वैभव र परिवर्तनको केन्द्र अमेरिकातिर (१)

प्रेम कैदी २०७५ फागुन ८ गते २२:३६ मा प्रकाशित

 

प्रेम कैदी

अहिले संयुक्त राज्य अमेरिका समृद्धि र सुखको स्वर्ग भएकोले जसले जेभने पनि सबै त्यहाँ पुग्न लालायित हुन्छन् तर विचार वा भावनाले मलाई कहिल्यै त्यहाँ जान मरिहत्ते गर्न मन भएन । अमेरिकालाई हेर्ने आआफ्नै दृष्टिकोणहरू छन् । कोही यसलाई संसारमाथि युद्ध लाद्ने र अरुका आन्तरिक मामिलामा सधैँ हस्तक्षेप गर्ने देशका रुपमा हेर्छन् । प्रारम्भमा मेरो विचार त्यस्तै थियो, विश्व रंगमंचमा जसले जे भने पनि अमेरिका संसारलाई कज्याउने एकधु्रवीय महाशक्ति हो भन्नेहरू समेत त्यसका केही यस्ता मौलिक उपलब्धिहरू छन् जसलाई नजरअन्दाज गर्न सक्दैनन् ।

मिताकुया ओयाशी (हामी सबै नातेदार हौँ) भन्ने रेड इण्डियन कविलाहरूको यो देश वास्तवमा एसियाबाट गएका सूर्यवंशी धर्म संस्कृति मान्ने जो मष्टो देवताका राज्यका नागरिक हुन् र सियान भन्ने मष्टोधर्म मान्ने साइवेरियाबाट जमीनै जमीन अमेरिका छिरेका थिए र हाल ५सय कविलामा विभक्त रेड इण्डियनहरूको यो देश हो भन्दा कतिपय समाजशास्त्रीहरूलाई आपत्तिजनक विषय हुन सक्छ । अमेरिकाका रेड इण्डियनहरू मंगोलियन वा आर्य भन्ने कुनै नक्कली जातीय कुल नभएर ती शुद्ध कैलाश कर्णाली खण्डका उपज मानवजाति कै सन्तती हुन् । तिनै लाटा सोझा नेपाली हिमालवासी जस्ता इमान्दार र छलछाम नजानेहरूको भूमि र सम्पदा कब्जा गर्न १८ औँ शताब्दीतिर अनेक युरोपेलीहरूले लूट मच्याउन प्रवेश गरेको देश हो अमेरिका । लुटेराहरू सँगै गए पनि अमेरिकी माटोमा श्रम गर्ने र अमेरिकालाई लुटेर युरोपमा सम्पत्ती थुपार्नेहरू बीच द्वन्द्व सिर्जना भयो जसले १७८७ को स्वाधीनताको युद्ध जस्तो मानव जातिको समग्र इतिहास बदल्ने सशस्त्र क्रान्तिको श्रीगणेश ग¥यो । एक ठाउँलाई लुटेर अर्को ठाउँमा मोज गर्ने औपनिवेशिक राजनीतिलाई निषेध गर्ने महान अमेरिकी स्वतन्त्रता संग्रामले संसारमा औपनिवेशिक लूटको राज्यलाई पनि समाप्त गर्न सकिन्छ र स्थानिय जनताले आफ्नो भूमिमा आफै शासन गर्न र आफ्नो सम्पदाको आफै उपयोग गर्न सक्छन भन्ने गम्भीर पाठ सिकायो । त्यसैले विश्वमा उपनिवेशवादलाई ध्वंश गर्ने महान जनक्रान्तिको आँधी वेहरी ल्याइदियो । त्यति मात्रै नभएर वैभवशाली अमेरिकामा आज पर्यन्त अनेकौ क्रान्तिको जन्म भैरहेको देखिन्छ । आज विश्वमा सम्पूर्ण सम्पत्तीको ९० प्रतिशत हिस्सा कब्जा गरेर बसेका कर्पोरेट हाउस बिरुद्ध कोही बोल्दैनन् तर सन् २०१० मा अमेरिकामा कर्पोरेटहरूको दासत्व होइन स्वाधीन जीवन चाहियो भनेर गम्भीर खाले जनविद्रोह भयो र अमेरिकाको राष्ट्रपति चुनावमा समेत बर्नी स्याण्डर्स जस्ता उम्मेदवार खडा भए अनि कतिपय प्रगतिशील सोचका वुद्धिजीवीहरूले विश्वव्यापिरुपमा स्याण्डर्स बिजयी बनून भन्ने कामना गरे ।

