आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:०३
वासिङटन डिसी 21:18

सामुदायिक विद्यालयमा सुधार आएपछि विद्यार्थीको चाप बढ्यो

इनेप्लिज २०७५ फागुन ११ गते ८:५७ मा प्रकाशित

तुलसीपुर, ११ फागुन ।  जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा यहाँको विद्यालयमा विद्यार्थी चाप बढ्दो छ । तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको हो । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ ।

कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो तर अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ ।

पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धि तथा कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । विद्यालयले उत्कृष्ट नतिजासमेत ल्याउन थालेको छ । विसं २०११ मा स्थापना भएको सो विद्यालयमा हाल निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउने गरेका छन् ।

एक दशकअघि कक्षा १ मा २५ देखि ३० विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म एक हजार ५१८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ६ देखि ९ सम्म तीन श्रेणीमा विभाजन गरी पढाउनुपर्ने अवस्था छ ।

त्यस्तै नर्सरीमा २८ तथा कक्षा १ मा ६३ विद्यार्थी अध्ययनरत छन् । अङ्गे्रजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताउनुभयो । वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न थालेको उहाँको भनाइ छ । विद्यालयमा न्यून दृष्टियुक्त विद्यार्थीले समेत अध्यनन गर्ने गरेका छन् । “पहिले विद्यार्थी खोज्नुपर्ने थियो अहिले रोज्नुपर्ने अवस्था छ”, विद्यालयका शिक्षक लेवेन्द्र केसीले भन्नुभयो ।

उपमहानगरपालिकाका– ३, ४, ५, ६ र ७ का विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्का बताउनुहुन्छ । आव २०७४/७५ मा जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको छनोटमा परी जिल्ला शिक्षा कार्यालयबाट रु १० लाख पुरस्कारसमेत पाएको छ ।

त्यस्तै गत वर्षदेखि नमूना विद्यालयका लागि छनोट भई रु एक करोड रकमसमेत भौतिक निर्माणका लागि पाएको छ । यस आवदेखि विद्यालयले प्राविधिक शिक्षा बाली विज्ञान तीन वर्षे डिप्लोमा पढाइ सञ्चालन गरेको छ ।

प्रतिक्रिया