वर्षाले क्षति भएको इँटाको कर छुटको व्यावसायीद्वारा माग

इनेप्लिज २०७५ माघ २८ गते १२:२३ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहट इँटा उद्योग संघले गत २५ र २६ मा भएको वर्षाले क्षतिग्रस्त भएको इँटाको कर छुटको माग गरेका छन् । रौतहटको गरुडामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष राम विनोद साहले दुई दिनको वर्षाले करिब ५० करोडको क्षति भएको बताएका छन् । जिल्लाको १५७ इँटा उद्योगमा वर्षाले काँचो इँटा गलेर ५० करोडभन्दा बढीको क्षति भएकोमा क्षतिपूर्ति भरिभराउको लागि भ्याट र आयकर समेत छुट उपलब्ध गराउन नेपाल सरकार र प्रदेश सरकारसित संघले माग गरेको छ ।

गत वर्षको बाढीले पनि इँटा उद्योगमा ६ करोडको क्षति भएकोमा सरकारले कुनै क्षतिपूर्ति नदिएको गुनासो गर्दै संघका अध्यक्ष साहले सरकारले बिमा गराउने बाटो पनि नखोलेको आरोप लगाएका छन् । सरकारले इँटा व्यावसायीको समस्यालाई ध्यान नदिँदा २५ हजारको रोजगारी पनि धरापमा रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतिक्रिया