साम्राज्यवादी लुटेराहरूको देश भनी जति गाली गरे पनि त्यहीका नागरिक तथा महान क्रान्तिकारी पत्रकार जोन रिडले अक्टुवर क्रान्तिमाथि १० दिनमा संसार हल्लियो भन्ने पुस्तक नलेखेको भए त्यसको जे जस्तो विश्वव्यापी असर प¥यो त्यो सम्भव हुन्थ्यो वा हुँदैनथ्यो भन्न सकिन्न । यस्तै जनवादी चीनमा माओको नेतृत्वमा भएको चिनीया जनवादी क्रान्तिको इतिहास पत्रकार एडगर स्नोले लेखेर विश्वव्यापीकरण नगरेको भए चिनीया क्रान्ति र माओवादको जे जस्तो प्रभाव विश्व मानचित्रमा देखिया,े त्यो नहुन पनि सक्थ्यो ।

यस्तै विश्वमा मजदूरहरूले प्राप्त गरेको अधिकारको कथा पनि अमेरिकासँगै जोडिएको छ । मे दिवस वास्तवमा अमेरिकामा भएको मजदूर आन्दोलन कै स्मृतिमा मनाइने पर्व हो । रुश, चीन, भियतनाम, कोरिया जसले जति ठूलो मे डे मनाए पनि त्यसको जनक त अमेरिका नै हो । जर्ज वासिङ्गटनको नेतृत्व र थोमस जेफर्सन जस्ता शक्ति विकेन्दीकरण तथा संघीय राजनैतिक संरचनाका गुरुहरू कै प्रेरणाबाट नै राष्ट्रिय राज्यको सोभियत संविधानको संरचना बनेको हो र त्यसैको प्रेरणाबाट मैले कर्णालीमा स्वायत्तशासन भन्ने पुस्तक लेखेर नेपालमा पनि संघीय संरचनाको प्रस्तावना अघि सारेको हुँ ।

राजनीति साहित्य विज्ञान र समाजका सबै क्षेत्रको नेतृत्व आज कुनै न कुनै रुपमा अमेरिकाले गर्ने भएकोले नै मान्छेहरू त्यस देशप्रति आकर्षित भएका हुन् । सामाजिक सुरक्षाका दृष्टिले त जापान अगाडि छ र आर्थिक उपलब्धिमा त अमेरिकालाई पनि चीनले जित्न खोज्दैछ । प्रतिव्यक्ति आयको कुरा गर्दा त आवुधावी जस्ता देश माथि छन् । स्क्यानडेनेभियाका देश अझ वैभवशालीछन् तर कसैलाई पनि कुन देश जान्छस् भने पहिलो नाम सबैले अमेरिका नै रोज्छन् । किन अमेरिका रोज्छन, मैले कहिल्यै चासो राखिन तर मलाई अमेरिकाले सधै आफूतिर तानिरह्यो र म उसप्रति आत्मीय बनिरहे । हतियार र लागू पदार्थ बिरुद्ध एक अन्ताराष्ट्रिय कार्यक्रममा जानका लागि मैले जुलाई ११, २००१ मा अमेरिकी दूतावाशमा प्रवेशाज्ञा माग्न गएँ तर उताको मेरै नाममा निम्तो नभएकोले मैले अनुमति पाइन तर मलाई कुनै दुःख भएन । किनकि केही पाउनका लागि म त्यो दूतावाश गएको थिइन । अनि अमेरिकाप्रति भने म कुनै न कुनै रुपमा तानिएकै हुन्थे । खासगरि म ओरबिल र विल्बर भन्ने राइट भाइहरूले हवाइ जहाज उडाए जस्तै नील आरमस्ट्रङले चन्द्रमामा टेकेपछि त्यस देशले मानवतालाई नै नयाँ मार्ग प्रदान गरेको सोचले ज्यादै भावविभोर भएको थिए ।

