रूसमा नेपालको धर्म र संस्कृतिकी अध्येता भालेन्टिना माजुरिनाको स्मृतिमा

कृष्णप्रकाश श्रेष्ठ २०७५ फागुन २३ गते ५:४७ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ

रूसको सांस्कृतिक राजधानी मानिने सेन्ट-पिटर्सबुर्गस्थित राजकीय धार्मिक इतिहास संग्रहालयमा कैयौं वर्षदेखि नेपाललगायत हिमाली क्षेत्रको धर्म तथा संस्कृतिकी अध्येता एवं संग्रहालयमा रहेका यस क्षेत्रका धार्मिक तथा सांस्कृतिक वस्तुहरूकी संरक्षिताको हैसियतले कार्यरत विदुषी भालेन्टिना निकोलाएभ्ना माजुरिनाको दुर्इ दिनअघि मात्र (३ मार्च २०१९) देहावसान भएको कुसमाचार सुनेर स्तब्ध र शोकाकुल छु । आज नेपाल र नेपालीहरूलाई माया गर्ने रूसी विदुषीको स्मृतिमा जोर थुंगा फूल अर्पण गर्नुपर्ला भन्ने सोचेकै समेत थिइनँ ।

नेपालको धर्म र संस्कृतिको अध्ययनको क्रममा कैयौंपल्ट नेपाल पुगेकी र नेपालीहरूलाई असाध्यै माया गर्ने रूसी नेपालविद् भालेटिना माजुरिनासित म चार दशकभन्दा बढी समयदेखि परिचित रहेको थिएँ । म मात्र होइन, मेरो परिवारका सबै सदस्यहरूसित पनि उनको परिचय थियो र उनलाई परिवारकै एक सदस्यको रूपमा लिने गरिएको थियो, यद्यपि उनी रूसको राजधानी मास्कोमा नभई रूसको उत्तरी राजधानी सेन्ट-पिटर्सबुर्ग (पहिलेको लेनिनग्राद) की वासिन्दा थिइन् । अहिले जस्तो सबैको हातमा मोबाइल फोन र आईफोन नभएको सोभियत कालमा र त्यसपछि पनि कैयौंपल्ट म रूसको यस सुन्दर एवं भव्य नगरको यात्राभ्रमणमा जाँदा उनैले नै मेरी श्रीमतीलाई घरमा रहेको स्थायी टेलिफोनमार्फत् सन्देशको आदानप्रदानमा सहयोग गर्नेगरेकी थिइन् भने नेपाली प्रमण्डलको साथमा सेन्टपिटर्सबुर्गको यात्रा गर्न गएको समयमा सकभर अनुकूल मिलाएर आफैले यस भव्य नगरको दृश्यावलोकन समेत गराउने गरेकी थिइन् ।

अवश्य पनि भलेन्टिना माजुरिना कार्यरत संग्रहालयमा नपुगीकन त मलाई सेन्ट-पिटर्सबुर्ग पूरै घुमेको जस्तो नै लाग्दैनथ्यो । यहाँनेर संक्षेपमा यस संग्रहायबारे पनि दुर्इ शब्द कोर्न चाहन्छु । सेन्ट-पिटर्सबुर्गस्थित राजकीय धार्मिक इतिहास संग्रहालय यस किसिमको एक मात्र संग्रहालय हो भन्दा अत्युक्ति हुने छैन । सुरुमा सोभियत विज्ञान प्रज्ञा-प्रतिष्ठान अन्तर्गत रहेको यस संग्रहालयको स्थापना सन् १९३० को ७ सेप्टेम्बरको निर्णयानुसार सन् १९३१ को २६ अप्रिलका दिन भएको थियो । सन् १९३२ को १५ नभेम्बरका दिन आधिकारिक रूपमा यस संग्रहालयको उदघाटन धर्मविरोधी प्रदर्शनीको आयोजनाद्वारा गरिएको थियो र सोभियतकालमा यसको नाम ‘धार्मिक तथा नास्तिकतावादी संग्रहालय’ भन्ने राखिएको थियो । हाल यस संग्रहालयमा १ लाख ८० हजार वस्तुहरू संग्रहित छन् जसमध्ये र्इ.पू. ६ हजारवर्ष पुरानो मानवकृत प्राचीन कालका कलाकृतिहरू पनि छन् । सन् १९३२ देखि २००० सम्म यो संग्रहालय लेनिनग्रादको प्रमुख सडक नेभ्स्की प्रोस्पेक्टको समेत केन्दमा अवस्थित भव्य र सुन्दर काजान्स्की सोबोर भनिने गिर्जाघरमा रहेको थियो । त्यसै ताका एकपल्ट म लेनिनग्राद पुग्दा भालेन्टिना माजुरिनाले मलाई त्यसको एउटा कक्षमा भण्डारण गरिएका ढलौटका बौर्द्धधर्मसित सम्बन्धित विभिन्न मूर्तिहरू एक-एक गरेर देखाएकी थिइन् । त्यहाँ सामान्य दर्शकहरूले विरलै हेर्न पाउने नेपाल र तिब्बतका विभिन्न युगको प्रतिनिधित्व गर्ने मूर्तिहरू मैले देख्न पाएको थिएँ । पछि सन् १९९० को नयाँ प्रजातान्त्रिक परिवर्तनपश्चात् यो कलात्मक र मौलिक गिर्जाघर रूसी अर्थाडक्स चर्चलाई नै सुम्पियो र संग्रहालय चाहिं सन् १९९२ देखि २००० सम्म गरी जम्मा ८ वर्ष लगाएर जीर्णोद्धार गरिएको हुलाक विभागअन्तर्गत रहेको पोच्ताम्प्स्काया सडक (घर नम्बर १४र५) मा अवस्थित एउटा विशाल भवनमा सारियो । त्यस भवनमा संग्रहालय सारिएपछि एकपल्ट त्यहाँ भालेन्टिना माजुरिनाको तत्परतामा नेपालविषयक प्रदर्शनीको आयोजना गरिएको थियो र त्यसमा सहभागी बन्न संग्रहालयद्वारा मास्कोस्थित नेपाली राजदूतावास र नेपालीहरूको सामाजिक संस्थाका प्रतिनिधिहरूलाई पनि निम्त्याइएको थियो । त्यस प्रदर्शनीमा मैले र कवि डा. मधुकृष्ण श्रेष्ठ माधुर्यले नेपालीहरूको प्रतिनिधित्व गर्ने सुअवसर पाएका थियौं र मैले त्यसको उदघाटन समारोहमा छोटो मन्तव्य दिनुका साथै रूसको धार्मिक इतिहास संग्रहालयमा नेपालको धर्मको किञ्चित प्रतिनिधित्व गर्ने ठानेर नेपाली भाषामा ‘स्वस्थानी व्रतकथा’ को ग्रन्थ र त्यसैको आधारमा यसै पंक्तिकारद्वारा रूसी भाषामा अनूदित र प्रकाशित पुस्तक ‘स्वस्थानी’ पनि संग्रहालयलाई उपहारस्वरूप प्रदान गरेको थिएँ ।

अहिले मलाई एउटा अर्को घटनाको पनि याद भएर आयो । एकपल्ट मैले भालेन्टिमा माजुरिनाबाट एउटा निकै कलात्मक नेपाली भाँडोको फोटो सहित त्यो के हो भन्ने प्रश्न समेत पाएँ । मलाई पनि त्यो निकै कलात्दक लाग्ने भाँडो के हो भन्ने थाहा थिएन । मैले तत्कालै त्यो फोटो र त्यसको नाम र प्रयोजनबारे बताउने अनुरोधसहित मेरा सुपरिचित नेवारी (नेपालभाषा) का प्रख्यात कवि र नेपाली संस्कृतिका ज्ञाता चित्तधर हृदयलाई पठाइदिएँ । त्यसमा चारैतिर अंकित १२ वटा रतिरागका युगल चित्रहरूको अर्थ खुलस्त पार्दै त्यो तामाको भाँडो नेवारीमा ‘ग्वय् बाटा’ (‘सुपारी राख्ने भाँडो’) हो र नेवारजातिको विवाहोत्सवको समयमा दुलहाले दुलहीलाई सुपारी दिंदा त्यसको उपयोग गरिन्छ भन्ने कविकेसरीबाट उत्तर पाउँदा मलाई निकै रमाइलो लागेको थियो । त्यो कलात्दक “ग्वय् बाटा” यसै नामले संग्रहालयमा सुरक्षित रहेको छ ।

