आधुनिक कृषिको लागि कृषकलाई निशुल्क बिजुली

सञ्जय साह मित्र २०७५ चैत ३ गते १४:३९ मा प्रकाशित

रौतहटको कटहरिया नगरपालिकाले आधुनिक र व्यावसायिक खेती गर्ने किसानलाई निशुल्क बिजुली उपलब्ध गराउने भएको छ । नगरपालिकाको दोस्रो नगरसभामा चालू आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तु गर्दै नगर प्रमुख सियाराम कुशवाहाले कृषिमा सिंचाइ गर्न निशुल्क पानी उपलब्ध गराउने उदेश्यसे सबै कृषि मिटरको बिल नगरपालिकाले तिर्ने प्रस्ताव गरेका छन् ।

मेयर कुशवाहाले कृषि उत्पादन बढाउन उन्नत बीउ पनि किसानलाई निशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । छात्रा शिक्षालाई प्रभावकारी बनाउन बजेटमा छात्राहरुलाई निशुल्क सिनेटरी प्याडको व्यवस्था गरिनुका साथै छात्रालाई निशुल्क साइकल वा ल्यापटप प्रदान गरिने कार्यक्रम ल्याएको छ भने छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउँदा सम्मानस्वरुप दुई हजार रुपैया पुरस्कार प्रदान गरिने घोषणा पनि गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष उमेश यादव, ५ का वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ता तथा ६ का वडाध्यक्ष शम्भुकान्त प्रसाद यादवले बहिस्कार गरेको नगरसभामा मेयर कुशवाहाले चालू आवका लागि ४५ करोड ३१ लाख ८५ हजार ६४९ को बजेट प्रस्ताव गरेका छन् ।

नगरले ल्याएको नीति तथा कार्यक्रम प्रशंसायोग्य रहेको बताउँदै नेकपाको प्रदेश २ अध्यष एवम् साँसद प्रभु साहले शिक्षा, स्वास्थ्य, आजीविका तथा विपन्न वर्गको उत्थानको लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । शिक्षाको अभावले समाजको विकास हुन नसकेको बताउँदै साँसद साहले शिक्षालाई सुधार्न नगरपालिकाले विशेष कदम चाल्नुपर्ने स्पष्ट पार्दै शिक्षालाई विकासको मूल आधार बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रदेश साँसदद्वय कुन्दन कुशवाहा र नागेन्द्रप्रसाद यादवले नगरले भौतिक पूर्वाधार तथा जनताको जीवनस्तर उकास्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

नगर प्रमुख कुशवाहा गत वर्ष वैशाखमा जेल परेपछि नगर अस्तव्यस्त भइसकेको थियो । आन्तरिक विवादका कारण नगरस सभा सम्पन्न हुन सकेको थिएन । नगरसभामा तीनवटा वडाध्यक्षले बहिस्कार गर्नुका साथै स्वास्थ्यको समस्या देखाइ नगर उपप्रमुख नूर जहाँ खातुन अनुपस्थित थिइन् । उपप्रमुख खातुन उपचार गराउन जिल्लाबाहिर गएको बताइएको छ ।

समय कम भएकोले सबैलाई एक ठाउँमा ल्याउन नसकिएकोमा दुःख व्यक्त गर्दै नगर प्रमुख कुशवाहाले अझै पनि सबैलाई मिलाउने प्रयास गर्ने बताएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया