एनआरएनए यस पटकको आसन्न निर्वाचन पनि निष्पक्ष हुँदैन ?

सृजन ताम्राकार, बाल्टिमोर २०७५ माघ २६ गते १८:४८ मा प्रकाशित

बजारमा “एनआरएनए सदस्य बन बन!! बनौं बनौं।” व्यापक प्रचारप्रसार गरिए पनि उम्मेदवारका आकांक्षीहरु, केही उत्साही सहयोगी भोटरहरु बाहेक एनआरएनए को सदस्य बन्ने समय सकिनै लाग्दा सम्म पनि सर्वसाधारण जनसमुदायमा खासै उत्साह देखिएको पाईदैन। अमेरिकामा करिव ३ लाखको संख्यामा रहेको नेपालीहरुमा बिगतमा १७/१८ हजारको संख्यामा मात्र रहेको सदस्यता संख्यामा पनि यसपाली त झन ठुलै ह्रास आएकोले स्पष्ट देखिएको छ। संस्थाको विभिन्न गतिविधिहरुले केहि पदाधिकारीहरुलाई ब्यक्तिगत लाभ प्रसस्तै गराए पनि आम सर्वसाधारणहरुको जीवन संघर्षमा फरक पार्ने खालको खासै परिवर्तनकारी उपलब्धिहरु पाईएको आभास कसैले गरेका छैनन्।

निर्वाचन नजिकिँदै जाँदा पक्ष बिपक्ष बिच चर्काचर्की बहस चल्नु र आरोपप्रत्यारोप गर्नु सामान्य नै हुन्छ तर यत्रो जोखिम उठाएर आफ्नो अत्यन्तै गोप्य ब्यक्तिगत संबेदनसिल सुचना दिई “एनआरएनए” को सदस्यता लिईहाले पनि तपाईं हामी सर्वसाधारणहरुले निर्वाचनमा दिएको आधिकारिक मतको कुनै महत्व नहुने र नतिजा विवादरहित निष्पक्ष हुन्छ भन्ने कुनै ठोस आधारहरु नै नभएको कारण एनआरएनए को अब हुने आसन्न निर्वाचन पनि विभिन्न कारणले निष्पक्ष हुनै सक्दैन। निर्वाचन संस्थाको असल नेतृत्व चयनको प्रजातान्त्रिक प्रक्रिया भए सम्झौता र मोलमलाईमा केहि सिमित ब्यक्तिहरुको प्रत्यक्ष लाभका लागि मात्रै विशेष तयारी सहितको पुर्व रणनीति जस्तो देखिनुले संस्थालाई विधि र बिधानले नभैइ ब्यक्तिहरुको प्रत्यक्ष प्रभावले नियन्त्रणमा चलाउन खोजिएको स्पष्ट देखिन्छ। केहि आधारहरु उल्लेख गर्दछु।

१. निष्पक्ष र बिबादरहित निर्वाचन सम्पन्न गराउनका लागी बनेका र बनाईएका आधारभूत पुर्वाधारहरु र कमिटीहरुको काम कर्तव्य, अधिकारको दायरा कसको के कत्ति हो कसैलाई प्रष्ट नभएको, भरपर्दो र पारदर्शी नरहेको साथै भुमिका दिइएका कमिटीका पदाधिकारीहरु समेत अझै अस्पष्ट र अलमलको अबस्थामा रहेको।

२. अनलाइन निर्वाचन प्रक्रियाका लागि बनाईएको प्रोग्राम र सफ्टवेयर संरचना संयन्त्रको गुणस्तर, बिश्वसनियता र प्रमाणीकरणको बारेमा कुनै स्पष्टता जानकारी नखुलेको। संयन्त्रको बनोट, संरचना, जिम्मेवारी, दायित्व आदि बारे साधारण सदस्यहरु कसैलाई कुनै जानकारी नै सार्वजनिक नभएको।