यहाँनेर मलाई नेपाली साहित्यकारद्वय डा. ध्रुवचन्द्र गौतम तथा डा. गोविन्दराज भट्टराईसहित सेन्ट-पिटर्सबुर्ग घुम्ने क्रममा र त्यसपछि सेन्ट-पिटर्सबुर्गमा नेपालको महावाणिज्य दूतावासको उदघाटन समारोहको समयमा तत्कालीन नेपाली राजदूत-दम्पति रविमोहन सापकोटा कोपिला एवं सुलोचना सापकोटासहित नेपालीहरूको एक समूहलाई राजकीय धार्मिक इतिहास संग्रहालयमा स्वयं भालेन्टिना माजुरिनाले स्वागत गरी संग्रहालयको अवलोकन गराएको दृश्यको अहिले झल्झली सम्झना भइरहेको छ । भालेन्टिना माजुरिनासित यो नै मेरो अन्तिम पटकको प्रत्यक्ष भेटघाट थियो ।

सेन्टपिटर्सबुर्गको मेरो यात्राकालमा उनको निवासस्थानमा समेत पुगेर उनकी स्नेहमयी आमासंग पनि कुराकानी गर्ने मलाई सौभाग्य मिलेको थियो । उनकी आमा कीमा किरिलोभ्ना एक ऐतिहासिक वीराङ्गना थिइन् । उनले दोस्रो विश्वयुद्धको क्रममा फाशीवादी हिटलरी सेनाले सोभियत संघमा विश्वासघातपुर्वक आक्रमण गर्दा महान देशभक्तिपूर्ण युद्ध (सन् १९४१-१९४५) का मोर्चामा गएर शत्रुको सामना गरेकी थिइन् । उनले युद्धमा देखाइएको वीरताबापत् सामरिक पदकहरू समेत प्राप्त गरेकी थिइन् । कीमा किरिलोभ्नाले मलाई सगर्व आफ्ना तक्माहरू र सामरिक पोशाक समेत देखाइकी थिइन् । भालेन्टिना माजुरिना आफ्नी आमालाई औधि माया गर्थिन् भन्ने त उनको देहान्तपश्चात् घरमा कम्प्युटर भित्रिएपछि आफ्नो र्इमेल ठेगाना समेत आफ्नी ममतामयी आमाको नामबाटै ‘कीमा’ शब्दको आधारमा नै राखेकी थिइन् ।

