि पर्फ़्यूम काे मगमग बासनाले माहाेल निक्कै रमाईलाे थियाे।

मेरा सहकर्मीहरु प्रायजसाे सिंगल मदर छन्। बच्चाकाे बाबू काे हाे भन्ने कुरामा उनिहरु जहिल्यै कन्फ्यूज नै भैराख्छन् । सम्भवत भन्ने शब्द छुटाउँदैनन्। यहाँ आएपछि मैले भावुकता र प्रेममा दिगाेपनका लागि हिन्दि फ़िल्म नै हेर्नुपर्छ। सबैले आफ्ना बच्चाहरुलाई बेविसिटिंगमा पैसा तिरेर ज़िम्मा लगाएर आएका थिए। अमेरिकामा प्राय: जसाे बाेलाएकाे ठाउँमा बच्चा लिएर जादा रहेनछन्। किनभने बच्चाले राेएर वा केहि डिमाण्ड गरेर अरुकाे ध्यान तानिदेला भन्ने डर हुँदाे रहेछ। चाहे परिवारकै सदस्य किन नहाेस् आफ्नाे कारणले अरुलाई असर पर्लाकि भन्ने कुरामा बढाे सजगता उनिहरु अपनाउँदा रहेछन्।

निक्कै राम्राे माहाेलमा आफ्नै इच्छा अनुसार राेजेर डिनर खाईयाे। मेरा सहकर्मीहरु पनि पार्टिमा अफिसमा जस्ताे निर्दयी र गोल पास गरेझै गरेर म्याच फिक्सिङ गर्ने खालका नभई ज्यादै सुन्दरी देखिन्थे।

हुनपनि अफिसमा आठ घण्टाकाे ड्यूटी अवधिमा धेरै पटक सहकर्मीहरुसँग जम्काभेट हुन्छ र काममा व्यस्त भए जस्ताे देखाउने र अफिसलाई निक्कै ठूलै लाभ हुने काम गरिरहेकाे जस्ताे अभिनय सबैले गर्छन्। सहकर्मीलाई न सहयोग माग्न सकिन्छ वा कसैले सहयाेग नै गर्न तयार हुन्छन्।

सामान्य रुपमा हाई हेल्लाे त भई नै रहन्छ र हाकिमसँगका दर्जनाै असन्तुष्टिहरु सबैसँग हुन्छन् । तर सहकर्मिहरु साथी वा विश्वासका पात्र कहिल्यै नबन्ने भएकाले सुनाउन मिल्दैन। सहकर्मीसँग कुरा गर्दा कन्ट्राेभर्सियल नहुने बिषय जस्तै माैसम वा खाना कसरी पकाएकाे , के के मसला हालेकाे र कति मिठाे थियाे वा फ़िल्म हेरेकाे भए त्याे कथाकाे बिषयमा केन्द्रित रहेर कुरा गर्न मिल्छ। सबै भन्दा बढी पेट्स वा कुकुर बिरालाेकाे वर्णन र भूतपूर्व भए उसैलाई गरेकाे गाली वा प्रशंसा सुनेर नै समय जान्छ।

अफिसकाे ढाेका बाहिर निस्केपछि सहकर्मीहरु भेट हुँदैनन र ढाेकाबाहिर भेंटिएका सहकर्मीहरुलाई उभिएर कता जानलागेकाे वा किन भनेर साेध्न मिल्दैन। उनिहरुकाे बढुवा भएमा कसैलाई हर्ष पनि लाग्दैन र जागिरबाट हटाईएकाे भए बिस्मात पनि कोही हुदैनन्। यहाँ नेपालमा जस्ताे सहकर्मीले सन्त महात्मा जस्ताे अर्ती उपदेश पनि दिंदैनन्।

पार्टीमा पनि दर्जनाैसँग ब्रेकअप भएकाे वा घरमा पालेकाे कुकुर वा विरालीकाे बारेकाे कहिल्यै नसकिने कथाहरु पनि भए। करिब १२ बजे पछि बत्ति मधुराे हुँदै गयाे र हलमा एक्कासि धुवाँ गोलो परेर उडन थाल्याे। कसैले कसैलाई नचिन्ने भयाे। एकपछि अर्का गर्दै मेरा सहकर्मीहरु रक्सीकाे नसासँगै डान्समा चुर्लुम्मै डुब्न थाले। बढिमा दुई गिलास सम्म वाईन खाएर छिट्टै घर फर्कन्छु र थकाई मार्छु भनेकि म पनि माहाेलका कारण त्यहिं रमाउन थालेछु।

यस्तैमा बिहानकाे ३ बजेछ। वेटरले खानाकाे वील ल्याएर सबैका हात हातमा थमाईदियाे । म त जस्ले निम्ता गरेकाे हाे उसैले तिर्ने हाेला भन्ने ठानेकि थिएँ तर हाेईन रहेछ । मनाेरन्जन सँगै गरे पनि आफ्नाे बिल आफैंले तिर्नु पर्दाे रहेछ भन्नेकुरा त्यहिं दिन थाहा पाएँ। मेराे खल्तिमा रहेकाे नगदले नभ्याने गरि ३ सय डलरकाे वील आयाे। धन्न म सँग क्रेडिट कार्ड थियाे र बल्ल तल्ल वील तिरें। मेनेजरले क्लब बन्द गर्नलाई पटक पटक सूचना दिदापनि मेरा सहकर्मीहरु निस्कने अत्ताे पत्ताे गरेका थिएनन्।

उनिहरु मस्त नाचि नै रहेका थिए। ४ बजे भने एक एक गर्दै बाथरूममा छिरेर ऑफ़िसकाे ड्रेस लगाएर डाइरेक्ट काममा जाने तरखर गर्न थाले। सबैले ब्यागमा ड्रेस बाेकेका रहेछन्। मेराे सिटीजन बैंकले दिएकाे नयॉ क्रेडिट कार्डमा रहेकाे जम्मा ८०० डलर सहकर्मीकाे जन्मदिनको पार्टिमा खर्च भईसकेकाे थियाे।

म सँग अब घाेट्नलाई कुनै क्रेडिटै बॉकि थिएन। तर उनलाई जन्मदिनमा दिनुपर्ने उपहार किन्नै छुटेछ र अर्काे दिन दिन्छु है भनेर म ट्रेनमा चढेर घर आएँ। मेराे लागि जिवनकै सबैभन्दा महँगाे पार्टि थियाे त्याे। क्रेडिट चुक्ता गर्न झण्डै ३ महिना लाग्याे।

प्रतिक्रिया