शनिबार, माघ ८ २०७८
काठमाडौं १४:१४
वासिङटन डिसी 03:29

चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्न माग

इनेप्लिज २०७५ फागुन २८ गते १२:५९ मा प्रकाशित

काठमाडौं, २८ फागुन । केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकार्षण गराएको हो ।

संघका केन्द्रिय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयनमा आएमा नेपालका दुई हजाभन्दा बढि सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने चिन्ता व्यक्त गरे । उनले भने, ‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसानहरु पनि ठूलो मारमा पर्छन् । यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गैरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधिकारीले औंल्याए ।

अधिकारीले अहिलेपनि पूर्वाधारको विकास नहुँदा किसानले उत्पादन गरेका कृषिजन्य सामानहरुले सहज बजार नपाएको पनि दुःखेसो पोखे । उनले थपे, ‘अहिले पनि बाटोघाटोको राम्रो सुविधान नहुँदा किसानको वार्षिक ७ लाख मेट्रिक टन दुध खेर गैरहेको छ । स्थानीय तथा प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’

संघका महासचिव चन्द्रमान लामाले विज्ञप्ती वाचन गरेका थिए । जारी विज्ञप्तीमा भनिएको छ, ‘हालै मन्त्रीपरिषद्बाट पारित भई संसदमा निर्णयार्थ पेश भएको कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधयक र नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको तहबाट मन्त्रीस्तरीय निर्णय गरी प्रदेश २, ३ र गण्डकी प्रदेशलाई चिनबाट गाई आयात गर्न सहमति दिइएको र सोही आधारमा प्रदेश नं. २, ३ र गण्डकी सरकारले चिनबाट गाई ल्याउन गरेको सम्झौता प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

नेपालमा पशुजन्य उत्पादनको आपुर्ति हालसम्म पनि निर्वाहमुखी किसानहरुबाटै हुँदै आएको संघले जनाएको छ । संघका अनुसार नेपालमा पछिल्लो तथ्याङ्ग अनुसार दुधालु गाईको संख्या १२ लाख रहेको र करिब ४ लाख गाई उन्नत नश्ल सुधार गरिएको छ ।

त्यसैगरी, दुधालु भैंसीको संख्या १० लाख रहेको संघले जनाएको छ । चिनीयाँ गाई आयातसम्बन्धी सम्झौता तत्काल खारेज गरी कृषि तथा पशुपालन क्षेत्रमा विदेशी लगानी रोक्न कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विद्येयक तत्काल फिर्ता लिन यस संघले सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया