चितवन प्रहरीद्धारा एक लाख सात हजार लिटर मदिरा नष्ट

इनेप्लिज २०७५ फागुन ३० गते ११:१३ मा प्रकाशित


चितवन ३० फागुन । चितवनमा प्रहरीले एक लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । अप्रेसन ‘एक टोल एक घण्टा’ अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीको नेतृत्वमा चलाइएको अभियानका क्रममा सो घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

प्रहरीले गत फागुन २३ गते देखि २९ गते सम्म सो सञ्चालन गरेको अभियानका क्रममा पूर्वी चितवनको कालिका,रत्ननगर,खैरहनी र राप्ती नगरपालिका विभिन्न क्षेत्रहरुमा प्रहरीहरु खटिएका थिए । अप्रेसनमा प्रहरी नायव उपरीक्षक ज्ञवाली,इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेब साउद,इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्य, रत्ननगरका प्रहरी निरीक्षक उमेश अमात्य सहित दैनिक ६० जनाको प्रहरीहरु अप्रेसनमा खटिएका थिए ।

भण्डारा अन्तर्गत बरामद गरिएको मदिरा भण्डारामै,खैरहनीमा बरामद गरिएको मदिरा खैरहनीमै र रत्ननगर अन्तर्गत बरामद गरिएको मदिरा विहीवार रत्ननगरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक ज्ञवालीले जानकारी दिए । उनले हाल सम्मकै ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गर्न सफल भएको दावी गरे । प्रहरीको ७ दिने अभियान अन्तर्गत विभिन्न अबैध नदि जन्य पदार्थ ओसार पोसारमा संलग्न ११ वटा ट्रिपर र ट्याक्टरलाई कारबाही गरिएको छ ।


संकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पूर्वी चितवनका विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएकोमा राप्ती नगरपालिका ३ झुरझुरेका किरण गुरुङलाई घरेलु हातहतियार सहित पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक ज्ञवालीले बताए । अभियानकै क्रममा १ सय ४२ वटा सवारी साधनलाई कारबाही गरिएको छ । त्यस्तै क्यारिमबोर्ड र लुडो खेलिरहेकाहरुलाई पनि पहिलो चरणमा सचेत गराइएको छ । ३ सय वटा सवारी साधनका अगाडिको झल्लर र स्टीकर समेत हटाइएको छ ।

अभियानकै क्रममा प्रहरीले सचेतना अभियान समेत सञ्चालन गरेको थियो । स्थानीयले प्रहरी गाउँ गाउँमा निरन्तर अभियान चलाउनु पर्ने,अबैध क्रियाकलाप रोक्न प्रहरीले थप सक्रियता बढाउन सुझाव समेत दिएका थिए ।

प्रहरीले जिल्लामा चलाएको थ्रि–एस अप्रेसन अन्तर्गत पूर्वी चितवन एक हप्ते अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुशीलसिंह राठौरले जानकारी दिए । पूर्वी चितवनमा प्रहरी सहित जिल्लाको समेत प्रहरी टोली सो अभियानमा खटिएको उनले बताए । यस्तै अभियान प्रहरीले निरन्तर जारी राख्ने उनले बताए ।

प्रतिक्रिया