३. सुचना प्रबिधिको उच्चमत बिकास संगै यसले दिएको अवसर र चुनौती दुबै जटिल अवस्थाको परिप्रेक्षमा हुन लागेको संस्थाको निर्वाचनका लागी बनाईएको निर्वाचन संयन्त्रमा के कति तहहरुमा को कसको हातमा के कस्तो?? अधिकार, नियन्त्रण र जिम्मेवारी रहेको छ अपारदर्शी रहेको र आजभोलिका स्मार्टफोन, एप्स र प्रबिधि लगायतका बिषयमा कार्यसमितिका पदाधिकारीहरु मध्ये थोरैलाई बाहेक धेरैलाई पुर्ण प्राविधिक विज्ञता नरहेको र फोनमा जस्तै सजिलै कलर लिस्ट, कलर सेलेक्टेट ग्रुप, कल ब्लक, कल फरवार्ड, कल डाईभर्ट आदि गरे जस्तै विभिन्न प्रक्रिया र सुबिधाहरुबाट सहजै साधारण सदस्यहरुले दिएको अमुल्य मतलाई चाहेको लाभका उम्मेदवारलाई डाईभर्ट वा भ्यालु चेन्ज गरेर कोहि कसैले नतिजामा प्रभाव सजिलै पार्न सक्ने प्रशस्तै त्रुटि, कमजोरी र सम्भावनाहरु रहेकोले शंका गर्न सकिने प्रशस्त ठाउँहरुमा समेत कार्यसमिति मौन रहेको अवस्था।

४. लाभमा रहेका उम्मेदवार र पदाधिकारीहरुलाई नै जिम्मेवारी दिइनु र निरीक्षण सुपरिवेक्षण जस्ता विभिन्न कमिटीहरुमा समेत बिधिको भन्दा ब्यक्तिलाई महत्त्व दिइनु, लाभ र प्रभावमा प्रत्यक्ष संग्लनता भएको ब्यक्तिहरुलाई नै राखि निर्वाचनको तयारी गरिनु, कतिपय महत्त्वपुर्ण पदका उम्मेदवारका आकांक्षीहरुकै प्रत्यक्ष संग्लनतामा निर्वाचन प्रणाली र सफ्टवेयर बनाईनुका साथै बनेको संयन्त्रको तेस्रो पक्षको निष्पक्ष प्राबिधिक बिज्ञहरु र आधिकारिक निकायहरुबाट अनुगमन, परिक्षण, निरीक्षण र अनुमती स्वीकृति लिई नसकेको अबिश्वासको अवस्था।

५. फ्रड मेम्बर बनाई निर्वाचन प्रभावित पारिने गरिएको बिगतलाई सच्च्याउँदै निर्वाचनपुर्व नै सम्पुर्ण सदस्यहरुबाट अनलाइनबाट भरिएको सदस्यता आवेदनलाई म्यानुवल भेरिफिकेसन गर्ने केहि सर्हानिय तर अत्यन्तै सिमा परिधि र दायरा भित्रको कदम चालिए पनि सदस्यहरुको अत्यन्तै गम्भीर ब्यक्तिगत विवरण कुनै विधि प्रक्रिया नपुर्‍याईकनै कुनै अधिकारीको ब्याकग्राउण्ड चेक वा कुनै योग्यता र आधार बिना तिनै लाभ ब्यक्ति र पदाधिकारीहरुलाई खुल्लमखुल्ला हेर्न चलाउन, जलाउन दिइनुले अत्यन्तै बिबादको अवस्था रहेको र सर्वसाधारण सदस्यहरुको संबेदनसिल सुचना चुहावटबाट अत्यन्तै बिकराल समस्या आउन सक्ने अवस्था।

६. सदस्यता परिचय जाँचबुझ गरे जस्तै निर्वाचन सम्पन्न भए पश्च्यात कुनै सदस्यले दिएको मतपत्रका प्रक्रिया पुर्याई पुन: फिजिकल भेरिफिकेसन गर्न चाहेमा त्यसको सहजै सकिने कुनै ब्यबस्था नगरिनु र नअपनाउँदा कोहि सदस्यले लिखित उजुरी वा पुनरवलोकन गर्न चाहेमा भेरिफाई गर्नै नसक्ने जटिल अवस्था रहेको।

७. सजिलै स्थापित गर्न सकिने “एक सदस्य, एक यन्त्र र एक मत” को नितिलाई नजरअन्दाज गरिएको अवस्था। एक कम्प्युटर, स्मार्ट फोन वा अन्य उपकरणबाट एक सदस्यले एकपटक मात्रै मत राख्न पाउने नीति अवलम्बन गर्न कुनै जटिल बिषय होइन। अमेरिकमा सजिलै सम्भव भएकोले एउटै कोठामा बसेर एउटै यन्त्र फोन वा कम्प्युटरबाट सयौं वा हजारौं मत राखि गरिने जालझेल गरिने हुँदा पनि यस्ता गम्भीर त्रुटीहरुलाई सच्च्याउन कुनै पहल नै नगरिएको अवस्था।

