अपाङ्गता परिचयपत्र वितरण कार्यविधि अनुमोदन

इनेप्लिज २०७५ फागुन १८ गते ९:०७ मा प्रकाशित

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरेको छ ।

कामपाको ३० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । कार्यविधिमा अपाङ्गता भएको व्यक्ति स्वयं वा अभिभावक तथा संरक्षकमध्ये कसैले अपाङ्ता भएको पुष्टि हुने कागजातसहित सम्बन्धित वडामा निवेदन दिएपछि वडाले सामाजिक विकास विभागमा सिफारिस गर्ने र विभागले परिचय उपलब्ध गराउने व्यवस्था रहेको छ ।

चित्त नबुझे महानगरका उपप्रमुखको संयोजकत्वमा गठित समन्वयन समितिमा निवेदन दिन सकिने छ । अपाङ्तासम्बन्धी प्रमाणपत्र लिन स्थायी ठेगाना भएको ठाउँमा जान नसक्ने व्यक्तिको हकमा त्यसअघि नलिएको यकिन गरी लिनसक्ने व्यवस्था छ । यो परिचयपत्र सामान्य अपाङ्ता भएका व्यक्ति आफैँले लिनुपर्नेछ ।

महानगरको आउँदो नगरसभामा सार्वजनिक निजी साझेदारी, सार्वजनिक यातायात र शहरी योजना आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने पनि बैठकले निर्णय गरेको छ । शहरी व्यवस्थापनलाई जनअपेक्षाबमोजिम बनाउन यससम्बन्धी कानूनी व्यवस्था आवश्यक बनाइएको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

प्रवक्ता डङ्गोलका अनुसार बैठकमा रानीपोखरी पुनःनिर्माणका लागि मेयर विद्यासुन्दर शाक्यले उपभोक्ता समितिमा रहने व्यक्तिको नाम प्रस्ताव गर्नुभएको छ । प्रस्तावित नाम अनुमोदन गर्दै बैठकले अजयरत्न स्थापितको संयोजकमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा रोशनकाजी तुलाधर, कोषाध्यक्षमा होमप्रसाद खड्गी तथा सदस्यमा दीपकराज तुलाधर र दीपेन्द्र खड्गी हुनुहुन्छ ।

त्यस्तै बैठकले रानीपोखरी पुनःनिर्माणको अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ । समितिमा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा नं २८ का अध्यक्ष भाइराम खड्गी हुनुहुन्छ । 

प्रतिक्रिया