वास्तवमै एक हँसमुख र मिलनसार वीराङ्गना कीमा किरिलोभ्ना माजुरिनाको कोखबाट पोल्ताभा जिल्लामा पर्ने क्रेमेन्चुग भनिने सानो नगरमा ११ अप्रिल सन् १९४६ मा भालेटिना माजुरिनाको जन्म भएको थियो । सात वर्षको सानै उमेरमा आमाबाबुको साथमा उनी चीन पुगेकी थिइन् जहाँ उनले डेढ वर्ष विताइन् । पछि लेनिनग्राद (सेन्ट पिटर्सबुर्ग) मा उनले स्कूलको शिक्षा समाप्त गरिन् र यसै नगरको विश्वविद्यालयबाट उनले ‘आङ्ग्ल-नेपाल सम्बन्ध : अटारौं-पन्नाईसौं शताव्दी’ भन्ने विषयमा शोधप्रवन्ध प्रस्तुत गरेर सन् १९७५ मा इतिहासशास्त्रमा स्नातकोत्तरको प्राज्ञिक उपाधि हासिल गरिन् । अध्ययन कालमै उनी लेनिनग्राद (हाल सेन्ट-पिटर्सबुर्ग) को प्रथम संग्रहालय ‘कुन्चकामेरा’ अर्थात् नृवंशशास्त्र (एत्नोग्राफी) इन्स्टीच्यूटमा र पछि सन् १९७४ देखि धार्मिक इतिहाससम्बन्धी राजकीय संग्रहालयमा वैज्ञानिक कार्यकर्ताको हैसियतले कार्यरत रहिन् । खास गरी भालेन्टिना माजुरिना बौद्धसंस्कृतिका कृतिहरूको अध्ययनमा संलग्न रहेकी थिइन् र अध्ययनकै वर्षहरूमा चीन र भारतप्रति उनको अभिरुचि रहेको थियो । त्यतिखेर नेपालको बारेमा उनले कुनै अभिरूचि राख्नु त के यो भौगालिक नाम समेत सुनेकी थिइनन् । तर पछि उनकै स्वीकारोक्तिअनुसार ‘नेपालको मौलिक संस्कृतिले ध्यान आकृष्ट नगर्न सकेन’ । अन्ततोगत्वा नेपालको अध्ययन नै उनको जीवनको ध्येय बन्न पुगेको थियो । उनी नेपाली जनजीवनका विभिन्न क्षेत्रहरूको अध्ययनमा संलग्न रहेकी थिइन् र नेपालीहरूको भेषभूषा, आवास, भोजन आदि विषयको अध्ययनमा संलग्न थिइन् । एकपल्ट मसंगको एउटा कुराकानीमा उनले भनेकी थिइन् : ‘नेपालको धार्मिक आस्थाको मौलिकतालाई ठम्याउने विशेष कोशिश गरेकी छु । सन् १९९१ मा नेपाल पुग्दा मैले नेपालका विभिन्न इलाकाहरूको यात्रा गर्ने मात्र लक्ष्य नराखेर विभिन्न जनजातिहरूको रीतिथिति र चालचलन बुझ्ने पनि प्रयास गरेकी थिएँ । नेपालमा धामीसंग समेत मेरो भेट भयो र कुराकानी पनि गरें । विभिन्न जनजातिका प्रतिनिधिहरूसंग कुराकानी गरेर सूचना संकलन गर्ने अवसर पाइएको थियो … ‘ । पछि नेपाली भाषा पनि सिकेर वरिष्ठ वैज्ञानिक कार्यकर्ताको पदभार सम्हाल्दै जीवनको अन्तिम घडीसम्म उनको अनुसंधानकार्य सेन्ट-पिटर्सबुर्गको यसै संग्रहालयसित सम्बन्धित रहेको थियो ।

भालेन्टिना माजुरिनाले नेपालको धार्मिक परम्परा र रीतिथितिबारे विभिन्न लेखहरू प्रकाशित गराएकी छिन् । उनको लेखनीबाट नेपालको संस्कृति तथा धर्मको विषयवस्तुमा झण्डै दुर्इ दशक शोधखोजपूर्ण प्रबन्ध-लेखहरू रूसी भाषामा निस्कने पुस्तक र संग्रहहरूमा छापिएका छन् । तिनको अध्ययनबाट उनको शोधखोजको व्यापकताबारे स्पष्ट हुन्छ, तर यहाँ ती सबै कृतिहरूको विस्तारमा उल्लेख गर्न असम्भव हुँदा सन् १९७९ देखि सन् २०१४ सम्म प्रकाशित कालक्रमअनुसार क्रमिक रूपमा तिनको शीर्षक मात्र दिन चाहन्छु ।

