सगरमाथा बेस क्याम्प घुम्न जाने पर्यटकलाई चीनद्वारा अबरोध

इनेप्लिज २०७५ फागुन ४ गते ७:४४ मा प्रकाशित

काठमाडौं, ४ फागुन । चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरूलाई रोक लगाएको छ ।

चीनले सगरमाथाको बेस क्याम्पमा फोहोरको डङ्गुर थुप्रिएपछि त्यसको सरसफाइका लागि केही समय पर्यटकलाई भ्रमण गर्न रोक लगाइएको हो ।

प्रतिबन्ध सामान्य पर्यटकलाई मात्रै लगाइएको र सगरमाथा आरोहीहरूका लागि भने प्रतिबन्ध नरहेको सिन्ह्वाले जनाएको छ ।

समुद्री सतहबाट झण्डै ५ हजार मिटरमा रहेको रङ्पो गुम्बाबाटै पर्यटकलाई प्रवेशमा रोक लगाइएको चिनियाँ प्रकृति संरक्षणका अधिकारीहरूले जानकारी दिएका छन् ।

पर्यटकहरूलाई अहिले भएको आधार शिविरभन्दा दुई किलोमिटर वर नै अर्को आधार शिविर बनाइने भएको छ ।

पछिल्लो समय चीनतर्फ र नेपालतर्फबाटै सगरमाथाको आधार शिविरसम्म घुम्न जाने पर्यटकको संख्या बढिरहेको छ ।

गएको वर्ष मात्रै सगरमाथा आरोहण गर्नेको संख्या ८ सय भन्दा बढी रहेको थियो ।

बढ्दो आरोही र पर्यटकको संख्याले भने सगरमाथा क्षेत्रमा निकै नै प्रदूषण बढ्दै गैरहेको छ । चीनले सरसफाइका साथै सगरमाथा क्षेत्रमा रहेका आरोहीका शवहरू पनि हटाउने भएको छ ।

प्रतिक्रिया