आयुक्त पाठकलाई तत्काल महाअभियोग लगाउन विवेकशीलको माग

इनेप्लिज २०७५ फागुन ३ गते ११:२६ मा प्रकाशित

काठमाडौँ, ३ फागुन । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल महाअभियोग लगाउन संसदसँग माग गरेको छ । साथै उसले आवश्वक छानबिन गरि पाठकलाई कानुन अनुसार दण्डित गर्न पनि माग गरेको छ ।

आफूहरुले २०७३ भदौमै तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त पाठकमाथि महाअभियोग लागउन माग गरेको स्मरण गर्दै विवेकशीलले अब तत्कालन पाठकमाथि कारवाहीको माग गरेको हो ।

पाठकले घुस लिएको विषयमा चार महिनादेखि प्रधानमन्त्री जानकार भएपनि केही नगरेको भन्दै पार्टीले प्रधानमन्त्रीमाथि पनि शंका गरेको छ । शंका निवारणमा लागि प्रधानमन्त्री कार्यालयले श्वेतपत्र जारी गर्न विवेकशीलले आग्रह गरेको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफैले घुस मागेको र लिएको प्रमाणहरु बाहिर सञ्चार माध्यमहरु आइरहेका छन्’, विवेकशीका प्रवक्ता मिलन पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तजस्तो जिम्मेवार पदमा रहेर पनि यस्तो अनैतिक तथा गैर कानुनी काम गर्नु सामान्य घटना होइन र त्यसलाई सामान्य घटना बनाइनु हुँदैन ।’

अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने यस्ता घटनाहरुमा आरोपितलाई राजीनामा दिन लगाएर विषयलाई त्यतिकै सेलाउन दिने गरिएको बताउँदै पार्टीले जबसम्म यस्ता अभ्यास बसिरहन्छन् तबसम्म सुशासन स्थापित हुन नसक्ने टिप्पणी गरेको छ ।

प्रतिक्रिया