१. इभान पाभ्लोभिच मिनाएभको कृतित्वमा नेपाली संस्कृतिका प्रश्नहरू, २. यहाँ सबै कुरा मौलिक र जिज्ञासापूर्ण छन्, ३. पर्वत, नदी, थुम्काथुम्की : भौगोलिक धरातल र नेपालीहरूको धार्मिक एवं सांस्कृतिक जीवन, ४. नेपाल : दक्षिण एशियाका जनताहरूको उद्भव र नृवंशात्मक इतिहास, ५.राजकीय धार्मिक इतिहास संग्रहालयमा नेपाली संकलन, ६. नेपालीहरूको जीवनचक्रका धार्मिक अनुष्ठान, ७. नेपाली झांक्रीको ढ्याङ्रोका प्रतीकहरू, ८. नेपालमा सांस्कृतिक परम्पराको संरक्षणमा उत्सवपर्वको महत्व, ९. नेपाल उपत्यकामा क्रिश्चियन मिशनरीहरू, १०. नेपालमा भोजन विधि, ११. नेपालमा नृवंशविज्ञान, १२. सेन्ट-पिटर्सबुर्गका संग्रहालयमा नेपाली विरल वस्तुहरू, १३. नेपालका देवस्थलहरूका संरक्षक : सिंह तथा स्वान-सिंह, १४. नेपालका धार्मिक उत्सवपर्वमा जीवजन्तुहरू, १५.नेपाली परम्परामा काल्पनिक जीवको चित्रण, १६. नेपाली परम्परामा छेपुको चित्रण, इत्यादि ।

धार्मिक इतिहासविषयक राजकीय संग्रहालयमा कार्यरत हुँदा भालेन्टिना माजुरिनाले मुख्यतः नेपालको धार्मिक परम्पराप्रति अभिरुचि राख्नु स्वाभाविकै थियो । नेपालको यात्राकालमा उनले कैयौं कुराहरू आफ्नै आँखाले देख्ने सम्भावना पाउनुका साथै नेपालीहरूको धार्मिक परम्परा, रीतिरिवाजर र संस्कृति आदिबारे थुप्रै सामग्रीहरू संकलन गरेकी थिइन् र यस विषयमा एउटा शोधग्रन्थ नै तैयार पार्न लागिपरेकी थिइन् । यति मात्र होइन, पछिल्लो समयमा भालेन्टिना माजुरिना मेले तयार पारेको ‘नेपालका उत्सवपर्व’ शीर्षकको पुस्तकको सम्पादन-कार्यमा जुटेकी थिइन् । उनको सम्पादन सहयोगबाट यो पुस्तकले छिटै घामको मुख देख्न पाउने छ भन्ने आशा थियो, तर अब पुस्तक अधूरै रही टुहुरो बन्न गएको छ । उनले बारम्बार घच्घच्याउँदै रहँदा पनि पुस्तक लेखनको सिलसिलामा थपथापको काममा मबाट विभिन्न कारणले गर्दा ढीलासुस्ती भइरहेको सम्झँदा मलाई अहिले निकै ग्लानिको अनुभव भइरहेको छ ।

भालेन्टिना माजुरिनाको तत्परतामा राजकीय धार्मिक इतिहास संग्रहालयमा वेलावेलामा नेपालसित सम्बन्धित र विशेषतः बुद्धधर्मसित सम्बन्धित प्रदर्शनीहरूको आयोजना हुँदैआएको थियो र मैले तिनमा स्वयं भाग लिन नसके पनि त्यसको गतिविधिबारे सूचना पाउने गरेको थिएँ । अव यस्तो सूचनाबाट पनि म वञ्चित हुने भएको छु ।

अन्त्यमा रूसमा नेपालविद्याको क्षेत्रमा क्रियाशील, नेपाललाई औधि माया गर्ने र कैयौं नेपालीहरूकी परिचिता रूसी विदुषी भालेन्टिना माजुरिनाको स्मृतिमा जोर थुङ्गा फूल अर्पण गर्दछु ।

दिनाङ्क : ६ मार्च २०१९ (बुधवार)

मास्को, रूस महासंघ ।

प्रतिक्रिया