८. निष्पक्ष निर्वाचनका लागि कार्यसमितिले अपनाईने कुनै पनि प्रक्रियाहरु र जिम्मेवारी दिइएका पदाधिकारीहरुको काम, कर्तव्य, जिम्मेवारी र दायित्व सहितको पुर्ण आचारसंहिताको लिखित रुपमा संस्थाका सदस्यहरुलाई कुनै पनि रुपमा सार्वजनिक जानकारी गराईएको अवस्था।

९. निष्पक्ष र बिबादरहित निर्वाचन सम्पन्न गराउन अनुगमन र सुपरिवेक्षणका लागि स्थानीय अमेरिकि सरकारका मातहतका वा अन्य कुनै सरकारी वा गैर सरकारी निकायहरुको र तिनको प्रतिनिधिहरुको सजिलै सहयोग लिन सकिने अवस्थामा समेत परिबेक्षकहरुको कुनै ब्यबस्था नगरिएको र पुरै बेवास्ता गरि “जसको शक्ति उसैको भक्ती” साँडेको जुढाई बाच्छाको मिचाई” को अनियन्त्रित छाडा अवस्था रहेको।

यी र यस्ता अधिकांश सर्वसाधारण सदस्यहरुका अत्यन्तै सकारात्मक र सुधारात्मक सल्लाह सुझावलाई पुरै बेवास्ता गरेको, विभिन्न राजनीतिक भ्रातृसंगठनहरुका कार्यकर्ताहरुको प्रत्यक्ष चलखेल सार्वजनिक हुनु, जिम्मेवार पदाधिकारीहरुले नै जुनसुकै बेला जस्तोसुकै आफ्ना लाभ र अनुकुलका मिचाहा निर्णयहरु जबर्जस्ती लादेर निरन्तर अघि बढेको अप्रिय घटनाहरुले सर्वसाधारण सदस्यहरुमा निकै वितृष्णा बढेको छ । यस्तै संस्थाका सम्बन्धित निकायहरु, संस्थाका जिम्मेवार पदाधिकारीहरु, बनिएका र बनाईएका विभिन्न कमिटीहरु र सर्वसाधारण सदस्यहरु सवैले सार्वजनिक रुपमा नै उठेका गम्भीर त्रुटिहरुलाई नसच्याईकनै यसरी नै बेवास्ता गरेर सम्पन्न हुने निर्वाचन कुनै पनि हालतमा निष्पक्ष नहुने र जनमत अनुसारको नेतृत्व संस्थामा आउनै नसक्ने धेरैले सर्वसाधारणहरुले निष्कर्ष निकालेका छन्।

निर्वाचन संयन्त्रलाई सशक्त बनाई भएका प्राविधिक त्रुटी, चुहावट र कमिकमजोरीलाई तुरुन्त सच्याई आवश्यक सुधार गरेर सर्वसाधारण सदस्यहरुको जायज आवाजलाई सम्बोधन गरेर सवैलाई विश्वस्त् पार्न सके मात्रै संस्थाको खस्केको गरिमालाई बढाउन सक्छ र आसन्न निर्वाचनमा स्वतस्फूर्त जनसहभागिता बढ्नेछ। यसरी सबैको सहकार्यमा कमिकमजोरीहरुलाई सुधार्दै जाने हो भने सधैं झैं असन्तुष्ट भइ कुनै ब्यक्ति वा समुह पुन: अदालत सम्म जानु पर्ने अवस्था पनि आउँदैन। नत्र बिगतमा जस्तो विभिन्न मुद्दा मामिलाहरुमा संस्था फस्ने निश्चित छ।

यसरी नै गैरआवसिय नेपालीहरुको साझा सामाजिक संस्था एनआरएनए को गरिमा बढाउन, संस्थालाई निष्पक्ष, स्वतन्त्र र सहभागीमुलक बनाउनका साथै सम्पुर्ण गैरआवसिय हरेक नेपालीहरुको हक अधिकार र अवसरहरुलाई सुनिस्चित गर्र्न हाम्रा बौद्धिक जगतका साथै नागरिक समाज, इन्जा, नेजा लगायत स्वतन्त्र पत्रकारहरु, अभियन्ताहरु, अधिकारकर्मीहरु सरोकारवालाहरु सवैले पनि अहिलेको जस्तै प्रत्यक्ष सहभागी भैइ निगरानी र खवरदारी गरिरहनु पर्ने देखिन्छ।

कुनै ब्यक्तिको लाभ र प्रभावमा कसैको भोटर बनेर होइन विधि र बिधानमा स्वतस्फूर्त चल्ने सबैको अपनत्व भएको एनआरएनए संस्थाको जिम्मेवार सदस्य बनौं र बनाउन सबै लागौं

प्रतिक्रिया