त्यसअघि म अमेरिकाले जापान भियतनाम जताततै वम वर्षा गरेको विध्वंसको पीडाले जति आहत भए पनि जव मेरो कथा कविता लेख्ने साहित्यिक यात्राको प्रारम्भिक चरणमा विख्यात हिप्पी कवि एलेन गीन्सवर्गका कविता पढ्थे मलाई अमेरिकाप्रति ज्यादै गर्व लाग्थ्यो । गो अमेरिका आयण्ड फक द एटम बम् जस्ता कविताप्रति त म जस्तो धेरै युवाहरू दिवाना नै थियौँ । गीन्सवर्गको शाहस संघर्ष र सोचले म जस्ता धेरै युवाहरूलाई रनाहा छुटाउथ्यो । त्यो त कविता नभएर ब्रह्मार्ष थियो जसले अमेरिकाका केही सन्काहा शासकहरूको विवेकको विर्को खोल्न विवस पाथ्र्यो । त्यसरी नै मेरो जीवनमा सयौ कविता लेख कथा उपन्यास लेख्ने वेगलाई महान उपन्यासकार अर्नेष्ट हेमिङ्गवे पढेपछि मैले ३० को दशकमा १८÷२० घण्टामा लेखेका दर्जनौ (३ वटा जासुसी उपन्यास त छापिएका पनि छन्) पुस्तकहरू प्रकाशन नै गर्न छाडिदिए, किनकी म पनि हेमिङ्गवेका जस्ता युगान्तकारी औपन्याशिक कथाहरू लेख्न लालायित भएँ । हेमिङ्गवेका स्पेनको गृहयुद्धमाथि लेखिएका हुन् वा समुन्द्रको एक्लो यात्रामा लेखिएको महान उपन्यास बूढो मान्छे र समुद्र होस् ती सबै मैले अध्योपान्त पढ्दै गएँ र लेखक कति जीवन्त र कालजयी हुनु पर्छ भन्ने ती महान साहित्यकारबाटै मार्गदर्शन पाएँ । अमेरिकीहरूको सत्य खोज्ने दुस्साहसी व्यक्तित्वको श्रमजीवीहरूका महान नेता जोसेफ स्टालिनले पनि प्रसंशा गर्नु भएको छ । मलाई पनि कर्णालीको सामाजिक इतिहास खोजीको क्रममा वेद जस्तै महत्वपूर्ण खसहरूको भूगोलको नाम श्रृष्टि मुन्धुम हो भनी खोज्न सघाउने प्रोफेसर ग्रेगरी मास्कार्नेच र प्रोफेसर नान्सी लेभिन जस्ता मेरा परिचित अमेरिकी खोजकर्ता सधै स्मृतिमा रहने गरेका छन् । कति बुद्धिजीवीहरू नेपाल पुरानो सभ्यता भएको देश र अमेरिकालाई नयाँ मुलुक भनी टिप्पणी गर्दा मैले झपार्ने गरेको छु । एउटा अमेरिकी लेखकको सम्मानमा भएको सभामा त मैले ठाडै हमला गरेर भनेको थिए, न्यूयोर्कको ओनन्डागा ताल पनि हाम्रो गोसाईकुण्ड जस्तै पवित्र जल भएको परम्परागत धार्मिक महत्व बोक्दै आएको छ । अमेरिकामा यूरोपबाट पछिल्लो कालमा जानेहरूले त्यो असभ्य थियो र सभ्यता आफूले लिएर गएको ध्वाँस दिन्छन् जब कि मेरो मित्र प्याट म्याकक्याबे र उनकी छोरी लैला जोन्सनहरूसँग संगत भएपछि अमेरिका पनि नेपाल जस्तै अति प्राचीन सभ्यताको देश हो भन्ने जानकारी पाएको छु । त्यसैले यस पटकको विश्वहिन्दु महासम्मेलन २०१८ मा जाने तयारी गरे । मैले धेरै मित्रहरूलाई ढिला भएकोले आयोजकहरूले मलाई कतिपय सुविधा दिन नसक्ने स्थितिमा मलाई सहयोग गर्न भने । मेरो अनुरोधमा आकाश अधिकारी ताइवान, दिनेश आचार्य दुवई, अनुप नेपाल क्यालिफोर्निया, इन्जिनियर मंगल शाही बर्दिया र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आदिको विशेष सहयोगले म भदौ २० गते साँझ अमेरिका उड्न सफल भए । मलाई विश्व हिन्दू महासम्मेलन २०१८ का आयोजकहरूले पनि धेरै कुरामा सघाउनु भएको छ । ती सबै विवरणपछि प्रस्तुत गर्ने बाचा गर्दै म पाठकहरू सँग विदा हुन्छु ।

प्रतिक्रिया