असल नेतृत्वको चयन

राज श्रेष्ठ ,कनेक्टिकट २०७५ फागुन १ गते १:१४ मा प्रकाशित

राज श्रेष्ठ ,कनेक्टीकट ,हाम्रा संघ सँस्थाहरुमा कस्तो नेतृत्वको चयन गर्ने? हाम्रो मान्छे कि राम्रो मान्छे? फलानाले उठाएको उम्मेदवार वा ढिस्कानोले उचालेको उम्मेदवार भन्ने आधारमा नेतृत्व चयन गर्ने कि स्वाभिमानीपूर्वक स्वतन्त्ररुपमा आफैले चयन गर्ने? फलाना उम्मेदवारले धेरै अनुनय विनय गर्यो वा धेरै पटक घरमा आयो वा एकपटकलाई भैगो यसैलाई जिताऊँ भनेर सँस्थाको अमूल्य समय – २ वर्ष, ४ वर्ष ६ वर्ष त्यसै खेर फालिरहने हो कि? ब्यक्तिगत महत्वाकॉक्षालाई बोकेर मै अध्यक्ष हुनुपर्छ भन्नेलाई चयन गरिदिऊँ न त भन्ने हो कि? वा सँस्थाको अस्तित्वलई सर्वोपरि राखी निरन्तर खटिरहनेलाई चयन गर्ने हो? कस्तो गुण वा विशेषता भएको उम्मेदवारलाई नेतृत्वमा चयन गर्ने भन्ने सम्बन्धमा मैले मेरा आफ्ना विचारहरु निम्नानुसार राखेको छु, यहॉहरु सबैको प्रतिकृयाको अपेक्षा गर्दछु ।

१) परिपक्वता:- कुनै व्यक्ति शिक्षित, चतुर, मेधावी, स्वबिबेकी हुँदैमा सफल नेतृत्व दिनसक्छ भन्ने छैन । कुनै व्यक्ति जो अरुको सक्षमताको अभिवृध्दि गर्नसक्ने, अरुका लागि अवसरहरु सृजना गर्नसक्ने, सहभागितामूलक निर्णय प्रकृया अवलम्बन गर्ने, विनम्र, शिष्ट, अरुको व्यक्तित्वलाई आदर गर्ने, अप्ठ्यारा अवस्थाहरुमा पनि शालिन, भद्र तथा धैर्य भई परिपक्व व्यवहार गर्नसक्ने युवा वा प्रौढ जो कोहीलाई नेतृत्वमा चयन गर्ने कि?

२) जवाफदेहीता:- अरुले गरेको काममा आफूले जस लिने एवम् आफूले गरेको गल्तीमा अरुलाई दोष दिने व्यक्तिले असल र सफल नेतृत्व दिन सक्दैन । आफ्ना टिम मेम्बरहरु सबैलाई उनीहरुको कामको प्रतिफल अनुसार पुरस्कृत गर्ने तथा गल्तीको जिम्मेवारी लिने र सुधारका लागि उचित वातावरणको श्रृजना गर्ने, अझ भनौं भने गल्तीको जिम्मेवारी सबै आफैले वहन गर्न सक्ने र सफलताको श्रेय सबैलाई दिनसक्ने क्षमता तथा चरित्र भएको व्यक्ति चयन गर्ने कि?

३) जिम्मेवारी बॉडफॉट एवम् सशक्तिकरण गर्नसक्ने क्षमता:- कुनै पनि संघ सँस्थाको सबै काम एकै ब्यक्तिले गर्न सक्दैन र गर्न हुँदैन पनि । मुख्य भूमिकाहरु परिपक्व किसिमले निर्वाह गर्नसक्ने र बॉकी कार्य टिम मेम्बरहरुलाई विश्वास गरी जिम्मेवारी बॉडफॉट गर्ने, त्यसो गर्दा टिम मेम्बरको कार्यक्षमतामा अभिवृद्धि भई उनीहरुको सशक्तिकरण हुने हुनाले त्यस्तो क्षमता भएको व्यक्तिलाई सँस्थाको नेतृत्वमा चयन गर्ने हो कि?

४) लक्ष्यसहितको नेतृत्व:- जुन व्यक्ति कुनै सँस्थाको नेतृत्व लिन चाहन्छ, उसले सो सँस्थालाई कम्तिमा पनि आफ्नो कार्यकालभित्र संचालन तथा सम्पन्न गर्ने र गर्नसकिने कार्यक्रम तथा परियोजनाहरुको विवरण र भविष्यमा सँस्थालाई कुन ऊचाईमा पुर्याउने हो सोको प्रतिवद्धता जाहेर गर्नु जरुरी हुन्छ । यस्तो सही निर्दिष्ट लक्ष लिएको र त्यसलाई कसरी कार्यन्वयन गर्ने हो सोको निर्दिष्ट रुपरेखा देखाउन सक्ने व्यक्तिलाई चयन गर्ने हो कि?

५) स्थिरता एवम् प्रतिवद्धता:- कुनै मान्छे आफ्नो फाइदाको लागि हिजो ठिक भनेको कुरा आज बेठिक भन्छ, आज ठिक वा बेठिक भनेको कुरा भोली के भन्ला अनिश्चित हुन्छ । त्यस्तो व्यक्ति कुनै एक योजना वा कार्यक्रम वा कुनै एक धारणामा प्रतिवद्ध रहँदैन । त्यसले गर्दा सँस्था, सँस्थाका सदस्यहरु एवम् टिम मेम्बरहरुलाई दिग्भ्रमित वा दिशाहिन बनाउने सम्भावना रहन्छ । त्यसैले संयम तथा स्थिर चरित्र भएको, सँस्थाको गरिमा, लक्ष, प्रगतीप्रति गम्भिर एवम् सँस्था एवम् सँस्थाका सदस्यहरुप्रतिको जिन्मेवारी र उत्तरदायित्वप्रति प्रतिवध्द उम्मेदवारलाई चयन गर्ने हो कि?

६) सहकार्य एवम् पारदर्शिता:- सँस्थाका बिभिन्न तहका सदस्यहरुसंग सोही तहको सम्बन्ध कायम गरि सहकार्य गर्नसक्ने, योजना बनाउँदा सबैलाई समेट्ने र सबैलाई योजनाप्रति स्वामित्व ग्रहणको भावनाको विकास गर्नसक्ने र योजना कार्यान्वयनमा माथि नम्बर ३ मा बर्णन गरिएजस्तै पदाधिकारीहरु तथा सदस्यहरुमा जिम्मेवारी बॉडफॉट तथा उनीहरुको सशक्तिकरण गर्नसक्ने क्षमता भएको र हरेक क्रियाकलाप केका लागि, कसले, किन, कसरी गर्ने र सोको आर्थिक पक्ष पनि चुस्त दुरुस्त राखी पारदर्शी ढंगले काम गर्नसक्ने उम्मेदवारलाई चयन गर्ने कि?

( बॉकी अर्को अध्यायमा )

प्रतिक्रिया