विवेकशील साझाले गर्यो बिष्फोट बारे घोर भ्रर्त्सना

इनेप्लिज २०७५ फागुन ११ गते १२:११ मा प्रकाशित

नेपालको बिभिन्न ठाउँमा भएका पछिल्ला हिंसा र बिस्फोटका घटनालाई लिएर विवेकशील साझा पार्टीले गम्भीर चिन्ता ब्यक्त गर्दै भ्रत्सर्ना गरेको छ। प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा प्रकाशित उक्त बिज्ञप्तिमा सबै खाले हिंसा त्यागी द्वन्दरत समूहलाई यथाशिघ्र वार्तामा आउन आव्हान गरेको छ।

बिज्ञप्तिको पूर्ण रुप:

बिभिन्न ठाउँमा भएका बिस्फोटका घटना बारे भ्रर्त्सना।

द्वन्द्वोत्तर मुलुकको कष्टकर घाउमा राम्रोसँग खाटा बस्न पनि पाएको छैन। यहि परिवेशमा भर्खरै देशका विभिन्न भागमा हिंसात्मक विस्फोटका घटनाहरुले हामीलाई पुनः त्यही नमिठो स्मरणले झस्काएको छ। भीषण द्वन्द्वबाट गुज्रिएको मुलुकमा फेरि यस्ता हिंसात्मक घटनाहरु घटित हुन थाल्नु मुलुकको संविधान, विधिको शासन तथा सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती, चिन्ता र आपत्तिको विषय हो।

अतः आफ्ना असंतुष्टि, मान्यता र गतिविधिहरुलाई लोकतान्त्रिक विधि र प्रक्रिया द्धारा अभिव्यक्त गर्न पाइने संवैधानिक व्यवस्था हुँदा हुँदै हिंसा, हत्या र विध्वंसद्धारा समाजलाई आतंकित पार्ने जोसुकैले गरेका गतिविधि भए पनि विवेकशील साझा पार्टीले घोर निन्दा र भ्रत्सना गर्दै सामाजिक ध्वंसमा विश्वास राख्ने दल या समूहलाई चाँडो भन्दा चाँडो हिंसालाई त्यागेर लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्न आह्वान गर्दछ।

हत्या हिंसा र आतंकबाट सामाजिक परिवर्तनको दीगो र प्राकृतिक बाटो कहिल्यै पहिल्याउन सकिदैन भन्ने कुरामा हाम्रो पार्टी दृढ विश्वास गर्दछ। भर्खरको घटनामा मृत्यु भएका मृतकको आत्माको चीर शान्तिको कामना गर्दै घाईते भएका नागरिकहरुको शिघ्र स्वास्थ्योपचार गर्न र क्षति भएका नागरिकहरुका हकमा क्षतिपुर्तिको व्यवस्था गर्न समेत सरकारसँग माग गर्दछ। यस प्रकारको कायरतापूर्ण हिंसाबाट पिडित घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दै दोषी पत्ता लगाएर यथाशिघ्र उनीहरु माथि कानूनी कारवाहीको समेत माग गर्दछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी

प्रतिक्रिया