वेलायती गोर्खाभर्ती वन्द ह’नपर्छ भन्नेहरुको सरकारबाट धेरै आशा नराख्न नेता रबीप्रकाशको आग्रह

रोशन मेवाहाङ्ग २०७५ फागुन १८ गते १६:४१ मा प्रकाशित

फागुन १८ लण्डन । शनीबार पश्चिम लण्डनको ह्यारोमा आयोजित एक कार्यक्रममा अवकाशप्राप्त एक पूर्व गोर्खा सैनिक तथा नेपाली कांग्रेस महासमिति सदस्य रबीप्रकाश राईले गोर्खाभर्ती वन्द हुनपर्छ भन्नेहरुको सरकारबाट धेरै आशा नराख्न आन्दोलनरत गोर्खाहरुलाई आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतद्धारा आयोजित ६९औं प्रजातन्त्र दिवसको अवसरमा बोल्दै पूर्व संविधान सभा सदस्यको उम्मेद्धार समेत बनेका राईले पूर्व गोर्खालीहरु र नेपाली कांग्रेस पार्टी एक अर्थमा पुरक रहेको इतिहास कोट्याए । उनले विक्रम सम्वत २००७ सालको प्रजातन्त्र प्राप्तिको क्रान्ति गोर्खा सैनिकहरुको प्रत्यक्ष सहभागीता बिना सफल हुने थिएन भन्दै नेपाली कांग्रेस पार्टी बन्न र बनाउनमा पूर्व सैनिकहरु र जनजातिहरुको अहम् भूमिका रहेको उल्लेख गरेका थिए ।

त्यस्तै गरी नेता राईले वि. स. २००९ सालमा धनमानसिंङ परियार जस्तो गरिब र पिछडिएको समुदायको ब्यक्तिलाई पार्टीको महामन्त्री बनाएको, द्धारिका देवी ठकुरानीलाई दक्षिण एसियामै पहिलो महिला मन्त्री बनाएको र वि. स. २०१५ को मन्त्रीपरिषदमा ४० प्रतिशत जनजातिहरु रहेको उदाहरणहरु पेश गर्दै नेपाली कांग्रेसलाई असमावेशी र ब्राम्हणहरुको पार्टी भन्नेहरुलाई चुनौति दिएका थिए ।

उनले कांग्रेस सरकारले नै न्यायलयको स्थापना गरेको, प्रतिकुल अवस्थामा पनि शान्ति प्रकृया, संविधान जारी र संविधान कार्यान्वयन पुरा गर्दै सफलतापूर्वक तीनै तहको निर्वाचन गरेको तर अहिले दुईतिहाईको अनुकुलता हुँदाहुँदै पनि वर्तमान सरकारले केही गर्न नसकिरहेको दावि गरका थिए ।
कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित राईले आफ्नो मन्तब्यको अधिकांश समय पूर्व गोर्खाहरु र तिनका मुद्दाहरुका बारे शाव्दिक भावना राखेका थिए । उनले सन् १९९० को दशकमा आफ्नो पार्टी नेता शेरबहादुर देउवा प्रधानमन्त्री छँदा नै बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजरसँग गोर्खा आन्दोलनको बारेमा कुटनीतिक वार्ता शुरु गरको दावी गर्दै नेपाली कांग्रेस नै गोर्खाहरुको पनि साँचो पार्टी भएको दावी गरे ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली वौद्धिक नेता, मोरङ क्षेत्र नं २ माननिय सांसद पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल थिए ।

प्रतिक्रिया